कृषि क्षेत्रको विकासका लागि बजेटको कमि हुँदैन ः प्रमुख श्रेष्ठ

विकल्प न्यूज/बेनी
माघ १४ गते । DSC_0062व्यवसायिक रुपमा कृषि पेशा अंगालेका किसानहरुलाई नगरपालिकाले सहयोग गर्ने बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभएको छ । उहाँले कृषि क्षेत्रको विकासका लागि आगमी दिनमा बजेटको कुनै कमि नहुँने बताउनुभएको हो ।

प्रमुख श्रेष्ठले साधनस्रोतले पुगे सम्म किसानहरुलाई प्रोत्साहन मिल्ने नीति कार्यक्रम र बजेट ल्याउन नगरपालिकाले कुनै कन्झुसाई नगर्ने उहाँको भनाई थियो ।

स्थानीय तह कार्यान्वयनको चरणमा भएकाले चालु आवमा केही अन्यौलताका कारण कषि क्षेत्रको बजेट विनियोजनमा केही कमजोरी भएको उहाँले बताउनभयो । प्रमुख श्रेष्ठले आगमी दिनमा किसानको हितका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने गरि योजना निर्माण गरिने बताउनुभयो ।

बेनी नगरपालिकाले आइतवार बेनीमा आयोजना गरेको कुखुरा व्यवसायी सँगको अन्तरक्रिया कार्यक्रममा कुखुरा पालक किसानहरुले चालु आवमा पशुसेवाका कार्यक्रमहरु सञ्चालन गर्नका लागि प्रर्याप्त बजेट विनियोजन नभएको भन्दै गुनासो व्यक्त गरेका थिए ।

कार्यक्रममा उपप्रमुख सञ्जु बरुवालले बजेट विनियोजनका क्रममा जिल्ला स्थित विषयगत कार्यालय सँगको समन्वयको अभावका कारण समस्या आएको बताउनुभयो । आगमी दिनमा किसानका माग सम्बोधन गर्न नगरपालिका तयार रहेको उहाँको भनाई थियो ।

कार्यक्रममा नगरपालिका प्रशासकीय अधिकृत तेजराज शर्माले नेपाल सरकारले प्रदान गर्ने सेवासुविधामा कुनै कमि नआउने गरि आगमी दिनहरुमा बजेट विनियोजन गरिने बताउनुभयो ।

सुरुका दिनमा केही अन्यौलता र अस्पष्टताका कारण समस्य आएको उहाँको भनाई थियो । कार्यक्रममा निमित्त पशु विकास अधिकृत नरवहादुर वानियाँले जिल्लालाई मासु र अण्डामा आत्मनिर्भर बनाउने गरि कार्यक्रम सञ्चालन गरिएकाले आगमी दिनमा कुखुरापालक किसानहरुलाई प्रोत्साहन हुने कार्यक्रम आउने बताउनुभयो ।

पशु सेवा प्राबिधिक सुवाष रेग्मीले सञ्चालन गर्नुभएको कार्यक्रममा पशु चिकित्सक जिवननाथ आचार्यको स्वागत जनचेतना कुखुरा पालन समुहकी अध्यक्ष अमृता खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिका क्षेत्र भित्रका ३० जना कुखुरापालक कृषकहरुको उपस्थिति रहेको थियो ।