ताजा समाचार:
Search

बाँसखर्कका किसानले फलाए ३ करोडको सुन्तला

अगन्धर तिवारी /पर्वत
पुष १ गते ।

baskharka-orange-1पर्वतको जललजा– १ बाँसखर्कका किसानले यस वर्ष करिब ३ करोड रुपैयाँको सुन्तला फलाएका छन् । गत वर्षको तुलनामा बाक्लो फल र सुन्तलाको क्षेत्रफल विस्तार भएकाले उत्पादन बढेको हो

‘यो वर्ष सुन्तला फलेको क्षेत्रफल विस्तार भएको छ,’ स्थानीय किसान मेकबहादुर खत्रीले भने, ‘धेरैजसोले धान खेतमा रोपेका सुन्तला अहिले लटरम्मै फलेका छन् ।’ यो वडाका २ सय ६१ मध्ये दुई सय बढीले व्यावसायिक रूपमै सुन्तला फलाउँछन् । बोटभरि लटरम्मै पाकेका सुन्तलाले मंसिरदेखि माघको अत्यसम्म यो गाउँ पहेंलपुर देखिन्छ ।baskharka-orange-5पहिला बाँसका घारी मात्रै हुने भएकोले ‘बाँसखर्क’ नामकरण भएको यो गाउँभर हाल सुन्तलाको जंगल नै भएको छ । पछिल्ला दुई दशकयता यहाँका किसानले अपनाएको व्यवसायिकरण, सुन्तलामा लाग्ने रोगकिराको निदान, उन्नत जातका बिरुवाको विस्तारलगायतका कारणले सुन्तला उत्पादन बर्सेनि बढदै गएको हो । जसका कारण यहाँबाट विस्थापितहरू पनि सुन्तलाको आम्दानीका कारण गाउँमै फर्किन थालेका छन् ।

baskharka-orange-3सुन्तलाको आम्दानीले बेनी, बाग्लुङ, कुस्मा, पोखरा, चितवन, काठमाडौंलगायतका सहरमा घरघडेरी जोडेका परिवार धेरै छन् । तर, पनि उनीहरू बजार बस्न मान्दैनन् । ‘गाउँभरका अढाइ सय परिवारमध्ये दुई सय बढीका खेतबारीमा सुन्तला मात्रै छ,’ अगुवा किसान जगतबहादुर खत्रीले भने, ‘थोरै कमाउनेले पनि एक लाख रुपैयाँ हात पार्छन् । आधाभन्दा बढीले सहरमा घरजग्गा जोडेका छन् ।’ उनले पनि बेनी, पोखरा र चितवनमा घडेरी जोडेका छन् ।

सुन्तलाको व्यवस्थित बजारीकरण गर्न किसानकै अग्रसरतामा सुन्तला उत्पादन तथा बिक्री गर्न ‘बजारमारे सुन्तला उत्पादन सहकारी’ स्थापना भएको छ । गाउँभरिका सुन्तलाको बिक्री सहकारीमार्फत नै गरिन्छ । ०६९ सालमा स्थापना भएको सहकारीले घरैबाट सुन्तला टिपेर राजधानी काठमाडौंदेखि चितवनसम्मका बजार पुर्‍याउँछ । उत्तरी मोहडामा फैलिएर ९ सय देखि १३ सय मिटर उचाइको यो गाउँका किसानले हत्तपत्त टिप्दैनन् । ढिलासम्म बोटमै रहन सक्ने मौसम भएको र अन्तका सकिने समयमा टिप्ने भएकाले सिजनको भन्दा दोब्बर मूल्यमा बिक्री गर्दै आएका छन् ।

baskharka-orange-4व्यवसायी खोज्न बजारका दैलादैला चहार्नुपर्ने बाध्यता पनि छैन । ‘५–६ वर्षयता असोज–कात्तिकमै व्यवसायी आएर सुन्तलाका बोट नियाल्छन्,’ सहकारीका अध्यक्षसमेत रहेका खत्रीले भने, ‘सहकारीसँग मोलमाल गरेपछि माघको अन्त्यमा टिप्न आउँछन् ।’ यसरी बिक्री गर्दा प्रतिकिलो बोटबाटै १ सय २० रुपैयाँसम्म पर्ने किसानहरू बताउँछन् ।

चार वर्षअघि गाउँलेहरू मिलेर गाउँसम्म पुग्ने मोटरबाटो खनेका थिए । हाल घरघरै पुगेर व्यवसायीले गाडीमा सुन्तला ओसार्छन् । ‘चार वर्षअघिसम्म डोकोमा बोकेर बेनीसम्मै पुर्‍याउनुपथ्र्यो,’ स्थानीय चन्द्रकुमारी खत्रीले भनिन्, ‘हिजोआज ढुक्क भएको छ ।’ यहाँका सुन्तलाको मोलमोलाइ गर्न व्यवसायीबीच नै प्रतिस्पर्धा चल्छ । बेमौससम्म बोटमै रहने भएकाले चितवन र काठमाडौंका व्यवसायीबीच मूल्यमा बढीबढाउको प्रतिस्पर्धा हुन थालेको छ । सुन्तला बिक्री गर्ने व्यवसायी खोजेर प्रतिस्पर्धा गराएबापत सहकारीलाई केही प्रतिशत मुनाफा सबैले दिन्छन् । त्यसबापत सहकारीमा जम्मा भएको रकमले ३ जना कर्मचारीलाई रोजगारी र सुन्तलाको गुणस्तर वृद्धिमा सहयोग पुगेको छ ।

गाउँमा आवश्यक पर्ने उपकरण जिल्ला कृषि विकास कार्यालय र सहकारीको साझेदारीमा खरिद गर्ने गरिएको किसानहरू बताउँछन् । पछिल्लो दुई वर्षयता बाँसखर्कलाई ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’ अन्तर्गत सुन्तला पकेट क्षेत्र घोषणा भएपछि किसानलाई रोगकिराको व्यवस्थापन, सुत्तला टिप्ने मेसिन, कलमी बिरुवा उत्पादनलगायतमा सहुलियत र सहज भएको छ ।

सुन्तलाको सम्भावना राम्रो भएकाले कृषि कार्यालयले पनि हरेक वर्ष लगानी र श्रम बढाउँदै गएको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताए । ‘यो वर्षदेखि हामीले खासै केही गर्न सक्ने अवस्था छैन,’ रेग्मीले भने, ‘गएका ६ वर्ष कृषिको धेरैजसो लगानी बाँसखर्कमा परेको छ ।’ बगैंचा सुधारअन्तर्गत किसानलाई मलखाद व्यवस्थापन, रोगकिरा नियन्त्रण र फल टिप्ने प्रविधिबारे सिकाउने गरिएको छ । kantipur

तस्विरहरु ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज