म्याग्दीका सामुदायिक विद्यालयमा पूर्वाधार निर्माण तिब्र

सन्तोष गौतम /विकल्प न्यूज

माघ २५ गते । Second Main News Photoपूर्वाधार निर्माणले तिब्रता पाएसंगै म्याग्दीका सामुदायिक विद्यालयको वातावरण फेरीँदै गएको छ । पछिल्लो केही वर्षयता सामुदायिक विद्यालयको पूर्वाधार निर्माणमा वार्षिक करोडौ लगानी भइरहेको छ ।शिक्षा कार्यालयले चालु आर्थिक वर्षमा मात्र म्याग्दीका सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार निर्माणका लागि सात करोड ३८ लाख ५० हजार रुपैयाँ बजेट उपलब्ध गराएको छ ।

नौ वटा चार कोठे, तिन वटा तिन कोठे, १४ वटा दुई कोठे कक्षा कोठा भवन र नौ वटा छात्रामैत्री शौचालय निर्माणका लागि उक्त बजेट बितरण भएको कार्यालयका शाखा अधिकृत दलबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार १५ वटा विद्यालयलाई इन्टरनेटको प्रयोग गरेर पठनपाठन सञ्चालन गर्न र २० वटा विद्यालयमा पुस्तकालय स्थापना गर्न छ लाख पचास हजार रुपैयाँका दरले बजेट बाँडफाँड भएको छ । भवन र शौचालयको योजना परेका विद्यालयले सम्झौता र निर्माणको काम सुरु गरेका जिशिअ रामकुमार श्रेष्ठले बताउनुभयोे ।

राष्ट्रिय पुनर्निर्माण कोषको कार्यक्रम अन्तरगत यस वर्ष चार कोठे भवन बनाउन धौलागिरी गाउँपालिका ७ धारापानीको किसानी माविले ६३ लाख रुपैयाँ पाएको छ । अन्य ८ वटा विद्यालयले चार कोठे भवन बनाउन ३६ लाख रुपैयाँका दरले अनुदान पाएका छन् । डाँडाखेतको बालमन्दिर आधारभुत, राम्चेको देउराली, बाबियाचौरको त्रिभुवन मंगला, पुलाचौरको जनकल्याण मावि, नारच्याङको प्रभा मावि, बिमको किसानी मावि, भकिम्लीको जयन्ती माविले चार कोठे भवन बनाउन सुरु गरेका छन् ।

बरंजाको महेन्द्ररत्न, दुखुको मालिका र मुनाको सुर्यज्योती आधारभुत विद्यालयले तिन कोठे भवन बनाउन भुकम्प पुनर्निर्माण प्राधिकरणबाट ३१ लख ५० हजार रुपैयाँका दरले अनुदान पाएका छन् । प्राधिकरणकै कार्यक्रम अन्तरगत मराङको राम्चे, दानाको सरस्वती र रुमको गोरक्ष आधारभुत विद्यालयले २१ लख रुपैयाँका दरले अनुदान पाएका छन् । भगवतीको सिद्धार्थ ज्ञानमन्दिर, कालीपुलको बालमन्दिर, बुकेनीको जनप्रिय, बेगको पार्वती, खबराको हंशबाहिनी, सिंगाको ज्योती, अर्मनको किसानी आधारभुत र शिख, खिवाङको चन्द्रज्योती, भगवतीको मुक्तिधाम र दरवाङको जनप्रिय माविमा १६ लाख रुपैयाँ दरको दुई कोठे भवन योजना परेको छ ।

हिस्तानको घराम्दी, कुइने, कुहुँको जनआवाज, बाबियाचौरको प्रभात आधारभुत विद्यालय र शिवाङको हेम, देविस्थानको भिम, सिंगाको धौलागिरी, घारको मुक्तिमार्ग र दानाको ज्ञानप्रकाश माविमा वास सहितको छात्रामैत्री शौचालय बनाउन छ लाख रुपैयाँका दरले बिनियोजन भएको छ । ४ कोठे भवन निर्माण बाहेकका योजना चालु आर्थिक वर्षभित्रनै सम्पन्न गरिसक्नुपर्ने शाखा अधिकृत थापाले बताउनुभयो ।