मिस्त्रीखोलाको निर्माण युद्धस्तरमा

सन्तोष गौतम /विकल्प न्यूज
पुस १९ गते ।

Mistrikhola Second Main Newsमिस्त्रीखोला जलविद्युत आयोजनाको बाँध निर्माण गरिँदै । तस्विर नवविकल्प

नारच्याङम्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा मिस्त्रीखोला जलविद्युत आयोजनाको सुरुङ र विद्युत गृह निर्माणको काम आधा भन्दा बढी सकिएको छ ।

स्वदेशी लगानीमा बन्न लागेको ४२ मेगावाट क्षमताको मिस्त्रीखोला म्याग्दीमा हालसम्मको ठूलो जलविद्युत आयोजना हो । जलविद्युत आयोजनाको पूर्वाधारतर्फ मुख्य कार्यमा पर्ने सुरुङ ६३ र विद्युतगृह निर्माणको कार्य ५० प्रतिशत सकिएको आयोजनाले जनाएको छ ।
दुई हजार २८८ मिटर सुरुङ मध्य बाँधतर्फबाट सात सय ९० र आउटलेट फोरवेतर्फबाट छ सय ५० मिटर सुरुङ खन्ने काम सकिएको आयोजनाको परामर्शदाता हाईड्रो कन्सल्ट्यान्टका इञ्जिनियर दिवाकर खड्काले जानकारी दिनुभयो । mirstri khola 5सन २०१६ को जुन १३ मा आयोजनाको सुरुङ निर्माणको काम सुरु भएको थियो । नेपाली सेनाको निगरानीमा बिस्फोटक पदार्थको प्रयोग गरेर सुरुङ निर्माणको काम गरिएको हो । रोवस्ट ईनर्जी प्रालीले निर्माण गर्न लागेको आयोजनाको सिभिल निर्माणको ठेकेदार कम्पनी हाई हिमाल हाइड्रो कन्ट्रक्सन हो ।

उसले सुरुङसंगै विद्युतगृह र बाँध निर्माणको कामलाई पनि तिब्रता दिएको छ । नारच्याङको बेशीगाउँ स्थित कालीगण्डकी नदीको बायाँ किनारमा विद्युतगृह निर्माण भैरहेको छ । विद्युतगृह (पावरहाउस)को सिभिल निर्माणको काम पचास प्रतिशत सकिएको इञ्जिनियर खड्काले बताउनुभयो ।  mirshi kholaनिलगिरी र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध निर्माणको काम सुरु भएको छ । बाँधको पहिलो ढलान सकिएको छ । पहाडभित्र १३५ मिटर सुरुङ खनेर पानीलाई डाईभर्सन गराएर बाँध निर्माणको काम अघि बढाइएको हो । मिस्त्रीखोलाको पानी थिग्राउने पोखरी (क्यानल) भुमिगत हो ।

पहाड भित्र ११५ मिटर लम्बाई, ८.५ मिटर चौडाई र १३ मिटर गहिराई भएको २ वटा बालुवा थिग्राउने भुमिगत पोखरीका लागि सुरुङ खन्ने काम ९६ प्रतिशत सकिएको छ । आउटलेट देखि बाँधसम्म पेनस्टक पाईप जडानको काम सुरु गरिएको छ ।

एक हजार ५०० मिटर दुई मिटर गोलाईको पेन स्टक पाईप जडान गर्न लागीएको हो । विद्युतगृह देखि फोरवे सम्मको भर्टीकल हाईट (सिधा उचाई) ३५० मिटर छ ।

२०१९ फेबु्रअरी १७ सम्म आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । “साढे २१ म्हिनाको आयोजनाको हालसम्मको प्रगती कार्ययोजना अनुसारनै भएको छ” इञ्जिनियर खड्काले भन्नुभयो “जनशक्ति, उपकरण थप्न लगाएर भएपनि समयमै आयोजना सम्पन्न गर्ने खटेर लागेका छौ ।”
स्थानीय समुदायबाट आउने गुनासोको समयमै व्यवस्थापन गरिएकाले सामाजिक समस्या नभएको र सकारात्मक सहयोग पाएको आयोजनाले जनाएको छ । वातावरणीय समस्या न्युनीकरणका लागि छुट्टै कार्यालय स्थापना गरिएको छ । सिभिल ठेकेदारका २००, पाईप फिटीङमा २५ र परामर्शदाता तर्फ २५ जना जनशक्ति परिचालन भएका छन् । mirshikhola haedro pawer
आयोजनाको बाँधसम्मनै सडक पु¥याइएको छ भने सुरुङको मकिङ ढुवानी गर्न ट्रिपर प्रयोग गरिएकाले छिटो काम भएको छ । नारच्याङ बेशीगाउँदेखि बाँधसम्म पुग्ने ६ किलोमिटर सडक र तिन वटा बेलीब्रिज निर्माण गरेको छ । पाँच अरब ६४ करोड रुपैयाँको लागत अनुमान गरिएको आयोजना स्वदेशी लगानीमा निर्माण हुने प्रबन्ध निर्देशक डोलराज शर्माले बताउनुभयो । प्रर्वद्धक बाहेक नेपाल ईन्भेष्टमेन्ट बैङ्कले ७० करोड, जलविद्युत विकास कम्पनीले एक अरब र नेपाल बैंकले ५० करोड रुपैयाँ ऋण लगानी गर्ने जनाइएको छ ।

यसैगरी नविल बैंकले एक अरब, लक्ष्मी बैंकले ४० करोड, सिद्धार्थ बैंकले ३० करोड र एस डेभलभमेन्ट बैंकले ३० करोड ऋण लगानी गर्ने प्रबन्ध निर्देशक शर्माले बताउनुभयो । मिस्त्रीखोलाले वि.स २०६४ मा निर्माणका लागि अनुमती पाएको थियो ।

नेपाल विद्युत प्राधिकरणले २२० केभी कालीगण्डकी करिडोर प्रशारण लाईन र दाना सब स्टेशन निर्माण सुरु गरेपछि नौ वर्षसम्म रोकीएको मिस्त्रीखोलाको निर्माण कार्यले तिब्रता पाएको हो । सब स्टेशन र प्रशारण लाईन समयमै सम्पन्न गर्न आयोजनाका प्रर्वद्धकहरुले विद्युत प्राधिकरणसंग आग्रह गरेका छन् ।

मिस्त्रीखोला म्याग्दीमा हालसम्म निर्माण भएका र निर्माणाधिन अवस्थामा रहेका मध्य सबैभन्दा ठूलो आयोजना हो । नारच्याङमा २ मेगावाट क्षमताको तातोपानी साना जलविद्युत आयोजना सञ्चालनमा छ भने ५ मेगावाटको घलेम्दीखोला निर्माणाधिन अवस्थामा छ । नेपाल विद्युत प्राधिकरणले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना निर्माणका लागि हालै भारतीय ठेकेदार कम्पनी जेपी एशोसीयट्ससंग सम्झौता गरेको छ ।