धारापानीमा केन्द्रिय प्रशारण लाईनको विद्युत विस्तार कार्य अन्तिम चरणमा

सन्तोष गौतम/ विकल्प न्यूज
म्याग्दी २० फागुन । Dharapani Bijuliम्याग्दीको धौलागिरी गाउँपालिका ७ धारापानीमा केन्द्रिय प्रशारण लाईनको विद्युत विस्तार कार्य अन्तिम चरणमा पुगेको छ । धारापानीमा धौलागिरी गाउँपालीकामै पहिलो पटक केन्द्रिय प्रशारण लाईनको विद्युतीकरण हुन लागेको हो । नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्र र धौलागिरी गाउँपालीकाले उपभोक्ता समिति मार्फत धारापानीमा विद्युतीकरण गर्न लागेका हुन् ।

मालीका गाउँपालीकाको केन्द्र दरवाङ बजारदेखि धारापानीसम्म केन्द्रिय प्रशारण लाईनको पोल गाड्ने र तार तान्ने काम सकिएको छ । धारापानीमा जडान गरिएको ट्रान्सफर्मरको चार्ज गरेर विद्युत आपूर्तीका लागि शनिबार गरिएको परिक्षण सफल भएको विद्युतीकरण उपभोक्ता समितीका अध्यक्ष रिमप्रकाश थापाले बताउनुभयो ।

उहाँका अनुसार साविक ताकम गाविसको १ र २ नम्बर वडामा पर्ने धारापानीमा रहेका २३५ घरधुरीलाई चार वटा बल्कमा बिभाजन गरेर शाखा लाईन तान्ने, वाईरीङ र मिटरबक्स जडान गर्ने काम तिब्र पारिएको छ । ३० घरधुरी रहेको पहिलो बल्कमा चैत महिनाभित्रै बिजुली बालीसक्ने लक्ष्य रहेको अध्यक्ष थापाले बताउनुभयो ।

धारापानीमा विद्युतीकरणसंगै यसै वर्षभित्र साविक ताकम गाविसको ३, ४, ५ र ६ नम्बर वडामा पर्ने ताकम गाउँमा पनी केन्द्रिय प्रशारण लाईनको विद्युतीकरण गर्ने योजना रहेको उहाँले बताउनुभयो । विद्युतीकर भएपछि धारापानी ताकमबासीलाई सहज हुने अपेक्षा गरिएको छ । हाल यहाँका बासिन्दाले उज्यालोका लागि सोलारको प्रयोग गर्दै आएका छन् ।