बेनपाको योजनामा उपभोक्ताको बेवास्ता

विकल्प न्यूज/बेनी
माघ ११ गते ।beni nagarpalikaबेनी नगरपालिकाले यही माघ १५ गतेसम्म उपभोक्ता समितिहरु योजना सम्झौता गर्न नआए ठेक्का प्रक्रियाबाट कार्यान्वयन गर्ने तयारी गरेको छ । गत असारमा भएको नगरसभाबाट बजेट बिनियोजन भएको पूर्वाधार योजनाको काम गर्न उपभोक्ताले बेवास्ता गरेपछि हालै बसेको नगर कार्यपालीका बैठकले पाँच लाख रुपैया भन्दा बढी बजेट बिनियोजन भएका योजनाको सम्झौता गर्ने समयसिमा माघ १५ गतेलाई तोकेको हो ।
नगरसभाबाट पारित भएका पाँच लाख रुपैया भन्दा बढी बजेट बिनियोजन भएका पूर्वाधार योजनाको सम्झौताका लागि तोकीएको समयसिमाभित्र उपभोक्ता सम्झौता गर्न नआए ठेक्का प्रक्रिया सुरु गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले जानकारी दिनुभयो ।

पुष २६ गते नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा बसेको कार्यपालीका बैठकले यस्तो निर्णय गरेको हो । पूर्वाधार योजनामा कुल बजेटको पन्ध्र प्रतिशत अनीवार्य जनश्रमदान हुनुपर्ने नीतिगत व्यवस्थाका कारण उपभोक्ताहरुलाई यसपाली अप्ठ्यारो पारेको छ ।

श्रमदान गर्ने जनशक्तिको अभाव, योजना स्थल, उपभोक्ता समिति गठन सम्बन्धि बिवाद, जनप्रतिनिधिहरुले समन्वय गर्न नसक्दा योजना सम्झौतामा ढिलाई भएको हो । बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०७४७५ मा ३७१ वटा योजना तथा कार्यक्रमका लागि पुजीगततर्फ १५ करोड नौ लाख रुपैया बजेट बिनियोजन गरेको छ ।

सडक, भवन, खानेपानी, सिँचाई, नदी नियन्त्रण, खेलमैदान, विद्युतीकरण लगायत पूर्वाधार सम्बन्धि २५० वटा योजना रहेका छन् । हालसम्म १५५ वटा योजनाको सर्वेक्षण र ९९ वटाको लागत ईस्टिमेट र डिजाईन तयार भएको छ । ठेक्का मार्फत कार्यान्वयन गरिने ३ वटा योजनाको बोलपत्र आव्हान भएको छ ।

५६ वटा योजना सम्झौता भएकोमा आर्थिक वर्षको पहिलो छ महिनाको अवधिमा १४ वटा मात्र सम्पन्न भएका छन् । यसैबीच नगरपालिकालाई सडक बोर्डबाट प्राप्त भएको ३५ लाख र नगरपालिकाको सम्पुरक कोषको १५ लाख गरि पचास लाख रुपैयाँ बजेट छ वटा सडक स्तरवृद्धी र कालोपत्रेका लागि बिनियोजन गरेको छ ।

बेनपा ८ स्थित कालीगण्डकीको पुलदेखि कालीपुलसम्मको सडक कालोपत्रे गर्न सात लाख बिनियोजन भएको छ । नेप्टेचौर गिठीनी पात्लेखेत सडकलाई १७ लाख, महारानीथान छाप ठुलोखोला सडकलाई दश लाख, भकिम्लीको डाँडाखानी स्वर्गाश्रम सडकलाई दश लाख, पुलाचौरको नयाँगाउँ जगन्नाथ सडकलाई छ लाख रुपैयाँ बिनियोजन भएको नगरपालिकाका नायब सुब्बा कृष्ण शाक्यले जानकारी दिनुभयो ।

म्याग्दी महोत्सवलाई तिन लाख पचास हजार, बेनीको खुल्ला मञ्चको डिपीआर तयार पार्न एक लाख पचास हजार बिनियोजन र म्याग्दी बालगृहलाई ५१ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको नगरपालिकाले जनाएको छ ।