सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी,फागुन २ गते ।
म्याग्दीको सदरमुकाम बेनी बजारमा “मिटर ब्याज”को अबैध धन्दा मौलाउँदै गएको छ । छोटो समयमा धेरै कमाउने लोभले मिटर ब्याजमा लगानी गर्ने धन्दा मौलाउँदा सामाजिक र आर्थिक अपराधको जोखिम बढाएको छ । गैरकानुनी मानिएको मिटर ब्याजमा गरिएको ठूलो लगानी असुल हुन नसकेपछि लगानीकर्ताको भागाभाग भएको छ । मिटर ब्याजमा भएको लगानीका कारण बेनीमा केहीको घर, जग्गानै सखाप भएको छ ।
सामाजिक विकृती र आर्थिक अपराधको जोखिम
मासिक रुपमा दश देखि तेइसप्रतिशत सम्म ब्याज
ब्यापारको आवरणमा अबैध धन्दा
लगानी डुबेपछि भागाभाग
बैङ्कीङ क्षेत्रमा असर
चेतनामुलक कार्यक्रम चलाउने बेनपाको तयारी
मासिक चर्को ब्याज रकम रहेको मिटर ब्याजमा भएको लगानी उठ्न नसकेपछि कतिपयले घर छोडेर सम्पर्क बिहीन भएका छन् । एकै जनाले एक करोड देखि चार करोड डुबाएर भागेको पीडितहरुले बताएका छन् ।
“मिटर ब्याजको धन्दाले आफन्त, साथीभाई, परिवारमा बिलाप निम्याएको छ” पीडित निरु खत्रीले भन्नुभयो “भएको घर, जग्गाको सखाप मात्र भएको छैन कतिको परिवारनै बिखण्डनको अवस्था आएको छ ।” कारोबारमा ठगिएका र ठगी गर्ने दुवै पक्ष जनप्रतिनिधि, सामुदायिक प्रहरी र प्रहरीमा धाउने क्रम बढेको छ । दैनिक १२ जना मानिसहरु आर्थिक कारोबारसंग सम्बन्धित गुनासो लिएर आउने गरेको सामुदायिक प्रहरी शाखा बेनीका अध्यक्ष श्यामलाल न्यौपानेले बताउनुभयो ।
“सापटी लगेको पैसा फिर्ता भएन्, छलफल गराईदिनु प¥यो भनेर रुदै आउँछन्” न्यौपानेले भन्नुभयो “छलफल गर्दै जाँदा मिटर ब्याजमा जोडिन्छ । लेनदेनको मुद्दामा हामीले केही गर्न नमिल्ने भएकाले अदालत जान सुझाउछौ ।”
मिटर ब्याजको कारोबारमा तिन वटा समूहको संलग्नता छ । पहिलो समूहले बढी ब्याजको लोभमा आफूसंग भएको पैसा दोस्रो समूहमा पर्ने मध्यस्थकर्ताको काम गर्नेलाई दिन्छन् । दोस्रो पक्षले पहिलो पक्षबाट लिएको भन्दा बढी ब्याजदरमा तेस्रो पक्षलाई ऋण दिन्छन् । मध्यस्थकर्ताको भुमिका खेल्ने व्यक्तिहरु सिमित छन् । पहिलो पक्ष लगानी डुबेर र तेस्रो पक्ष बढी ब्याजदरको ऋण लिँदा ठगीएर पीडित भएका छन् ।
मासिक दुई देखि पाँच प्रतिशत ब्याजदरमा सापटीको रुपमा पहिलो पक्षबाट ऋण लिने मध्यस्थकर्ताको भुमिका खेल्नेले तेस्रो व्यक्तिलाई ऋण दिँदा अग्रिम बिस प्रतिशत रकम कटौती गरि दिने र हरेक महिना पूरै साँवा रकमको दश देखि २३ प्रतिशतसम्म ब्याज असुली गर्छन् ।
बैङ्क, वित्तिय संस्था र सहकारीले भन्दा बढी ब्याज दिने र पाउने प्रलोभनमा बिशेष गरेर पैसा भएका तर आर्थिक कारोबार सम्बन्धि ज्ञान नभएका मानिसहरु पर्ने गरेका छन् । सामान्य मजदुर देखि बजारका सम्पन्न व्यक्तिहरु यस्तो कारोबारमा संलग्न छन् ।
बिदेशबाट आएको रेमिट्यान्स, ढुकुटी बझेर, बैङ्कमा घरजग्गा धितो राखेर मिटर ब्याजमा लगाउने भेटिएका अध्यक्ष न्यौपानेले बताउनुभयो । यस्तो अबैध कारोबारको नेतृत्व गर्ने र ठगीनेमा पुरुष भन्दा बढी महिलाहरु छन् । वैदेशिक रोजगारीमा जाने, जुवातास खेल्ने, जडिवुटी ब्यापारी, घरजग्गा कारोबारीहरु ब्यापारीहरुले मिटर ब्याजको ऋण लिने पाइएको छ । मासिक रुपमा ब्याज र भनेको समयमा ऋण तिर्न नसकेपछि बिवाद बढेर ठगीको मुद्दाको रुपमा प्रहरी, अदालत पुग्ने गरेका छन् ।
सहमतीमा ऋण लेनदेन गरेर समयमै फिर्ता नभएपछि ठगी ग¥यो भनेर गुनासो गर्न आउने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक लोकबहादुर गुरुङले बताउनुभयो । “ठगीको मुद्दाको रुपमा प्रहरीमा आउँछन, बुझ्दै जाँदा मिटर ब्याजमा लगानी भएको देखिन्छ” गुरुङले भन्नुभयो ।
लेनदेनको मुद्दा हेर्ने अधिकार अदालतलाई मात्र छ् । स्थानीय तह र प्रहरीले लेनदेनको मुद्दा आएमा अदालत जान सुझाउने गरेका छन् । चेक र रेमिट मार्फत कारोबार गर्नेले त्यसैलाई आधार बनाएर मुद्दा हाल्ने गरेका छन् ।
जिल्ला अदालत म्याग्दीमा आर्थिक वर्ष २०७३७४ मा ४२ वटा लेनदेन सम्बन्धि मुद्दा परेकोमा २८ वटाको फैसला भएको थियो भने १४ वटाको यो वर्षका लागि जिम्मेवारी सरेको थियो । चालु आर्थिक वर्ष २०७४७५ को साउन देखि पुष सम्म लेनदेन सम्बन्धि २२ वटा मुद्दा दर्ता भएकामा एउटा मात्र फैसला भएको अदालतले जनाएको छ ।
सदरमुकाम बेनी बजारभित्र मिटर ब्याजको धन्दा चलाउनेहरु सक्रिय रहेको र यसबाट धेरै महिलाहरु पीडित भएको बेनी नगरपालिकाका उपमेयर सञ्जु बरुवालले बताउनुभयो । “तमसुक, भरपाई बिनै लाखौको लेनदेन गरेका छन्” उपमेयर बरुवालले भन्नुभयो “आधार प्रमाण नहुँदा पीडितले कानुनी प्रक्रियामा जान सकेका छैनन् ।”
नगरपालिकाले प्रहरी, वडा कार्यालय, आमा समूह र टोल सुधार समिति मार्फत बैङ्कीङ शिक्षा सम्बन्धि सचेतना कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको उपमेयर बरुवालले जानकारी दिनुभयो । मिटर ब्याजको अबैध धन्दाले आपसी विश्वासका आधारमा परम्परागत रुपमा गरिँदै आएको ढुकुटी पनि संकटमा परेको छ ।
मानिसहरु बढी ब्याज पाउने लोभमा मिटर ब्याजमा लगानी गर्दा बैङ्क, वित्तिय र सहकारी संस्थाको निक्षेप संकलनलाई असर पार्ने गरेको छ । यसैगरी कर्जा लिएर मिटर ब्याजमा लगाउनेहरुले समयमै ब्याज र किस्ता तिर्न नसक्दा पनि बैङ्कीङ क्षेत्रको कारोबारलाई असर पुगेको छ ।
मिटर ब्याजमा लगानी गरेको पैसा फिर्ता नआएपछि श्रीमान श्रीमतीबीच बिवाद भई उत्पन्न पारिवारिक बिवादले सम्बन्ध बिच्छेदको समेत रुप लिएको छ । परिवारमा एउटाले गरेको लगानी फसेपछि ऋण तिर्न र मुद्दाबाट जोगीनका लागि ब्यवहारमा संगै बसेपनि कानुनी हिसाबले सम्बन्ध बिच्छेद गर्नेहरु पनि भेटिएका छन् । अवैध रुपमा सञ्चालन भएका यस्ता गतिविधिहरुलाई सम्बन्धित निकायले समयमै नियन्त्रणको कदम चाल्नुपर्ने सर्वसाधारणहरु बताउँछन् । नवविकल्प साप्ताहिकमा प्रकाशित