म्याग्दीमा “एन्टिबायोटिक”को जथाभावी प्रयोग

सन्तोष गौतम/विकल्प न्यूज
फागुन १५ गते । medicinesरोग निको पार्ने निहुँमा जथाभावी “एन्टिबायोटिक” र हाई डोजका औषधिको प्रयोग बढेको छ । चिकित्सकको सल्लाह बिनै कडा किसीमको एन्टिबायोटिकको बढ्दो प्रयोगले म्याग्दीको जनस्वास्थ्यमा जोखिम बढाएको छ ।

सर्वसाधारणमा औषधि प्रयोग सम्बन्धि ज्ञान र चेतना कम भएका कारण छिटो रोग निको पार्ने औषधि उपयोग गर्न खोज्ने, स्वास्थ्यकर्मी, औषधि व्यवसायीले सामान्य बिरामीका लागि समेत बढी क्षमताको औषधि चलाउने प्रवृत्ती देखिएको छ ।

सर्वसाधारणमा निजी क्लिनिक र स्वास्थ्य संस्थामा पैसा खर्च गर्न सके राम्रो सेवा पाईने भ्रम र व्यवसायी बीच अस्वस्थ्य प्रतिस्पर्धा हुँदा जनस्वास्थ्यमा नकारात्मक असर पर्न गएको छ । बेनी अस्पतालको माईक्रोबायोलोजी प्रयोगशालामा रगत, पिसाव र पिपको परिक्षण गर्दा बिरामीहरुले एन्टिबायोटिक जथाभावी रुपमा प्रयोग गर्ने गरेको पाइएको ल्याब टेक्निसीयन सञ्जोक तिमील्सीनाले बताउनुभयो ।

“कडा किसीमका सेफीईक्जीम नामको एन्टिबायोटिकले ५५ प्रतिशत ब्याक्टेरीयामा काम नगरेको देखियो” तिमील्सीनाले भन्नुभयो “प्यारासिटामोल भए पुग्नेमा सिधै बिरामीलाई एन्टिबायोटिक दिएको पाईन्छ ।” सेफीईक्जीम कडा किसीमको एन्टिबायोटिक हो । वि.स २०७३ असारमा स्थापना भएको उक्त माईक्रो बायोलोजी ल्याबमा बेनी अस्पतालमा उपचार गराउन आउने बिरामीको रगत, पिसाब र पिपमा ब्याक्टेरीयाको परिक्षण गरीन्छ ।

नमुना परिक्षणको आधारमा कुन बिरामीलाई कुन एन्टिबायोटिकले काम गर्छ भनेर पहिचान हुन्छ । ल्याबको प्रतिवेदन अनुसार चिकित्सकले बिरामीलाई कुन प्रकृतीको एन्टिबायोटिक सिफारिस गर्ने भन्ने निर्णय गर्छन् । बिरामीहरुले सुरुमै कडा प्रकृतीको एन्टिबायोटिक प्रयोग गर्ने, डोज नपु¥याई बिचैमा औषधि प्रयोग गर्न छाड्ने, स्वास्थ्यकर्मी तथा औषधि व्यवसायीले आवश्यकता भन्दा बढी औषधि प्रयोग गर्न सिफारिस गरेको देखिएको छ ।

एन्टिबायोटिक र औषधिको असुरक्षित प्रयोग हुनुमा बिरामीमा रोग छिटो निको पार्ने चाहना र औषधि व्यवसायीको ब्यापारीक स्वार्थ प्रमुख कारण देखिएको छ । ५ दिनका लागि भनेर दिएको औषधि २ दिनमा निको भयो भने अरु तिन दिन खान छोड्ने गरेको तिमील्सीनाले बताउनुभयो । एक पटक कडा औषधि प्रयोग गरेका मानिसले अर्को पटक बिरामी हुँदा त्यो भन्दा बढी क्षमताको प्रयोग गर्नुपर्ने हुन्छ । बिरामीहरु पहिले निजी क्लिनिकको सम्र्पकमा जाने गर्छन् । निजी क्लिनिकको औषधिले काम नगरेपछि बल्ल अस्पतालमा जाने गर्छन् । सबै क्लिनिक दर्ता भएका र त्यहाँ दक्ष तथा योग्य जनशक्ति छैनन् ।

सामान्य बिरामी पर्दा समेत हाईडोजको औषधि प्रयोग गर्दा दिर्घकालीन रुपमा मानव स्वास्थ्यमा असर देखिने र आर्थिक भार पनि बढ्ने गरेको जिल्ला अस्पताल बेनीका डाक्टर बिराट शर्माले बताउनुभयो । “बिरामी पहिला मेडीकल हल र सामान्य स्वास्थ्य संस्थामा गएर निको नभएपछि मात्र अस्पतालमा आउँछन्” डाक्टर शर्माले भन्नुभयो “उनिहरुले के औषधि प्रयोग गरेका हुन भन्ने अभिलेख समेत हँुदैन् । सामान्य औषधिले काम गर्दैन् । परिक्षण गर्दा एकदमै हाई डोजको औषधि प्रयोग गरेको देखिन्छ । बिरामीमा आर्थिक भारसंगै स्वास्थ्यमा नकारात्मक असर गरेको छ ।”

अस्पतालमा पुग्ने अधिकांश बिरामीले हाईडोजको औषधि प्रयोग गर्ने गरेकाले सामान्य औषधिले भेट्दैन । सामान्य अवस्थाका बिरामीहरुलाई हाईडोजका मानिने सेफीकजीम, सेफोडोक्सीम, टोनीक जस्ता एन्टिबायोटिक र आवश्यक भन्दा बढी भिटामिन प्रयोग गर्न सल्लाह दिँदा जनस्वास्थ्यमा औषधिको नकारात्मक असर बढ्दै गएको छ ।

स्वास्थ्य संस्था अथवा क्लिनिकमा स्वास्थ्य परिक्षण नगराई आफूखुसी औषधि उपयोग गर्ने प्रवृत्ती पनि रहेको छ भने स्वास्थ्यकर्मीको सल्लाह अनुसार औषधि प्रयोग गर्नेहरु पनि त्यसको सहि उपयोगको विषयमा अनभिज्ञ रहेको बताउँछन् । स्वास्थ्य परिक्षणका लागि बेनीको एक निजी क्लिनिक भेटिएका बेनपा ५ का कृष्णलाल विश्वकर्माले कुन रोगमा कस्तो औषधि कसरी प्रयोग गर्ने भन्नेमा सर्वसाधारणमा ज्ञानको कमि तथा र औषधिको मूल्यका विषयमा पनि जानकारी नभएको बताउनुभयो । उच्च डोजका औषधिको प्रयोगले तत्काललाई बिरामीको रोग छिटो निको पारेपनि त्यसले पछि बिरामी हुँदा अन्य सामान्य औषधि प्रयोग गर्दा निको नहुने र सोही अनुसारको औषधि प्रयोग गरिरहनुपर्ने हुन्छ ।

म्याग्दीमा उच्च डोजको औषधिको बढी खपत हुने गरेकाले पोखरा तथा काठमाडौ रिफर भएर जाने बिरामीलाई समेत त्यहाँ सोही अनुसारको औषधि प्रयोग गर्न लगाउने गरेको पाइएको छ । हाई डोजको औषधिको प्रयोगले दिर्घककालीन रुपमा जनस्वास्थ्यमा नकारात्मक असर देखिने भएकाले अन्य विकल्प रहँदा सम्म त्यसको प्रयोगलाई निरुत्साहीत गर्नुपर्ने देखिएको छ ।

औषधि व्यवस्था बिभागले अनुगमन, निजी क्लिनिक सञ्चालक र औषधि व्यवसायीहरुसंग स्थानीय तहमा छलफल र अन्तरक्रिया गरेर यस विषयमा सचेत गराउनुपर्ने आवश्यक छ । औषधि व्यवसायीहरु भने हाईडोजको औषधिको खपत उच्च रहेको भन्नेमा सहमत छैनन् । बिरामीमा औषधि प्रयोग गर्ने ज्ञानको कमि भएका कारण यस्तो समस्या आएको औषधि व्यवसायीहरुको दावी छ ।

स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा देखिएको बढ्दो व्यापारीकरण र लापरबाहीलाई निरुत्साही तथा नियन्त्रण गर्नका लागि सरकारी निकायले अनुगमन र नियमन, सर्वसाधारण सचेत र व्यवसायी तथा स्वास्थ्यकर्मी समाजप्रति उत्तरदायी बन्नुपर्ने सरोकारवालाको भनाई छ ।

कानुन र नियमनको आवश्यकता– डाक्टर बिराट शर्मा

निगरानी, अभिलेखीकरण र कानुनको अभावका कारण हाईडोजको औषधिको प्रयोग बढीरहेको छ । बिरामी पहिले निजी किल्नीक र सामान्य स्वास्थ्य संस्थामा जचाउन जान्छन र त्यहाँ निको नभएपछि हामीकहाँ आउने प्रवृत्ती छ । धेरै र हाईडोजको औषधि दिदा बिरामीलाई आर्थिक भारसंगै स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ । निश्चित समयका लागि दिएको औषधि पुरा समय प्रयोग नगर्ने समस्या पनी छ । यस्तो हुँदा पहिले प्रयोग गरेको औषधिले काम गर्दैन । बेनी अस्पतालमा आउने र जिल्लाबाट उपचारका लागि काठमाडौ, पोखरा, चितवनका अस्पतालमा गएका बिरामीको हाईडोजको औषधिको अत्याधिक प्रयोग गरेको त्यहाँका चिकित्सकले हामीलाई बताउनुहुन्छ । औषधिमा रेसिस्डेन्ट क्षमत्ता हुन्छ ।

कम क्षमताको एन्टिबायोटिकले काम नगरेपछि बढी क्षमताको चलाउनुपर्ने हो तर एकै पटक बढी क्षमताको चलाइएकाले थर्डलाईन, सेकेन्ण्डलाईनको औषधि प्रयोग गर्नुपर्ने अवस्था छ । यहाँका बिरामीहरुले एकदमै हाईडोजको औषधि खाईरहेका छन् । कल्चर गरेर हेर्नुपर्ने, कुन, कुन औषधिले काम गर्ला भनेर ल्याब टेस्ट गरेर चाँही बिरामीलाई दिनुपर्ने अवस्था आउन थालीसकेको छ । औषधि प्रयोगलाई सुरक्षित र व्यवस्थित बनाउन कानुन र नियमनको आवश्यकता छ । नवविकल्प साप्ताहिकमा प्रकाशित