बेनी–जोमसोम सडक स्तरवृद्धि तिब्र

सन्तोष गौतम/विकल्प न्यूज
पुस १९ गते ।

Beni Jomsome

४ नम्बर प्रदेशको लाईफ लाईन मानीएको कालीगण्डकी कोरीडोर अन्तरगत बेनी–जोमसोम सडक स्तरवृद्धिको कामले तिब्रता पाएको छ ।

नवलपरासीको बर्दघाट देखि मुस्ताङको कोरला सम्मको उत्तर दक्षिण जोड्ने नेपालको सबैभन्दा छोटो दुरीको कालीगण्डकी कोरीडोर अन्तरगत म्याग्दीको बेनी देखि मुस्ताङको जोमसोम सम्मको ७६ किलोमिटर सडक कालोपत्रेका लागि फराकीलो बनाउने काम तिब्र बनेको छ ।

बेनी जोमसोम सडकको चार वटा खण्डमा स्तरवृद्धिको काम भैरहेको छ । चिसोका कारण ११० किलोमिटर दुरीको जोमसोम कोरला खण्डको काम रोकीएपनि म्याग्दी खण्डमा सडक फराकीलो बनाउने काम तिब्र रुपमा अघि बढेको आयोजनाका इञ्जिनियर प्रदिप निरौलाले बताउनुभयो ।

निर्माण कम्पनी शर्मा गजुरमुखी जेभीका प्रतिनिधि सचिन क्षेत्रीले ११ वटा डोजर र एक हजार जना मजदुर परिचालन गरेर चार ठाउँमा सडक फराकीलो बनाउने काम गरिरहेको बताउनुभयो । बैसरी, दुवाडी, दाना, तितर, काभ्रेभिर क्षेत्रमा सडक फराकीलो बनाउन पर्खा लगाउने र भित्तातर्फको पहाड फुटाउने काम भैरहेको छ ।

लेते देखि माथिको क्षेत्रमा डाईभर्सन गरेर सवारी सञ्चालनको व्यवस्था गरेपनी म्याग्दी खण्डको सडक साँघुरो भएकाले सवारी आवत जावत भैरहेको अवस्थामा काम गर्न कठिनाई भएको प्रतिनिधि क्षेत्रीले बताउनुभयो । Beni Jomsome Roadअक्करे भिर र कमजोर भुगोलका कारण म्याग्दी खण्डको सडक विस्तारमा जोखिम समेत उत्तिकै छ । पहाड फुटाउनका लागि ३०५ पिएल क्षमताको स्काभेटर ल्याइएको छ । मजदुरहरु शरीरमा रसी बाँधेर भिरमा काम गरिरहेका छन् ।

आयोजनाका सुपरभाईजर ईन्द्रसिङ शेरचनले काम प्रभावीत भएपछि सडकमा सवारी सञ्चालनका लागि अस्थाई कार्यतालीका बनाएको बताउनुभयो । काम भैरहेको ठाउँमा रातको समय बाहेक बिहान ९ बजे, दिउँसो ११ बजे र दिउँसो ३ बजे सवारी सञ्चालनका लागि खुल्ला गर्ने व्यवस्था मिलाएको सुपरभाईजर शेरचनले बताउनुभयो ।

आयोजना र निर्माण कम्पनीले सवारी सञ्चालन र काम गर्ने समयतालीका बनाउनुपर्ने माग गरेका छन् । २०७६ असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाबाट ११ मिटर फराकीलो दुई लेनको कालोपत्रेका साथै विभिन्न ठाउँमा रहेका बेलीब्रिजहरुलाई विस्थापित गरेर पक्कि मोटरेबल पुल निर्माण गरिने भएको छ । beni jomsom sadakबेनी घाँसा खण्डमा डिबीएसडी र घाँसा जोमसोम खण्डमा असपाल्ट प्रबिधिको कालोपत्रे गरिने भएको छ । नाली सहित ११ मिटर चौडाई रहने सडकको सात मिटर चौडाईमा कालोपत्रे गरिने ईञ्जिनियर निरौलाले बताउनुभयो ।

यो सडकलाई प्रदेश नम्बर ४ को “भाग्यरेखा” मानिएको छ । सडकले पुर्वाधार, आर्थिक, ब्यापारीक, जलविद्युत, पर्यटन र धार्मीक स्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कुमार कर्माचार्यले बताउनुभयो ।
कोरला नाका सञ्चालन गर्ने वातावरण बन्ने, आन्तरीक तथा बाह्य पर्यटक एवं तिर्थयात्रीको आगमन बढ्ने, स्थानीयबासीलाई सुबिधा पुग्ने, कालीगण्डकी र आसपासका नदीहरुमा जलविद्युतको विकास हुने अपेक्षा गरिएको अध्यक्ष कर्माचार्यले बताउनुभयो ।

यसैबीच
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानामा सडक विस्तारको क्रममा बस्ती जोखिममा परेको छ । बेनी जोमसोम कोरला सडक आयोजना अन्तरगत सडक फराकीलो बनाउने क्रममा दानाको काभ्रेमा बस्ती जोखिममा परेको हो ।

भित्ता खन्न थालीएपछि सडक माथिका बस्तीका घरहरु चिरा पर्न थालेको भन्दै वडा कार्यालयले आयोजना र निर्माण कम्पनीलाई छलफलका लागि बोलाएको छ । वडा अध्यक्ष नरसिङबहादुर पुर्जाले शुक्रबार पत्र मार्फत पुष २२ गतेभित्र आयोजना र गजुरमुखी निर्माण कम्पनीलाई छलफलका लागि बोलाउनुभएको छ ।

सडक विस्तारका क्रममा बस्ती संरक्षणलाई पनि प्राथमिकता दिईनुपर्ने स्थानीयबासीले माग गरेका छन् । दुई लेनको सडक बनाउनका लागि हाल पाँच मिटर चौडाई रहेको सडक ११ मिटर फराकीलो बनाउन पर्खाल लगाउने र भित्ता कटिङको काम भैरहेको छ ।

आयोजनाको ठेकेदार कम्पनीका प्रतिनिधि सचिन क्षेत्रीले कमजोर भुगोलका कारण काम गर्न निकै जोखिम रहेको बताउनुभयो । डिजाईन ईस्टिमेट अनुसार बस्तीलाई असर नपर्नेगरी काम गरेपनि कमजोर भुवनोटका कारण केही ठाउँमा देखिएको समस्याको बारेमा आयोजनालाई जानकारी गराएको क्षेत्रीले बताउनुभयो ।