बेनीमा विश्व कुष्ठरोग दिवस मनाइयो

विकल्प न्यूज/बेनी
माघ १४ गते । kustha photo६५ औ विश्व कुष्ठरोग दिवस बेनीमा आईतबार पत्रकार र स्वास्थ्यकर्मी बीच अन्तरक्रिया कार्यक्रम गरेर मनाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयले आयोजना गरेको कार्यक्रममा कुष्ठरोग लाग्नुका कारण, उपचार सेवामा बिरामीको पहुँचको अवस्था र रोग नियन्त्रणका लागि भएका गतिबिधीको बारेमा अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य प्रमुख डाक्टर रोशन न्यौपानेले कुष्ठरोगको पहिचान र उपचारमा पहुँच हुन सकेमा रोग निको पार्न सकिने भएकाले समुदायमा चेतनाको विकास र रोगीलाई गर्ने व्यवहार परिवर्तन गर्नु आवश्यक रहेको बताउनुभयो ।

कुष्ठरोग लाई निर्मुल बनाउनका लागि गाउँ समुदायमा सचेतना फैलाउनुपर्ने उहाँको भनाई थियो । उहांले समाजमा लुकेर छिपेर रहेका कुष्ठरोगी फेला परेमा स्वास्थ्य संस्थामा उपचार गराउनका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । नियमित औषधि सेवन गरेमा कुष्ठरोग निको हुने र मानिस पहिलाकै अवस्थामा फर्किन सक्ने उहाँको भनाई थियो । सरकारले नियमति औषधि सेवन गरेर रोग निको भएपछि रोगीलाई प्रोत्साहन स्वरुप एकहजार रुपियाँ समेत प्रदान गर्ने उहाँले बताउनुभयो ।

मेडिकल अधिकृत डाक्टर विराट शर्माले स्वासप्रस्वासको माध्यमबाट सर्ने कृष्ठरोगको लक्षण देखिएमा स्वास्थ्य संस्थामा परिक्षण गराई उपचार गराउन अनुरोध गर्नुभएको थियो । समयमै उपचार नगरे कृष्ठरोगले शारीरीक अपांगता बनाउने खतरा समेत हुने बताउनुभयो । कुष्ठरोगीलाई नियमित औषधि सेवन गराउनका लागि सबै सचेत हुनुपर्ने भन्दै नियमित उपचारबाट कुष्ठरोगबाट हुने क्षतिलाई रोक्न सकिने उहाँले बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालयका क्षयकुष्ठ सहायक मनिष कुमार महतोले म्याग्दीमा तिस वर्ष देखि माथि उमेर समुहका १२ जना कृष्ठरोगीले उपचार सेवा लिइरहेको जानकारी दिनुभयो । जिल्लाका सवै स्वास्थ्य संस्थाहरुमा कुष्ठ रोगीको निशुल्क उपचार हुने उहाँले बताउनुभयो ।
पत्रकार महासघं म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्माले शिक्षा र चेतनाको कमीका कारण केही कुष्ठरोगी उपचार बाट बन्चीत हुन सक्ने चर्चा गर्दै, कुष्ठरोग सम्बन्धी कार्यक्रमलाई गाउँ र समुदाय स्तर सम्म पु¥याउनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम जनस्वास्थ्य प्रमुख डा. न्यौपानेको अध्यक्षता स्वास्थ्य निरिक्षक भिमप्रसाद आचार्यको स्वागत क्षय कुष्ठरोग साहयक महतोको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला स्थित पत्रकार एवम् सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।