म्याग्दीमा सरकारी कारोबारको विद्युतीय भुक्तानी सुरु

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २२ फागुन । IMG_7749म्याग्दीमा मंगलबारदेखि सरकारी कार्यालय मार्फत हुने आर्थिक कारोबारको विद्युतीय भुक्तानी (ई–पेमेन्ट) सुरु भएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालयले बेनीमा एक कार्यक्रमको आयोजना गरेर विद्युतीय भुक्तानी प्रणालीको शुभारम्भ गरिएको हो । सरकारी कार्यालय मार्फत व्यक्ति, आपुर्तीकर्ता, निर्माण व्यवसायी, उपभोक्ता समितिलाई गर्ने भुक्तानीलाई सरल, सजिलो र छिटो बनाउन विद्युतीय प्रबिधिको प्रयोग गरिएको कोष तथा लेखा नियन्त्रक छविन्द्र बेल्वासेले बताउनुभयो ।

उहाँका अनुसार विद्युतीय भुक्तानी प्रणाली मार्फत सफ्टवेयरको प्रयोग गरेर कार्यालयको खाताबाट सिधै भुक्तानी पाउनेको खातामा रकम जम्मा हुने भएकाले चेक बनाउन कोलेनीका पुग्न, चेक साट्न बैङ्कको शाखामा पुग्न र लाईन बस्नुपर्ने झञ्जटको अन्त्य भएको छ ।
ईपेमेन्ट सुबिधाका लागि ईन्टर पेमेन्ट सिस्टममा सदस्य भएका बैङ्कमा खाता भएको हुनुपर्ने कोष नियन्त्रक बेल्वासेले बताउनुभयो । स्थानीय नवविकल्प साप्ताहिको ग्राहक शुल्क वापतको पाँचसय रुपियाँ इपेमेन्ट मार्फत भूक्तानी गरेर सेवाको शुभारम्भ गरिएको थियो । सेवा सुभारम्भ गर्दै जिल्ला न्यायाधिश राजकुमार कोईरालाले छिटो, छरितो सेवा प्रवाह, आर्थिक अनुसाशन कायम गर्नका लागि विद्युतीय भुक्तानी प्रणाली प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

महालेखा नियन्त्रकको कार्यालयका उपमहानिर्देशक नेत्रप्रसाद भट्टले वित्तीय शुसासनलाई प्रभावकारी बनाउन विद्युतीय भुक्तानी प्रणाली लागू गरिएको बताउनुभयो । गत वर्ष सिहदरबारका मन्त्रालयहरुमा लागू गरिएको विद्युतीय भुक्तानी प्रणालीको परिक्षण सफल भएपछि आगामी बैशाखदेखि ७७ वटै जिल्लामा विस्तार गर्ने तयारी भएको जानकारी दिनुभयो ।
मलेनीकाका लेखा अधिकृत सोमनाथ सुवेदीले काठमाडौ उपत्यका पछि बागलुङ र म्याग्दीमा सुरु गरिएको विद्युतीय भुक्तानी प्रणाली बुधबारदेखि पर्वतमा समेत लागू गर्ने बताउनुभयो । सेवा शुभारम्भ कार्यक्रमको सञ्चालन कोलेनीकाका लेखापाल नारायण सुवेदीले गर्नुभएको थियो ।