म्याग्दीमा ठगी गिरोहबाट यसरी ठगीए सर्वसाधारणहरु

सन्तोष गौतम/विकल्प न्यूज
माघ २३ गते । Main News Ko Photoठगहरुको एउटा गिरोहले म्याग्दीका चार दर्जन भन्दा बढी व्यक्तिहरुलाई सित्तैमा घडेरी दिएर करोडौ ऋणमा डुबाएका छन् । सर्वसाधारण नागरिकलाई आफ्नो नामको जग्गा दिएर बैङ्कमा धितो राख्न लगाई ऋण निकालेर आफूले प्रयोग गरी ऋणमा डुबाएका हुन् ।

सो गिरोहले मिलेमतो गरेर धितोमा राखेको कमशल घडेरी र जग्गालाई बढी मूल्याङ्कन गराई ऋण निकालेर कर्जा प्रवाह गर्ने वित्तिय संस्थालाई समेत हानी नोक्सानी पु¥याएको अभियोगमा बैङ्कीङ कसुरको मुद्दा परेको छ । आफ्नो नामको जग्गा धितो राखेर अरुलाईनै पैसा प्रयोग गर्न दिएका सर्वसाधारणहरु यतीबेला बैङ्कीङ कसुरको मुद्दामा अदालतले पत्र काटेपछि छाँगाबाट खसेजस्तै भएका छन् ।

“भाईको साथीले पोखराको घडेरी पास गर्नुहोस, पैसा तिर्नु पर्दैन् भनेर भाई र मेरो नाममा घडेरी पास गराईदिए, जग्गा कस्तो छ देखेको पनि छैन्, लालपुर्जा पनि उनिहरुलेनै राखे” बेनपा २ की शोभा घिमीरेले भन्नुभयो “पोखराको मालपोतमा जग्गा पास गरेको भोलीपल्टै बेनीको पश्चिमाञ्चल फाईनान्समा बोलाएर कागजमा सहीछाप गरीदिए मात्र हुन्छ भने, त्यसै गरेर घर गए । अहिले अदालतले घरमा पत्र पठाएपछि मात्रै हामीलाई प्रयोग गरेर फसाएको थाहा भयो ।”

हाल कुमारी बैङ्कसंग गाभीएको तत्कालीन पश्चिमाञ्चल फाईनान्सको बेनी शाखाबाट घिमीरेलाई जस्तै गरी गिरोहले ४९ जनाको नाममा जग्गा धितो राख्न लगाएर उनीहरुको नाममा ऋण निकालेर प्रयोग गरेको पीडितले गुनासो गरेका छन् । पोखराको हेम्जा, लेखनाथ लगायतका ठाउँमा घरजग्गा कारोबार गर्ने सो गिरोहले एक जनाको नाममा ८ देखि नौ लाख रुपैयाँ सम्म ऋण निकालेका छन् ।

पश्चिमाञ्चल फाईनान्सका तत्कालीन का.मु कार्यकारी अधिकृत दिपक खनालले उच्च अदालत तुलसीपुर अन्तरगतको बाणिज्य ईजलास बुटवलमा दर्ता गरेको अभियोगपत्रमा तिन करोड ६० लाख १७ हजार एकसय २२ रुपैयाँ हानी नोक्सानी गरेको उल्लेख छ ।
अभियोगपत्रमा फाईनान्सका तत्कालीन बेनी शाखा प्रबन्धक गणेश पौडेलले विभिन्न ऋणीहरुको नाममा कमशल धितो राखि ससी खड्का र टिकाराम निउरे समेत संगको मिलेमतोमा कर्जा लगानी गरी सो कर्जाको रकम एक आपसमा मिली व्यक्तिगत प्रयोजनमा खर्च गरेको उल्लेख छ ।

बैङ्कीङ कसुरमा मुद्दा परेपछि पौडेल हिरासतमा छन । खड्का र निउरे विरुद्धको मुद्दा पनि अदालतमा बिचाराधिन अवस्थामा छन् । पीडित देवेन्द्र फगामीका अनुसार उनीहरुले पहिलो किस्ता र एक वर्ष सम्मको ब्याज तिरेको देखिएको छ । चार वर्षे किस्ता मध्य दोस्रो किस्ता देखि साँवा र ब्याज भुक्तानी गरेका छैनन् ।

४९ जना मध्य १ जनाले साँवा र ब्याज चुक्ता गरेका छन् । तिन जनाले साँवा ब्याज चुक्ता गरेपनि चुक्ता नगरेको भनी फाईल नविकरण गरेर पौडेलले प्रयोग गरेको पीडितले बताएका छन् ।

आफ्नो नाममा ऋण निकालेर अर्केले प्रयोग गरेको, प्रयोग गर्नेले समयमै किस्ता, ब्याज नतिरेको र पर्ने मूल्य भन्दा बढी धितो मूल्याङ्कन गराई ऋण निकाली बैङ्कीङ् कसुर गरेको अभियोगमा ऋणीहरुलाई अदालतले हाँजीर हुन पत्र काटेपछि अप्ठ्यारोमा परेको पीडित फगामीले गुनासो गर्नुभयो ।

“सहयोग गर्नुप¥यो भनेर आग्रह गरेपछि विश्वास गरेर उनिहरुले जे जे भने त्यही गरियो, न जग्गा देखेका छौ, नत एक सुको पैसानै लियौं तर अहिले बैङ्कमा किस्ता, ब्याज तिर्ने मात्र होईन उल्टै मुद्दा समेत खेप्नु परेको छ” फगामीले भन्नुभयो “आफ्नो काम गरेर खाने हामीलाई नराम्ररी फसाए ।”

वि.स २०७२ भदौमा यसरी कर्जा लगानी भएको थियो । यो घटनाको बारेमा बैङ्कले छानविन गर्दा २०७३ भदौमा गडवडी गरेको फेला परेको थियो । ऋणमा डुब्ने र अदालतको मुद्दा खेप्नेमा पौडेल, खड्का र न्युरेका आफन्त, साथीभाई र उनिहरुसंग आर्थिक लेनदेनमा नजिक भएका व्यक्तिहरु छन् ।

क्याम्पस पढ्ने विद्यार्थीले समेत कास्कीको जग्गा धितोमा राखेर ऋण निकालेको देखिएको छ । यो समूहले पोखरा र आसपासका क्षेत्रमा जग्गा पलटिङ गरी घडेरीको कारोबार गर्दै आएका थिए ।

राष्ट्र बैङ्कले घरजग्गामा लगानी गर्न कडाई र सरकारले जग्गा पलटीङ गर्न रोक लगाएपछि कारोबार ठप्प भयो । पीडितहरुका अनुसार खोलाको किनार, पाखो, खरबारी, डाँडामा पलटीङ गर्न किनेको जग्गा बिक्री नभएपछि उनिहरुले सित्तैमा जग्गा दिने प्रलोभनमा पारेर बैङ्कमा धितो राख्ने र उनिहरुकै नाममा ऋण निकालेर आफूहरुले प्रयोग गर्ने योजना बनाएको देखिन्छ । चार लाख रुपैयाँ पर्ने जग्गालाई अठार लाखको धितो मूल्याङ्कन गराई नौ लाख रुपैयाँ ऋण निकालिदिएका पीडित रञ्जन खत्रीले बताउनुभयो ।

“हाम्रो नाममा ऋण निकालेर मोजमस्ती र बिलासीतामा खर्च गरेर पैसा सकेका रहेछन्” उहाँले भन्नुभयो । महाँगो गाडी चढ्ने र उच्च जिवनशैली अपनाएका उनिहरुले समाजको विश्वास जित्न विभिन्न मेला महोत्सव र कार्यक्रम आयोजकलाई मागे जती चन्दा दिने, दोहोरी साँझ गएर पैसा उडाउने गरेको पीडितहरु बताउँछन् ।

यसैगरी महँगो ब्याजदरमा लिएको ऋण तिर्ने र मिटर ब्याजमा लगाउनेलाई पैसा दिएर पनि उनिहरु फसेको एकाथरीको भनाई छ । अदालतबाट हाँजीर हुन र बयान दिन आउनका लागि तारन्तार पत्र आउन थालेपछि पीडितहरु सामुदायिक प्रहरी, बेनी नगरपाललिकाका उपमेयर सञ्जु बरुवाल लगायतसंग हार गुहार र कानुनी परामर्शका लागि धाईरहेका छन् ।
“नखाएको बिष कसरी लाग्ला भनेर साहरा खोजीरहेका छौ” एक पीडितले भन्नुभयो “यसकै कारणले घर झगडा हुन थालेको छ । घरबाट निकाल्ने धम्की दिएका छन् ।” पीडितहरुको अगाडी तिन वटा विकल्प देखिएको छ । पहिलो विकल्प ऋणमा फसाउने गिरोहको जालझेलको विरुद्ध साक्षी प्रमाण जुटाएर कानुनी उपचार खोज्ने । अर्को अदालतमा हाँजीर भएर बयान दिने, साँवा ब्याज आफै तिर्ने ।

गिरोहका विरुद्ध मुद्दा हाल्ने र पर्याप्त साक्षी प्रमाण जुटाएर आफू बिरुद्ध परेको मुद्दाको सामाना गर्र्ने तेस्रो विकल्प पनि रहेको कानुन व्यवसायीहरु बताउँछन् । पीडितहरुले आफ्नो नाममा ऋण निकालेर गिरोहले पैसा प्रयोग गरेको प्रमाण जुटाउन सकेमा सफाई पाउन सक्ने पनि देखिन्छ ।

यसैबीच सो गिरोहकी सदस्य ससी खड्काले यस विषयमा समाचार सार्वजनिक गरे जे पनि हुन सक्ने धम्की दिएकी छिन् । उनले पीडितहरुलाई पत्रकारलाई सूचना नदिन धम्की दिनुका साथै बेनी स्थित एक सञ्चार माध्यमको कार्यालयमै पुगेर पत्रकारलाई कडा चेतावनी दिएकी थिईन् । नवविकल्प साप्ताहिकमा प्रकाशित