मालिकाको प्रोफाइल तयार

विकल्प न्यूज/बेनी
फागुन १९ गते ।malika 0मालिका गाउँपालिकाले गाउँपालिकाको बस्तुगत विवरण (भिलेज प्रोफाइल) तयार पारेको छ । उक्त विवरणलाई दुईहप्ताभित्र सार्वजनिक गर्ने तयारी भएको छ ।

वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि गाउँपालिका प्रमुखमा श्रीप्रसाद रोका निर्वाचित भएपछि उनले एकबर्षभित्र बस्तुगत विवरण तयार पार्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका थिए ।

गाउँपालिकाको बस्तुगत विवरण बिना तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजना निर्माणका साथै कुन क्षेत्रमा कस्तो किसिमको आवश्यकता छ भन्ने विषयमा समेत जानकारी नहुने भएकाले भिलेज प्रोफाइल निर्माणलाई तीब्रता दिईएको थियो ।

रिजाल कन्सल्टेन्सी काठमाडौँले भिलेज प्रोफाइलको सम्पूर्ण कार्य पूरा गरेपछि अन्तिम रुप दिन जनप्रतिनिधि, गाउँपालिकाको अन्य सरोकारवाला पक्षहरुसँग सुझाब, राय तथा थपघट गर्नुपर्ने विषयबारे छलफल समेत सम्पन्न भएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले गाउँपालिका प्रमुख रोकाले कार्यभार सम्हाल्ने बेलामा गरेको पहिलो निर्णय कार्यान्वयन भएको बताए ।
‘कुनै पनि काम गर्न सम्बन्धित क्षेत्रको अवस्थाबारे जानकारी हुन जरुरी छ, त्यसैले यो प्रोफाइल जरुरी थियो’, उनले भने, ‘अब केहि समयपछि त्यसलाई सार्वजनिक गर्नेछौँ ।’ प्रोफाइलमा गाउँपालिकाको समग्र विवरण समावेश गरिएको उनले बताए ।