सत्ता हस्तान्तरणमा आलटाल

काठमाडौं ४ पुस ।

Deuba_pm२०६४ सालको चैत अन्तिममा भएको संविधानसभाको पहिलो चुनावमा माओवादीको पक्षमा जनउभार देखियो । प्रत्यक्षतर्फ उनीहरुले झण्डै बहुमत सीटमा जीत हासिल गरे । धेरैको अपेक्षा थियो कि, माओवालीले सहजै सरकार गठन गर्न पाउँछ ।

तर सरकारको नेतृत्व गरेका तत्कालीन प्रधानमन्त्री एवं कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले तत्काल सत्ताहस्तान्त्ररण गर्न राजी भएनन्, कारण थियो शिविरमा रहेका माओवादी लडाकू र हतियार ।

सशस्त्र बिद्रोहबाट शन्तिपूर्ण राजनीतिमा आए पनि माओवादीप्रति कतिपय शक्ति केन्द्रहरु सशंकित थिए । उनीहरुले तत्कालीन प्रधानमन्त्री कोइरालालाई उकासेका थिए, हतियार नबुझाएसम्म माओवादीलाई सत्ताको नेतृत्व दिनु हुँदैन । चैतमा चुनाव भएर मध्य वैशाखसम्म नतिजाइ आए पनि माओवादीलाई सरकारमा सहभागि हुन साउनसम्म कुर्नु पर्यो । सहज ढंगले माओवादी सिंहदरवार छिर्न पाएन् ।

चुनावमा आफ्नो पार्टीले हार्ने निश्चित भए पछि कतिपय लोकतान्त्रिक मुलुकका प्रधानमन्त्रीले तत्कालै राजीनामा दिने गरेको पाइन्छ । तर नेपालमा भने त्यो राजनीतिक संस्कार कमैमा देखिएको छ ।

दशक पहिलेको राजनीतिक परिघटनाको पुनरावृत्ति यसपटक पनि हुने संकेत देखिएको छ । वामपन्थी गठबन्धनले चुनावमा स्पष्ट बहुमत ल्याउँदा पनि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता छाड्ने सुरसार गरेका छैनन् ।

विगतमा जस्तै माओवादीलाई सरकारको नेतृत्व हस्तान्तरण गर्नका लागि अहिले कुनै ‘हतियार’ बाधक छैन्, तर देउवाले सरकार छाड्न मानेका छैनन् । धेरैको अपेक्षा थियो कि, चुनावमा कांग्रेसको लज्जाजनक पराजयसँगै देउवाले प्रधानमन्त्री र पार्टी सभापति दुवैबाट राजीनामा गर्नेछन् ।

पार्टी सभापति नछाडे पनि सरकारको नेतृत्व गरेको पार्टी पराजय भएपछि सरकारबाट तत्कालै राजीनामा दिनु चुनावी सरकारको प्रधानमन्त्रीको नैतिक जिम्मेवारी हो । तर देउवाले राष्ट्रिय सभा गठनको प्राविधिक बिषयलाई देखाएर सरकार छाड्न बाहना बनाएका छन् । सायद यसैप्रति लक्षित गरेर हुनुपर्छ एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा देउवाप्रति कटाक्ष गर्दै भनेका थिए, ‘उहाँले यसअघि पनि सजिलै सरकार छाड्नु भएको छ छैन, मलाइ थाहा छैन ।’

त्यतिमात्र होइन कामचलाउ हैसियतमा परिणत भएको सरकारले सामान्य अबस्थाको सरकारले जस्तै सरुवा र बढुवाका कामलाई निरन्तरता दिएको छ ।

सामान्यतया निर्वाचनको नतिजाले अल्पमतमा परेको र कामचलाउ हैसियतमा पुगेको सरकारले दूरगामी प्रकृतिका निर्णय गर्नु अराजनीतिक मानिन्छ । यद्यपि यस्ता काम वामपन्थी सरकारले पनि गर्ने गरेको छ । जस्तो कि, विबादास्पद चिनियाँ कम्पनीलाई बूढीगण्डकी आयोजना निर्माणको जिम्मा राजीनामा गरिसकेको प्रचण्ड सरकारले गरेको थियो ।

सरकार नछाड्न देउवालाई उक्साहट 
सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा चुनाव हारेका कानून मन्त्री यज्ञबहादुर थापाले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न नभएसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार नछाड्ने बताए । ‘प्रधानमन्त्रीले मलाई धेरै दबाब आयो भनेर पद छोड्छु भन्न पाउनु हुन्न’ थापाले भने ।

मन्त्री थापा मात्र होइन, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि संसद्ले पूर्णता नपाएसम्म देउवाले प्रधानमन्त्री पदबाट राजीनामा गर्न नमिल्ने तर्क गरे । ‘राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश पारित भएपछि हामी जुनसुकै बेला सरकार छोडिहाल्छौं,’ पौडेलले सोमवार तनहुँमा भने ‘सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न काँग्रेस आतुर छ, तर मुलुकको लथालिङ्ग अवस्थालाई छोडेर प्रधानमन्त्रीले राजीनामा गर्न मिल्दैन ।’

कांग्रेसमा देउवाको विरोध गर्दै आएका पौडेल सम्मको अभिव्यक्तिले हेर्दा कांग्रेस तत्काल सरकार छाड्ने मनस्थितीमा देखिँदैन् । यही सरकारले राष्ट्रिय सभाको गठन गरेर मात्र नयाँ सरकार गठन हुने कांग्रेसको दलिल छ ।

तर वामपन्थी गठबन्धन भने राष्ट्रिय सभामा नियुक्ति अहिलेको काम चलाउ सरकारले गर्न नमिल्ने बताउँदै आएको छ । ‘राष्ट्रिय सभाको नियुक्ती आउट गोइङ सरकारले होइन, नयाँ सरकारले गर्ने विगतको पनि प्रचलन हो,’ आइतवारको संयुक्त पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले भनेका थिए ।

चुनाव अघिको अभिव्यक्ति र पछिको आलटाल

यसपटकको चुनाव प्रचारका क्रममा कांग्रेस सभापति देउवाले देशभरका सबै सभामा एउटा कुरा बोल्न छुटाएनन्, त्यो हो–‘वामपन्थीले जिते भने देशमा अधिनायकवाद आउँछ । कम्युनिष्ट सरकार गठन भयो भने रुन पनि पाइदैन ।’

वाम गठवन्धनका नेताले सत्ता लम्व्याउने देउवाको बहनालाई चुनावभन्दा पहिले भन्ने गरेका अभिव्यक्तिसँग पनि जोडेर हेरेका छन् । नेकपा एमालेका पोलिटव्युरो सदस्य विष्णु रिमाल वाम गठबन्धन भित्र लोभी पापी खोज्नका लागि सत्ता लम्बाउने खेल भइरहेको बताउँछन् ।
‘चुनाव भन्दा पहिले देउवाले वामपन्थीले बहुमत ल्याएमा अधिनायकवाद आउँछ भनेर जनतालाई तर्साउने काम गर्नुभयो, वामपन्थीको बहुमत रोक्न नसकेपछि अहिले गठबन्धनमा खेल्न खोज्दै हुनुहुन्छ,’ रिमालले लोकान्तरसँग भने, ‘वामपन्थीको एकीकरण रोकेर टालाटुली पुतली बनाउन सकिन्छ कि भन्ने उहाँको असफल प्रयत्न हुँदैछ ।’

यसबीचमा देउवाले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पाँच बर्ष नै सरकारको नेतृत्व गर्न प्रस्ताव गरेका कुरा बाहिर आएका छन् । ‘सत्ता टिकाउनको लागि जे पनि गर्ने देउवाको अतित हो, त्यही अनूभवलाई लागू गरेर एमालेलाई सत्ता बाहिर राख्न सकिन्छ कि भन्ने प्रयत्नमा लाग्नु भएको देखिन्छ’ रिमाल भन्छन् ।

निर्वाचनमा पराजय भएपछि पनि सत्ता टिकाउन खोज्ने कांग्रेसको वंशाणुगत रोग रहेको रिमालको टिप्पणी छ । ‘बहुमत पाए टिकाउन नसक्ने, सत्ता बाहिर रहन नसक्ने रोगबाट कांग्रेस ग्रसित छ । पाँच बर्ष सत्ताबाहिर रहनु पर्ने पीडाले कांग्रेस सहज सत्ताहस्तान्त्ररणका लागि तयार नभएको हो’ रिमालको विश्लेषण छ ।

देउवाले नछाडे के हुन्छ ?
प्रधानमन्त्रीले राजीनामा नदिएपनि निर्वाचन आयोगले चुनावको अन्तिम नतिजा राष्ट्रतिलाई बुझाएपछि राष्ट्रपतिले संसदमा बहुमत प्राप्त दलको नेता या संसदको ठूलो दलको संसदीय दलको नेतालाई प्रधामनन्त्री नियुक्त गर्न सक्ने संविधानविद् खिमलाल देवकोटा बताउछन् ।

‘बहुमत गुमाइसकेपछि राजीनामा गर्नु देउवाको नैतिकताको बिषय हो, तर नयाँ प्रधानमन्त्री नियुक्त गर्न संविधानले छेक्दैन,’ बरिष्ठ अधिवक्ता देवकोटा तर्क गर्छन् । lokantar.com