बिममा लिफ्ट प्रबिधिको खानेपानी आयोजना निर्माण सुरु

विकल्प न्यूज/बेनी
फागुन २४ गते । Bima Khanipaniम्याग्दीको मालीका गाउँपालिका ७ बिममा करिब डेढ करोड रुपैयाँको लागतमा लिफ्ट प्रबिधिको खानेपानी आयोजना निर्माण कार्य सुरु भएको छ । मालीका गाउँपालिका मार्फत सञ्चालीत पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना अन्तरगत एक करोड ४३ लाख एक हजार १७३ रुपैयाँको लागतमा बिम लिफ्ट खानेपानी तथा सरसफाई आयोजना निर्माण सुरु भएको हो ।

२०७५ जेठ १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाबाट साबिक बिम गाविसको १, २ र ३ नम्बर वडामा पर्ने नौरु, तल्लोगाउँ र अस्तवाङका १११ घरधुरी लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष धनबहादुर जुग्जालीले जानकारी दिनुभयो । बिम गाउँको फेदीमा रहेको बिबोटखोला र जुगेपानीको मुहानको पानी सौर्य उर्जाको सहायताले पम्पीङ गरेर जोगीबिसौनामा निर्माण हुने रिजर्भ टंकीमा पु¥याएर निजी धारा मार्फत घरघरमा वितरण गरिने अध्यक्ष जुग्जालीले बताउनुभयो ।

सामुदायिक विद्यालय, मन्दिर, आमा समूह, युवा क्लबको कार्यालय लगायत आठ ठाउँमा थप निजी धारा जडान गरिने भएको छ । बिबोटखोलाको मुहानदेखि जोगीबिसौना सम्मको उचाई २४० मिटर छ ।

नेपाल सरकार, फिनल्याड सरकार र गाउँपालिकाको अनुदानमा निर्माण हुने आयोजनामा उपभोक्ताको श्रमतथा बस्तुगत गरेर २७ लाख ६९ हजार ७१८ रुपैयाँ बराबरको सहभागीता रहने परियोजनाले जनाएको छ । मुख्य र शाखा पाईपलाईन निर्माणका लागि श्रमदानमा जुटेका बिमका बासिन्दाले आयोजना निर्माण भएपछि राहत मिल्ने अपेक्षा गरेका उपभोक्ता बलबहादुर जुग्जालीले बताउनुभयो ।

२ वटा ईन्टेक, ८ वटा पानी संकलन टंकी, ११९ धारा र ९ हजार ९०९ मिटर पाईपलाईन रहने परियोजनाले जनाएको छ । एक वर्ष अघि सरसफाईयुक्त घोषणा भएको बिमको सो बस्तीमा खानेपानी अभाव प्रमुख समस्याको रुपमा रहेको थियो ।

४१६ घरधुरीको बसोबास रहेको बिमको बाईन्दफाँटमा गत वर्ष एक घर एक धारा सहितको आयोजना निर्माण भएको थियो । यस वर्ष गाउँपालिकाबाट बिनियोजन भएको तिन लाख रुपैयाँबाट नरालेमा खानेपानी आयोजना मर्मत गरिएको छ । वडाका सबै घरमा नियमित खानेपानी सुबिधा पु¥याउने योजना रहेको वडा अध्यक्ष रेशम जुग्जालीले बताउनुभयो । सहज खानेपानी सुबिधा उपलब्ध भएपछि दैनिकीमा सुधार आउने बिमबासीले अपेक्षा गरेका छन् ।