दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रद्धारा सेवा विस्तार

सन्तोष गौतम/विकल्प न्यूज
पुस २७ गते । Darbang PHC

दरवाङ/ मालीका गाउँपालिका ३ रुमका हर्ममान विश्वकर्माले दायाँ हात चलाउन नसक्ने भएर थलीएका छोरा बिरबहादुरको हातको भिडीयो एक्सरे गत हप्ता दरवाङ प्राथमिक उपचार केन्द्रमै गर्नुभयो ।

लडेर हात भाँचीएको धौलागिरी गाउँपालिका ७ का बिसन पुनको उपचार पनि दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमै भयो । यसअघि रगत परिक्षणका लागि सदरमुकाम बेनी पुग्ने गरेकी निस्कोटकी रिद्धीमा पुनले यसपाली सो सेवा दरवाङमै पाउनुभयो ।

“दरवाङमै सेवा पाएपछि बेनी, पोखरा र काठमाडौ पुग्नुपर्ने समय मात्र होईन त्यहाँ जान आउँन लाग्ने खर्च पनि बचत भयो” विश्वकर्माले भन्नुभयो । मालीका गाउँपालिकाको केन्द्र दरवाङमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रले सेवा विस्तार गरेपछि हर्कमान, बिसन र रिद्धीमा जस्ता म्याग्दीको पश्चिमी भेगका हजारौ सर्वसाधारणलाई राहत मिलेको छ ।

सामान्य उपचार सेवाका लागि हजारौ खर्च गरेर बेनी, पोखरा, काठमाडौ, चितवन पुग्नुपर्ने स्थानीयबासीको समस्यामा कमी आएको हो । दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रले पछिल्लो एक वर्षयता बिशेषज्ञ चिकित्सक, पर्याप्त स्वास्थ्यकर्मी र आधुनिक उपकरणहरुको व्यवस्था गरेपछि ग्रामिण क्षेत्रका बासिन्दाको स्वास्थ्य उपचार सेवामा पहुँच बढेको छ ।

सदरमुकाम बेनी देखि २४ किलोमिटर पश्चिममा रहेको सो केन्द्रमा हाल चार जना चिकित्सकले सेवा दिइरहेका छन् । मेडीकल अधिकृत डा. राजेन्द्र पौडेल सहित डाक्टरहरु कृष्ण कडेल, तिलक गौतम र बिजय अधिकारी सेवामा खटिनुभएको हो ।

केही वर्ष पहिलेसम्म हेल्थ असिस्टेन्ट, अहेव, अनमी र नर्सको भरमा केन्द्र सञ्चालन हँुदै आएको थियो । “ल्याब, एक्सरे, चिकित्सक जस्ता आधारभुत सेवा यहीबाट दिन थालेका छौ” मेडीकल अधिकृत पौडेलले “यस क्षेत्रका बासिन्दा सामान्य उपचार सेवाका लागि सदरमुकाम सम्म पुग्नु नपरोस भन्ने हाम्रो उद्देश्य हो ।”

आधुनिक प्रयोगशाला, एक्सरे, मुटुको ईसीजी, पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने स्कृनीङ, हातखुट्टा भाँचीएको पलास्टर लगायतका सेवा उपलब्ध छ । केन्द्रले आफ्नै औषधि पसल सञ्चालन गरेको छ । निशूल्क वितरण गर्ने बाहेक खरिद गर्नुपर्ने औषधि सो पसलबाट सुपथ मूल्यमा बिक्री हुन्छ ।

निजी पसलमा महँगोमा औषधि खरिद गर्नुपर्ने बाध्यता हटेको छ । धौलागिरी, मालीका, मंगलाका साथै बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दा लाभान्वित भएका छन् । सेवाको गुणस्तर सुधारका लागि स्वास्थ्य मन्त्रालय र केन्द्रको आन्तरिक स्रोतबाट उकरणको व्यवस्था मिलाइएको व्यवस्थापन समितिका अध्यक्ष हिरा पुनले बताउनुभयो ।

“सेवा विस्तारसंगै उपकरण र दक्ष जनशक्तिको व्यवस्था गरेका छौ” पुनले भन्नुभयो “पूर्वाधार निर्माणमा पनी प्राथमिकता दिएका छौ ।” विद्युत नभएको अवस्थामा पनि एक्सरे, ल्याव सेवा नियमित सञ्चालनका लागि सोलार जडान गरीएको छ ।

वडा कार्यालयको सहयोगमा स्वास्थ्य केन्द्रको भवनमा सभाहल निर्माण भएको छ । गाउँपालिकाको सहयोगमा शवगृह निर्माणको तयारी भएको वडा अध्यक्ष सन्तोष सुवेदीले बताउनुभयो । नवविकल्प साप्ताहिक वर्ष १० अंक १५ मा प्रकाशित