करबाकेलीमा सामुदायिक होटल

विकल्प न्यूज/बेनी
करबाकेली,फागुन २७ गते ।

karbakeli hotelकरबाकेलीमा खोलीएको सामुदायिक होटल । ठाकुरप्रसाद आचार्य/नवविकल्प 

अन्नपूर्ण गाउँपालिका ८ राम्चेका स्थानीयवासीहरुले प्रशिद्ध धार्मिक स्थल करबाकेलीमा सामुदायिक होटल सञ्चालन गरेका छन् । अन्नपूर्ण पदमार्गको भ्रमणमा आउने आन्तरिक एवम् वाह्य पर्यटकहरुलाई खान र वस्नको सुविधा दिनका लागि सामुदायिक होटल खोलेका हुन ।

करबाकेली बाबा संरक्षण समितिको व्यवस्थापनमा सुबिधासम्पन्न होटल सञ्चालन गरिएको समितिका सचिव रवी गर्बुजा पुनले बताउनुभयो । नौ वटा कोठा रहेको उक्त होटलमा एक दिनमा २० देखि ३० जना पाहुना बास बस्न सक्ने क्षमता रहेको छ ।

होटल निर्माणका लागि करिब ४५ लाख रुपियाँ लगानी भएको सचिव गर्बुजाले जानकारी दिनुभयो । उक्त होटलमा आवास, विभिन्न खानाका परिकार, निशूल्क इन्टरनेट र तातो पानीले स्नान गर्ने सुबिधा छ । यसअघि करबाकेलीको दर्शन र अवलोकनका लागि आउने पर्यटकहरु स्थानीयको घरमा बास बस्ने गरेका थिए । होटल सञ्चालनमा आएपछि पर्यटकहरुलाई सुविधा पुगेको छ । karbakeli 7होटल सञ्चालन भएपछि पर्यटक र भक्तजन आगमन बढ्ने अपेक्षा गरिएको छ । होटलको आम्दानी करबाकेलीको संरक्षण र प्रवद्र्धनमा लगानी गर्ने योजना छ । पुन थरका मगर समुदायको कुल देवता करबाकेली बाबाको अवसान भएको स्थान मानिने करबाकेलीमा समुदायले करोडौ लगानी गरेर पूर्वाधार बनाएका छन् ।

स्थानीय प्रबिधी र सीपको प्रयोगबाट निर्माण गरिएको मौलीक शैलीको करबाकेली थानमा बहुमूल्य धातुका जलप लगाइएको पुन समुदायका देवीदेवता करबाकेली, बिमला, फिमला, रामचन र कुलचनका मुर्ती राखिएका छन् । karbakeli 6समुद्री सहतदेखि दुई हजार २ सय मिटरको उचाईमा अवस्थित करबाकेलीबाट धौलागिरी, निलगिरी, माछापुच्छ्रे, अन्नपूर्ण, टुकुचे लगायत १० वटा हिमश्रृङखलाको साथै म्याग्दी र पर्वतका ग्रामिण बस्ती र गुरासको जंगल अवलोकन गर्न सकिन्छ । करबाकेलीमा पुजाआजा गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास छ ।

त्यहाँ पुन समुदायको दैनिक जिवन, रितीरिवाज, संस्कृति र रहनसहनमा आधारित सामाग्रीहरु संकलन गरेर संग्रहालय स्थापना गर्ने तयारी भएको छ । यसअघि करबाकेलीको थान, पुजास्थल, पदमार्ग, सडक र पाँच सय जना क्षमताको सभाहल निर्माण भएको थियो ।

वि.स २०६५ सालमा करबाकेलीको अनुसन्धान समिति गठन गरि २०६७ देखि सुरु भएको पुर्वाधार निर्माण कार्यले निरन्तरता पाइरहेको छ । सदरमुकाम बेनीदेखि राहुपारे–महभिर, बैसरी, पर्वतको बाँसखर्क, लेकफाँट र म्याग्दीको हिस्तान भएर करबाकेली पुग्न सकिन्छ ।

करबाकेली हुँदै मोहरेडाँडा, फुलबारी, घोडेपानी, पुनहिल लगायतका पर्यटकीय स्थललाई जोड्ने पदमार्ग सञ्चालनको तयारी भएको सचिव गर्बुजाले बताउनुभयो । करबाकेलीमा हरेक बर्षको मंसिर र बैशाख महिनामा पुन समुदायले भब्य पुजाआजा गर्छन् । करबाकेलीमा पुजाआजाका लागि म्याग्दीका साथै पोखरा, काठमाडौ, चितवन, बुटवल लगायत देशका विभिन्न ठाउँमा बसोबास गर्ने पुन समुदाय आउने गर्छन् ।