चन्द्रप्रकाश बानियाँ /विकल्प न्यूज
पुस २७ गते ।
१.आरम्भः
नेपालको सन्दर्भमा पछिल्लो डेढ दशक महोत्सव र मेलापर्वहरु आयोजनाको कालखण्ड बनेको छ भन्दा फरक नपर्ने भएको छ । ऐतिहासिक, धार्मिक, सांस्कृति र प्राकृतिक दृष्टिले पर्यटकीय सम्भावना रहेका ठाउँहरुमा मात्र होइन, अब त प्रत्येक जिल्ला, हरेक धार्मिक सांस्कृतिक स्थलहरु, प्रत्येक नगरपालिका, र स–साना गाउँबस्तीहरुमा समेत महोत्सव र मेलाको आयोजना हुन थालेको छ ।
पर्यटन उद्योग मुलुकको आर्थिक मेरुदण्ड बन्ने सम्भावनालाई दृष्टिगत गरेर नै यस्ता मेला, पर्व र महोत्सवहरु आयोजना हुन थालेका हुन् । धार्मिक पर्यटनका लागि भ्याटिकन सिटी, क्यासिनो पर्यटनका लागि ताइवान, सेक्स पर्यटनका लागि थाइल्याण्डजस्ता देशहरु विश्व पर्यटनबजारमा स्थापित भएजस्तो नेपालको पर्यटकीय सम्भावनाको विशिष्टिकरण भैसकेको छैन । नेपालमा विद्यमान सांस्कृतिक, प्राकृतिक र धार्मिक सम्पदाको अतुलनीय भण्डारको आलोकमा नेपाल बहुआयामिक पर्यटकीय गन्तव्यको रुपमा विकसित हुनसक्ने प्रशस्त सम्भावना रहेको छ भन्नु अत्युक्ति हुदैन पनि ।
पछिल्ला दशकहरुमा स्थानीय धार्मिक, सांस्कृतिक, भाषिक तथा जातीय पहिचान र पर्यटन प्रबर्धनका हिसाबले आयोजना हुनथालेका उत्सव, मेलापर्वहरुको पृष्टभूमि भने परम्परागत “हाटबजार” कै परिमार्जित रुप मात्र हो । सन् १९९८ लाई पर्यटनवर्षको रुपमा मनाउने परिकल्पना बहुचर्चित पर्यटन तथा होटेल व्यववशायी कर्ण शाक्यको थियो । उनकै परिकल्पना, योजना र नेतृत्वमा त्यो वर्ष देशभर एकसय पचास जति उत्सव, मेला र सभाहरुको आयोजना गरिएको थियो । त्यही सिलसिलामा म्याग्दीको मुदी गाविसको बगरमा “धवलागिरि बेसक्याम्प महोत्सव”को आयोजना भएको थियो । उक्त वर्षको समाप्तिसँगै भ्रमणवर्षको औपचारिक समापन गरिएको भए पनि पर्यटन प्रबर्धनको उद्देश्यबाट देशैभर मेलापर्वहरु आयोजना गर्ने सिलसिलाले भने निरन्तरता पाउँदै आएको छ ।
म्याग्दीको सन्दर्भमा मकर संक्रान्तिको अवसरमा वेनीबजारमा आयोजना हुँदै आएको हाटबजारले देशभर चल्दै आएको मेला–महोत्सव आयोजनागर्ने अभियानको परम्परालाई धानेको छ भन्नु बढ्ता नहोला । यहाँ परम्परागतरुपमा आयोजित हुँदै आएको माघेसंक्रान्ति मेलाको इतिहास वेनीबजारभन्दा जेठो छ । सुन्दा आश्चर्य लागे पनि यो यथार्थ सत्य हो । यतिबेला वेनीबजारले म्याग्दी महोत्सव, माघेसंक्रान्ति मेला, वेनी महोत्सव वा अन्य कुनै नाममा मेला महोत्सवको आयोजना गर्ने परम्परा बसालेको भए पनि किटानीकासाथ भन्न सकिने कुरा के हो भने वेनीबजारले माघेसंक्रान्ति मेलाको होइन, माघेसंक्रान्ति हाटमेलाले वेनीबजारको शिलान्यास गरिदिएको हो । अर्थात वेनीमा बस्ती बस्नुपूर्व पनि निर्जन बगरमा हिँउदका तीन महिनाभर बृहत मण्डी लाग्थ्यो भन्ने कुराको इतिहासप्रमाण भेटिन्छ ।
२.पुनर्जीवनको आवश्यकताः
कुनै जमाना यस्तो थियो कि वेनीबजारमा लाग्ने माघेसंक्रान्ति मेलाको लागि विज्ञापनको जरुरतै पर्दैनथ्यो । गाउँठाउँमै खेतिकिसानीमा व्यस्त रहने मानिसहरुले रामरमाइलो र बस्तुविनिमयका लागि औंला भाँचेर पर्खने मात्र होइन, रोजगारीको सिलसिलामा मुग्लान पसेका लाहुरेहरुले समेत घरफर्कनका लागि माघेसंक्रान्तिको दिन गनेर बस्ने चलन थियो । यसभेकका उपभोक्ताहरुले सालभरका लागि आवश्यकपर्ने नुनतेल र कृषि औजारहरु किनमेल गर्नका लागि कुरीबस्ने साइत थियो – माघेसंक्रान्ति मेला । समय अब त्यस्तो रहेन । अब त मानिसहरुलाई आकर्षित गर्न र मेला आयोजित हुने तिथिमितिको सम्झना गराउन पनि विशेष कार्यक्रमहरुको व्यवस्था गर्नुपर्ने भयो । किन त्यस्तो भयो ? त्यसको पृष्टभूमिमा बलियो कारण थियो र छ भन्ने कुरातिर सायदै कसैको ध्यान गएको होला !
चौबीसी राज्य पर्वतको उत्कर्षकालमा भारत–तिब्बत व्यापारकेन्द्रको विशिष्ट पहिचान बनाएको “वेनीबजार”ले बाईसी–चौबीसी राज्यरजौटाहरुको उन्मूलनपछि स्थानीयबजारको साँघुरो घेरामा संकुचित हुनु परेको थियो । वेनीबजारकै हैसियत अन्तराष्ट्रिय व्यापारकेन्द्रबाट स्थानीयबजारमा र एउटा स्वतन्त्र राज्यको राजधानीबाट सानू हटियामा घटुवा हुनुपरेपछि माघेसंक्रान्ति मेलाको महत्व घट्नु पनि स्वाभाविक थियो ।
तैपनि पञ्चायती व्यवस्थाको प्रारम्भकालसम्म स्थानीय हाटबजारको रुपमा माघेसंक्रान्ति मेलाको महत्व र आकर्षण कम भएको थिएन । २०१८ सालमा जिल्लाहरुको पुनर्विभाजन र सिमाङ्कनको सन्दर्भमा कालीगण्डकीको पश्चिममा रहेको म्याग्दीनदीको प्रश्रवणक्षेत्र छुट्टै जिल्ला बन्नु वेनीबजारको पुनर्जीवनका लागि सञ्जीवनी बनेपनि माघेसंक्रान्ति मेलाका लागि भने अनिष्टकारी बन्न पुगेको कुरा तितो यथार्थ हो । विक्रमाब्दको २० को दशकतिर म्याग्दीखोलाको किनारमा अवस्थित बालौटे (सहस्रधारा)मा माघेसंक्रान्ति मेलाको आयोजना हुन थालेपछि वेनीमा लाग्दै आएको मेलाको रौनक फिका पर्दै गयो र झण्डै झण्डै परम्परा मासिने स्थितिमा पुगेको हो । वेनीको संक्रान्ति मेलालाई सहस्रधारा (बालौटे) को मेलाले किन विस्थापित गरिदियो भन्ने कुराको विना आग्रह अध्ययनविश्लेषण गर्दा कारणको रुपमा धार्मिक सांस्कृतिक मान्यता र आस्थामा आएको स्खलनका साथसाथै राजनीतिक दाउपेच र प्रतिशोधजन्य कुण्ठा पनि जिम्मेवार थियो भन्ने कुरा स्पष्ट देखापर्न आउँछ । भैदियो के भने– माघे संक्रान्तिमेलाको एउटा मुख्य आधार मानिसहरुमा रहेको धार्मिक सांस्कृतिक आस्था थियो । अर्थात मकर संक्रान्तिको गंगास्नानबाट अक्षय पुण्य आर्जन हुने र मरणपछि दिव्यलोकको प्राप्ति हुन्छ भन्ने विश्वासले नेरफेरका मानिसहरुलाई वेनीमा ओर्लन प्रेरित गर्दथ्यो । प्रारम्भकालमा हाटबजार, रामरमाइलो र खेल तमासाहरु त मेलाका सहायक तत्व मात्र थिए ।
मानिसहरुमा धार्मिक आस्था पातलिँदै जान थालेपछि स्वभावतः मेलाको मुख्य आकर्षण मनोरञ्जन र व्यापार मात्र रहन गयो । अर्कोतिर म्याग्दी नामको एउटा अलगै जिल्ला बनेपछि त्यसको सदरमुकाम कहाँ राख्ने भन्ने विषयमा स्थानीय भद्रभलाद्रमीहरुका बीच मतभेद भयो । तत्कालीन समयका म्याग्दीभेकका प्रभावशाली समाजसेवी स्वर्गीय श्री सेरबहादुर शेरचनको बाबियाचौर दरबाङ्गतिर सदरमुकाम राख्ने मनसायले विविधकारणवस सार्थकता पाएन । अपायक नै भए पनि वेनीमा सदरमुकाम बस्यो । सदरमुकाम दरबाङतिर लैजान नसकिने कुराले सिंगो म्याग्दी भेकलाई कुण्ठित बनाएको थियो ।
हुन पनि रघुगंगापश्चिमको भूभाग मात्र समेटेर बनाइएको जिल्लाको सबै भेकलाई पायकपर्ने केन्द्र दरबाङ्ग–बाबियाचौर नै हुन सक्थ्यो । ठाउँ पनि अपेक्षाकृत मुक्तो फराकिलो थियो । दरबाङ वरपरकतै सदरमुकाम राख्ने अभियानमा मिलेको असफलताले सिंगो म्याग्दीभेक वेनीसँग रुष्ट बन्यो । सिंगो पश्चिम म्याग्दीले आफूलाई हरुवा प्रतिश्पर्धीजस्तो ठान्यो । फेरि गंगास्नान, धर्मकर्म ब्राह्मण वर्चस्वको समाजको लागि प्राथमिकतामा पर्ने विषय हो । मगर, छन्त्याल, गुरुङ र दलित समुदायको बहुसंख्या रहेको म्याग्दीभेकको लागि गंगास्नानको खास महत्व थिएन । मेलाको उद्देश्य व्यापार र मनोरञ्जन मात्र रहेपछि त्यसैका लागि वेनीसम्म किन धाउने भन्ने धारणाले म्याग्दीभेकलाई सम्मोहित ग¥यो । त्यसरी सहस्रधाराको संक्रान्तिमेला फष्टाउँदै गयो, वेनीको मेला टाक्सिँदै जाने परिस्थिति निर्माण भएको हो । सहस्रधारामा मेला आयोजना गरेर वेनीलाई “देखाइदिने” प्रतिशोधको भावनाले आम जनतालाई नभए पनि ठूलाबडा र हैकमवाला भद्रभलाद्मीलाई उत्प्रेरित गरेको थियो भन्ने कुरा वास्तविक कटु सत्य हो ।
जेसुकै कारण रहेको भए पनि वेनीको माघेसंक्रान्ति मेलाले महत्व र आकर्षण गुमाउँदै गएको थियो र परम्परा जोगाउन हम्मे हम्मे पर्न थालेको थियो । पछिल्लोपटक वि.सं. २०५९ सालमा वेनीको व्यापारिक समुदायको पहल र आयोजनामा माघेसंक्रान्ति मेलालाई पुनर्जीवन दिने प्रयत्नस्वरुप मुलुकमा, खासगरेर, शहरबजारतिर लोकप्रिय हुँदै गएको “लोक दोहोरी” खुला प्रतियोगिताको आयोजना गरियो । त्यसवर्षको मेला आयोजना सफल बनेपछि त्यसयता त्यो परम्पराले कुनै न कुनै रुपमा निरन्तरता पाउँदै आएको छ । कुनै समयमा तेल समाप्त भएर निभ्नै लागेको वत्तिजस्तो बनेको वेनीबजारमा लाग्ने माघेसंक्रान्ति मेला फेरि एकचोटि व्युतिने लक्षण देखा परेको सन्दर्भमा यसको ऐतिहासिक तथा सांस्कृतिक पृष्टभूमिको चर्चा गर्नु अनुपयुक्त चेष्टा ठहरिने अवश्य छैन ।
३.सांस्कृतिक पृष्टभूमिः
नेपालको पहाडतिर “माघेसंक्रान्ति” र मधेसमा “माघी” भनेर मनाइने सांस्कृतिक पर्वको वैदिक समाजले दिएको खास नाम “मकर संक्रान्ति” हो । नेपाली समाजमा “संक्रान्ति” भन्नाले महिनाको पहिलो दिन भनेर बुझ्ने गरिन्छ । संक्रान्तिलाई महिनाको पहिलो दिन मानिने त विक्रम संवतको पात्रो अनुसार मात्र हो । सायद विक्रमसंवत प्रयोग गर्ने संसारकै एउटा मात्र देश नेपाल हो ।
संक्रान्तिको शाब्दिक व्युत्पत्तिको विक्रम संवतसँग कुनै साइनो सम्बन्ध छैन । वैदिक मान्यतामा हरेक महिना सूर्यले एउटा राशीबाट अर्को राशीमा संक्रमण गर्ने प्रक्रियालाई संक्रान्ति भनिन्छ । राशीहरुको संख्या १२ भएको हुनाले एक वर्षमा बाह्रैवटा संक्रान्ति पर्दछन् । चन्द्रमास अनुसार यो तिथिमा सूर्य उत्तरायण हुने शुभमुहुर्त पर्दछ । सूर्यले धनुराशी छोडेर मकर राशीमा पदार्पण गर्ने भएको हुनाले यो दिनलाई “मकर संक्रान्ति” नाम दिइएको हो । इस्वी संवत अनुसार जनवरी महिनाको गताङ्ग १३/१४ मा यो संक्रान्ति पर्दछ ।
भविष्यपुराणमा भनिएको छः
“संक्रान्त्यां पक्षयोरन्ते ग्रहणे चन्द्रसूर्ययोः ।
गंगास्नानो नरः कामाद् ब्रह्मणः सदनं ब्रजेत् ।।”
अर्थात संक्रान्ति, ग्रहण, औंसी र पूर्णिमा जस्ता पुण्यपर्वहरुमा गंगास्नान गर्नु महापुण्यदायक मानिन्छ । त्यसो गर्नाले ब्रहमलोकको प्राप्ति हुन्छ । हो, यही धार्मिक सांस्कृतिक मान्यताबाट माघेसंक्रान्तिमा गंगास्नान गर्ने परम्परा सुरु भएको हो । मकर संक्रान्तिलाई हिन्दू धर्मसंस्कारले निकै महत्व दिएको देखिन्छ । सक्नेहरुले काशीप्रयाग वा समुद्रमा स्नान गर्ने नसक्नेहरुले पायकपर्ने गंगा वा अन्य नदीहरुमा डुबुल्की लगाएर पुण्यआर्जन गर्ने परम्परा रहेको छ ।
हिन्दू धर्मग्रन्थहरुमा मकर संक्रान्तिको जति नै महिमा मण्डन गरिएको भए पनि यो परम्परा त्यति धेरै पुरानो भने होइन । इसापूर्व १,००० तिर लेखिएका उपनिषद, ब्राह्मण जस्ता धार्मिक ग्रन्थहरुमा उत्तरायणको महत्व लेखिएको भए पनि राशीको उल्लेख भएको छैन । पारस्करगृह्यशूत्र तथा धर्मशूत्र जस्ता ग्रन्थहरुमा पनि नक्षत्रको मात्र उल्लेख भएको पाइन्छ । याज्ञवल्क्यस्मृतिमा पनि राशीको उल्लेख छैन ।
यिनै तथ्यहरुका आधारमा भारतीय विद्वान तथा धर्मशास्त्रका ज्ञाता डा. पाण्डुरङ्ग वामनकाणेले राशीको आरम्भकाल इस्वी संवतपूर्वको होइन भनेर मानेका छन् । अर्थात मकर संक्रान्तिले वैदिक धर्मसंस्कारमा दुइहजार वर्ष पूर्वदेखि मात्र मान्यता पाउन थालेको हो । जहाँसम्म खसमण्डल अर्थात खसभूमिको कुरा छ, वैदिक धर्मसंस्कारले विक्रमको बाहौं चौधौं शताब्दीतिर मात्र प्रवेश गरेको हो । यही तथ्यको आधारमा अनुमान गर्र्दा वेनीमा मकर संक्रान्ति स्नानको परम्परा स्थापनामा खसहरुको हात रहेको होला भन्न सकिन्छ र खसहरु चौंधौं÷पन्ध्रौं शताब्दतिर मात्र सिंजाबाट पूर्वतिर संक्रमित हुन थालेका हुनाले वेनीको माघे संक्रान्ति स्नानको परम्परा पाँच÷छ सय वर्ष यताउताको हुन सक्छ भनेर सहज अनुमान लगाउन सकिन्छ ।
४.ऐतिहासिक सम्बन्धः
१६,००० पर्वतका प्रथम राजा राज मल्लको शासनकालसम्म पर्वतराज्यको व्यापार उल्लेखनीय रुपमा विस्तारित भैसकेको थियो । व्यापारको केन्द्र वेनीको बगर थियो । राज्यको अर्थतन्त्रमा व्यापार व्यवशायको भूमिका निर्णायक र महत्वपूर्ण हुन थालेपछि बजार व्यवस्थापनका लागि हिँउदका तीन महिना राजधानीको अस्थायी मुकाम बेनीमा स्थानान्तरण गर्न थालियो । बेनीबजार मुलुकको राजधानीमा रुपान्तरित भएपछि स्वभावतः बन्दव्यापार पनि फस्टाउँदै गयो । अस्थायी मण्डीले स्थायी बजारको रुप लियो । बाग्लुङ्ग र कुश्माभन्दा वेनी पुरानो बजार हो भनेर मानिन्छ । त्यसैले पर्वत राज्य अन्तर्गतको सबभन्दा पुरानो “हाटमेला” को इतिहास पनि वेनीको माघेसंक्रान्ति मेलासँग सुरक्षित रहेको छ । मुक्तिनाथको जनैपूर्णेंको मेला र बाग्लुङ्गको चैते दशैं मेला योभन्दा कान्छा हुन् ।
५.उपसंहारः
समाज इतिहासमा बाँच्दैन । इतिहास जति नै समृद्ध र गौरवशाली भए पनि वर्तमानसँग तादात्म्यता राख्न नसक्ने वा वर्तंमानकालको आवश्यकतालाई सम्बोधन गर्न नसक्ने ऐतिहासिक सन्दर्भहरु, सामाजिक रीतिरीवाज र परम्पराहरु दीर्घकालसम्म जीवित रहन सक्तैनन् । वेनीको माघेसंक्रान्ति मेलाको पहिलो आधार धार्मिक सांस्कृतिक आस्था र परम्परा हो । अर्थात गंगास्नानबाट पुण्य आर्जन हुन्छ भन्ने धार्मिक विश्वास हो । त्यो मान्यता लगभग खण्डित भैसकेको छ । नयाँ पिँढीले त्यो कुरामा विश्वास गर्दैन ।
वेनीको माघेसंक्रान्ति मेला विघटन र विसर्जनको संघारमा पुग्नुको पहिलो कारण त्यही हो । पर्वमेलाको दोश्रो आधारको रुपमा रहेको हाटमेला पनि असान्दर्भिक हुने परिस्थिति सिर्जना हुँदै गएको छ । हिजोको तुलनामा आजका दिनमा बजार व्यवस्थित भैसकेको छ । अर्थात कुनै बस्तु खरिद विक्रीका निमित्त हाटमेला कुर्नु पर्दैन । आजको बजार सर्वकालिक र सर्वसुलभ भएको छ । नयाँ लुगा लगाउनका निमित्त दशैं कुर्नुपर्ने जमाना अव छैन ।
हाटमेलाहरु विशुद्ध सांस्कृतिक परम्पराको रुपमा अनन्तकालसम्म बाँचिरहने सम्भावना छैन । विशुद्ध व्यापारिक स्वार्थवस आयोजना गरिने हाटमेला, पर्व, महोत्सवहरुले अपेक्षित दीर्घ जीवन पाउन सक्तैनन् । ढिलोचाँडो तिनीहरुको अवशान निम्तिनु अनिवार्य छ । त्यसैले कुनै नयाँ नौला र आकर्षक आयामहरुको थपथाप, विकास र प्रवर्धन गर्न नसक्ने हो भने परम्परागत हाटमेलाहरु मात्र होइन, धार्मिक सांस्कृतिक पर्वमेलाहरुलाई बचाउन मुश्किल पर्ने छ । वेनी पनि त्यो स्वाभाविक परिणति र नियतिको अपवाद बन्ने प्रश्नै उठ्दैन । पाँचौ म्याग्दी महोत्सवका समयमा नवविकल्प साप्ताहिकमा प्रकाशित लेख