स्थानीय तहमा औषधि खरिदमा अलमल

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १२ माघ । IMG_4932म्याग्दीका स्वास्थ्य संस्थाबाट निशूल्क वितरण गरिने औषधि र उपचारमा प्रयोग हुने सामाग्रीको अभाव हुन थालेको छ । स्थानीय तहले औषधि र सामाग्री खरिदमा ढिलाई तथा अलमल गर्दा सर्वसाधारण आधारभुत औषधि उपचारको सेवा प्राप्त गर्नबाट बञ्चित हुने अवस्था आएको छ । सरकारले स्वास्थ्य संस्थामा औषधि खरिद गर्न स्थानीय तहमा पठाएको बजेट पर्याप्त नहुनु, जनप्रतिनिधिमा अनुभवको कमी, सम्बन्धित कर्मचारीले समन्वय र ढिलासुस्ती गर्दा औषधिको अभाव हुन थालेको हो ।

सरकारले जिल्ला अस्पतालमा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ र स्वास्थ्य चौकीमा ४२ किसीमका औषधि निशूल्क उपलब्ध गराउने घोषणा गरेको छ । माथिल्लो निकायले पठाउन र स्थानीय तहले औषधि खरिद गर्न ढिलाई गर्दा औषधि र सर्जीकल सामाग्रीको अभाव देखिएको स्वास्थ्य अधिकार तथा सुर्तीजन्य पदार्थ नियन्त्रण जिल्ला सञ्जाल म्याग्दीका संयोजक हरिप्रसाद पौडेलले शुक्रबार बेनीमा आयोजित कार्यक्रममा बताउनुभयो ।
सञ्जालले आयोजना गरेको उक्त कार्यक्रममा म्याग्दीमा हाल स्वास्थ्य सेवा प्रवाहको अवस्थाको विषयमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, अधिकारकर्मी र सञ्चारकर्मीहरुबीच अन्तरक्रिया भएको थियो । कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुले समानीकरण तर्फ औषधि खरिदका लागि न्युन बजेट आएको, सम्बन्धित कर्मचारीले समन्वय नगर्दा बजेट बिनियोजनका क्रममा थप बजेट बिनियोजन हुन नसकेको र समन्वयको अभावमा भएको बजेटबाट पनी औषधी खरिद गर्न नसकिएको बताउनुभएको थियो ।

सरकारले स्थानीय तहमा औषधि खरिदका लागि २ देखि तिन लाख रुपैयाँका दरले बजेट पठाएको छ । गत वर्ष ३३ लाख रुपैयाँको औषधि खरिद गरेको जिल्ला स्वास्थ्य कार्यालयले शुक्रबार यो वर्षका लागि चार लाख रुपैयाँको मात्र अत्यावश्यक र बढी माग हुने औषधि खरिद गरेको छ ।

अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले औषधि खरिद गरेपनी सम्बन्धित कर्मचारी अध्ययनका लागि बिदामा बसेकाले वितरण हुन नसकेको बताउनुभयो । मालीका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले स्वास्थ्य शाखाका कर्मचारीले बिनियोजीत बजेटको औषधि खरिदका लागि निर्देशन दिएको र बजेट अपुग भएमा रकमान्तर गरेर भएपनि व्यवस्था गर्ने बताउनुभयो ।

रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले मन्त्रालयले पठाएको दुई लाख ७० हजार रुपैयाँ बजेटबाट औषधि खरिद प्रक्रिया अघि बढाएको जानकारी दिदै सो बजेट अपुग भएपछि डोजर खरिदका लागि बिनियोजित बजेट रकमान्तर गरेर दश लाख औषधि खरिद र आठ लाख महिला स्वमसेवीकालाई छुट्टाएको बताउनुभयो ।

मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले कसले कुन किसीमको औषधि खरिद गर्ने भन्ने विषयमा अलमल भइको बताउँदै मन्त्रालयले पठाएको दुई लाख अपुग भएपछि गाउँपालिकाले थप दुई लाख बिनियोजन गरेको जानकारी दिनुभयो । धौलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले तिन लाख रुपैयाँको औषधि खरिद प्रक्रिया अघि बढेको र आवश्यक परेमा थप बजेटको व्यवस्था गर्ने बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरक्षक भिमप्रसाद आचार्यले पाँच लाख रुपैयाँ सम्मको औषधि स्थानीय तहले सिधै खरिद गर्न सक्ने भएकाले छिटो औषधि खरिद गरि सेवा प्रवाहमा असर पर्न नदिन आग्रह गर्नुभयो ।