ताजा समाचार:
Search

म्याग्दीका युवाहरु कुखुरापालन व्यवसायप्रति लोभीदै

सन्तोष गौतम/विकल्प न्यूज
पुस १३ गते ।

kukhurapalanम्याग्दीका युवाहरुका लागि कुखुरापालन स्वरोजगारको माध्यम बनेको छ । रोजगारीको खोजीमा दैनिक हजारौ नेपालीहरु विदेशीरहेको अवस्थामा कुखुरापालन गरेका युवा उद्यमीहरुले घरमै राम्रो आम्दानी गर्न सफल भएका छन् ।

मासु र अण्डा आपुर्तीका लागि म्याग्दीमा व्यवसायिक कुखुरापालन गर्ने क्रम बढेको छ । सदरमुकाम बेनी बजार आसपासमा पर्ने रत्नेचौर, खबरा, चुत्रेनी, बगरफाँट, बास्कुना, कुरीलाखर्क, अर्थुङ्गे, दरवाङ, घतान, भुरुङ तातोपानी, बरंजा, बाबियाचौर क्षेत्रमा व्यवसायिक कुखुरा फार्म सञ्चालन भएका छन् ।

छिटो आम्दानी लिनका लागि कुखुरापालन उपयुक्त माध्यम बनेको बेनपा ८ एक्लेखोरीयामा रहेको हाम्रो कृषी फार्मका सञ्चालक दिलगोपाल सिकेले बताउनुभयो । २८ लाख रुपैयाँको लागतमा कुखुरा र बाख्रापालन गरेका सिकेले आफू बाहेक फार्ममा तिन जनालाई रोजगारी समेत दिनुभएको छ ।

दुई वटा खोरमा तिन हजार पाँच सय ब्रोईलर जातको कुखुरा पालेका सिकेले कुखुरा बेचेर ४५ दिनमै आम्दानी गर्न सकिने बताउनुभयो । अण्डा उत्पादनका लागि लेयर्स जातको कुखुरा पाल्दै आएका बेनपा ४ बास्कुनाको केञ्जन कृषि फार्मका सञ्चालक तिलक गुरुङले बिदेशमा काम गर्दा त्यहाँको कृषि फार्मबाट प्रभावीत भएर स्वदेश फर्केपछि कुखुरापालन गरेको बताउनुभयो ।

मासुका लागि स्थानीय जातकासंगै ब्रोईलर तथा अण्डाका लागि लेयर्स जातका कुखुरा पाल्ने क्रम बढेको छ । न्यू हेम्पसायर, कोईलर, गिरीराज जातको कुखुरा दुवै उद्देश्यका लागि पाल्न सकिन्छ । ब्रोईलर कुखुरा ४५ दिनमै मासुका लागि बिक्री योग्य हुन्छ । दुई हजार कुखरा पाल्दा चल्ला, दाना, पानी, औषधी र ज्याला कटाएर कम्तीमा पचास हजार रुपैयाँ बचत गर्न सकिने व्यवसायीहरुको अनुभव छ ।

रोगको महामारी र बजार नपाएर धेरै समय कुखुरा पाल्नुपर्ने अवस्था आउँदा भने अपेक्षाकृत आम्दानी हुन नसक्ने बताउँछन् । बेनी, सिंगा तातोपानी, बाबियाचौर, दरबाङ, ताकम, भुरुङ तातोपानी, तिप्ल्याङ, घोडेपानी लगायतका बजार तथा पर्यटकीय क्षेत्रका साथै म्याग्दीको कुखुरा र अण्डा छिमेकी मुस्ताङ जिल्लामा खपत हुने गरेको छ ।

जिउँदो कुखुरा प्रतिकिलो १८० देखि २०० रुपैयाका दरले बिक्री हुने गरेको छ । मूल्यमा एकरुपता नहुनु, बजार बिचौलीयाको कब्जामा हुनु, स्थानीय स्तरमा दाना उद्योग नहुनु र स्थानीय तहले पशुपंक्षिको औषधी उपचारका लागि आएको बजेट अन्यत्र बिनियोजन गर्नु कुखुरापालन व्यवासयमा चुनौतीको रुपमा देखिएको कृषकहरुले बताएका छन् ।
जिल्ला पशु सेवा कार्यालयका अनुसार म्याग्दीमा ३८ वटा व्यवसायिक कुखुरा फार्म छन् । एउटा फार्ममा कम्तीमा तिन जनाले रोजगारी पाएका छन् । धेरैजसो कुखुराफार्म सञ्चालकमा बिदेशबाट फर्कीएका युवाहरु रहेका कार्यालयका पशु सेवा प्राबिधिक डिल्लीराम रेग्मीले बताउनुभयो ।

उहाँका अनुसार परम्परागत रुपमा घरायसी उपभोगका लागि कुखुरा पाल्दै आएका कृषकहरुलाई अण्डा र मासु उत्पादनतर्फ आकर्षित गर्न कार्यालयले गत वर्ष ग्रामिण कुखुरा प्रवद्धन कार्यक्रम सञ्चालन गरेको थियो । स्थानीय तहले कुखुरापालन प्रर्वद्धन कार्यक्रमलाई निरन्तरता दिएमा आगामी तिन वर्षभित्र म्याग्दी अण्डामा आत्मनिर्भर बन्न सक्ने रेग्मीको भनाई छ । तर धेरै स्थानीय तहले कृषि र पशुपालनका लागि आएको बजेट सडक, भवन लगायत पूर्वाधार योजनामा छुट्याउँदा कृषक निराश बनेका छन् ।