बानियाँलाई कृषि व्यवसायबाट सफलता

विकल्प न्यूज/बेनी
माघ १६ गते । dsc05440रोजगारीको खोजीमा बिदेशमा भौतारिदा भनेजस्तो नभएपछि घर फर्कीएर बहुउद्देश्यीय कृषि व्यवसाय गरेका म्याग्दीका एक युवा राम्रो आम्दानी गर्न सफल भएका छन् ।
दश वर्षअघि टिमुर खेती र नर्सरी सुरु गरेका बेनपा ९ तोरीपानीका ४० वर्षीय सागर बानियाँ जिल्लामै नमुना उद्यमीको रुपमा चिनिन सफल हुनुभएको छ । उहाँ रोजगारीका लागि ४ वर्ष बहराईनमा काम गरेर फर्कीएपछि केही वर्ष जिल्लामै मेकानीकको काम गर्नुभएको थियो ।

प्रशंसा बहुउद्देश्यीय नर्सरी स्थापना गरेका बानियाँले व्यवसायिक रुपमा टिम्मुर, सिताके च्याउ खेतीका साथै टिम्मुर र अलैचीको बिरुवा उत्पादन गर्दै आउनुभएको छ । करिब चार रोपनी जमिनमा नर्सरीसंगै सतुवा, ऐरी जरा, हाडेकाफल जस्ता जडिवुटीको समेत ब्यवसायीक खेती गर्नुभएको छ । dsc05427एक सय वटा टिम्मुरका बोट लगाउनुभएका बानियाँले गत वर्ष ३५ पाथी उत्पादन गर्नुभएको थियो । उहाँको नर्सरीमा दश हजार टिम्मुर र ८० हजार अलैचीका बिरुवा बिक्रीका लागि तयारी अवस्थामा छन् । टिम्मुरको बिरुवा प्रतिगोटा २५ र अलैची दश रुपैयाँका दरले बिक्री हुने गरेको छ ।

यस वर्ष थप पन्ध्रहजार टिम्मुरका बिरुवा उत्पादन गर्ने बानियाँको लक्ष्य छ । यसैगरी थप एक सय नयाँ टिम्मुरका बिरुवा लगाउने उहाँको योजना छ । टिम्मुर खेती र बिरुवा उत्पादनसंगै बानियाले सिताके च्याउको समेत खेती गर्नुभएको छ । उत्तिसका मुडामा सिताके च्याउ खेती गर्नुभएका उहाँले ३० केजी भन्दा बढी बिक्री गरिसकेको बताउनुभयो ।

सिताके खेती विस्तार गरेर पाँच हजार मुडामा लगाउने तयारी गर्नुभएको छ । परिक्षणका लागि पाँच बोट किवी रोप्नुभएको थियो । परिक्षण सफल भएपछि किवी खेतीको समेत विस्तार गर्ने उहाँले बताउनुभयो । टिम्मुर प्रतिपाथी एक हजार ६०० देखि दुई हजार रुपैयाँ प्रतिपाथीका दरले बिक्री हुने गरेको छ । घरमै बसेर वार्षिक दश लाख रुपैयाँ भन्दा बढी आम्दानी हुने बानियाँले बताउनुभयो ।

भुमेसिद्ध टिम्मुर सञ्जालका अध्यक्ष समेत रहेका बानियाको नेतृत्वमा तोरीपानीमा मसलेदार फल टिम्मुरको खेती विस्तारसंगै उत्पादनलाई अन्तराष्ट्रिय बजारमा निकासीको पहल भैरहेको छ । उहाँलाई कृषि विकास, वन, उद्योग वाणिज्य संघ लगायत निकाय र संघ संस्थाले तालीमका साथै प्राबिधिक सहयोग गर्दै आएका छन् ।

उहाँको फर्ममा हाल २ जनाले नियमित रोजगारी पाएका छन् । नर्सरी ब्यवसायमा राम्रो सम्भावना भएपनी बिरुवाको मूल्य बढाउनुपर्ने बानियाँको भनाई छ । टिम्मुरका बिरुवा उत्पादन गर्न निकै दुख हुने भएकाले परिश्रम अनुसारको अझै मूल्य पाउन नसकेको उहाँको गुनासो छ ।