औषधि वितरणमा बेनी अस्पतालका स्वास्थ्यकर्मीको गम्भिर त्रुटी

सन्तोष गौतम /विकल्प न्यूज
बेनी १४ फागुन ।

IMG_5420(1)म्याग्दीको बेनी अस्पतालको औषधि वितरण कक्षका स्वास्थ्यकर्मीले गम्भीर त्रुटी गरेको भेटिएको छ । आईरन चक्कि दिनुपर्ने गर्भवतीलाई औषधि वितरण कक्षमा बस्ने स्वास्थ्यकर्मीले जुकाको औषधि (अल्वेन्डाजोल)को बट्टा दिएको खुलासा भएको हो ।
२०७४ मंसिर ४ गते अस्वतालमा गर्भपरिक्षण गराएकी बेनी नगरपालिका ५ सेतोढुङ्गाकी समिक्षा खत्री कुँवरलाई सोही दिन औषधि वितरण कक्षमा रहेका स्वास्थ्यकर्मीले अल्बेण्डाजोलको बट्टा दिएका थिए ।

कुँवर र उनका परिवारले माघको २३ गते मात्रै आफूलाई आईरन चक्कि नभएर जुकाको औषधी दिएको थाहा पाएपछि तत्कालै बेनी अस्पतालमा पुगेर स्वास्थ्य परिक्षण गराउनुका साथै अस्पताल, जिल्ला प्रशासन कार्यालय र बेनी नगरपालिकाको कार्यालयमा उजुरी दिएका छन् ।
खड्का हाल सात महिनाकी गर्भवती छिन् । स्वास्थ्यकर्मीले गलत औषधि दिएका कारण आमा र बच्चाको स्वास्थ्य जोखिममा परेको पिडितले गुनासो गरेका छन् । आईरनको कमीले आमा र बच्चाको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै छानविन गरी लापरबाही गर्ने कर्मचारीलाई कारबाही र स्वास्थ्यको सुनिश्चितता हुनुपर्ने माग गरेका हुन् ।

अस्पतालका प्रमुख डाक्टर रोशन न्यौपानेले औषधि दिदाँ कमजोरी भएको स्वीकार गर्दै बेनी र पोखराको अस्पतालमा भिडियो एक्सरे गर्दा आमा र बच्चाको स्वास्थ्यमा भने असर नगरेको देखिएको बताउनुभयो । चेप्टेजुका परेको अवस्थामा गर्भवतीलाई समेत ९० दिनसम्म अबलेण्डाजोल खुवाउनुपर्ने उहाँको भनाई छ । तर कुँवरको स्वास्थ्य परिक्षण रिपोर्टमा जुका परेको देखिदैन् ।

बेनपाका उपमेयर सञ्जु बरुवाल, बेनपा ५ का वडा अध्यक्ष लक्ष्मण बानियाँ र अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मीको रोहबरमा डाक्टर न्यौपाने र पीडितका परिवारबीच विभिन्न बुँदामा सहमती गरेका छन् ।

लापरबाही गर्ने कर्मचारीलाई छानबिन गरी बिभागीय कारबाही गर्ने, अस्पतालका चिकित्सकले गर्भवतीको नियमित स्वास्थ्य परिक्षण र सहज रुपमा सुत्केरी हुने व्यवस्था मिलाउने सहमती भएको अस्पताल विकास समितिका अध्यक्ष रेग्मीले बताउनुभयो ।

अध्यक्ष रेग्मीका अनुसार छानविनका क्रममा लापरबाही गरेको भेटिएकाले सो दिन औषधी वितरण कक्षमा रहेकी कर्मचारी राधीका आचार्यलाई बिभागीय कारबाही प्रक्रिया अघि बढेको छ ।
पछिल्लो समय बेनी अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मी नभेटिएको, प्राबिधिक शिक्षालयबाट अभ्यासका लागि आएका सिकारुको भरमा परेको, गलत औषधी दिएको, घाउको टाँका लगाउँदा कपास भित्रै छोडेको, शव परिक्षणमा ढिलासुस्ती गरेको लगायतका गुनासा आएका छन् ।