माइक्रोबसले विचबाटोमा अलपत्र पारेपछि यात्रुद्धारा प्रशासनमा उजुरी (भिडियोसहित)

सन्तोष गौतम /विकल्प न्यूज
म्याग्दी २८ मंसिर ।

25400966_1768288239862071_1409444823_o

जिल्ला प्रशासन कार्यालय म्याग्दीमा उजुरी दर्ता गर्दै पीडित यात्रु खोजेन्द्र वहादुर मल्ल 

बेनी–काठमाडौ रुटमा चल्ने सवारी साधनले दुख दिएको यात्रुले गुनासो गरेका छन् । काठमाडौबाट बेनीका लागि भनेर चढाउने तर मालढुङ्गामा ल्याएर अलपत्र पार्ने गरेको यात्रुहरुको गुनासो बढेको छ । बुधबार धौलागिरी अञ्चल यातायात बस व्यवसायी समिति बागलुङद्धारा सञ्चालित ध १ ख ६१२ नम्बरको माईक्रोबस चढेर काठमाडौबाट बेनी आउने यात्रुहरु गाडीले बेनी ल्याउन नमानेपछि मालढुङ्गामा अलपत्र परेका थिए ।

उक्त माईक्रोबसमा बेनी आउन ६ जना यात्रु थिए तर चालक र कर्मचारीले जवरजस्ती अर्को व्यवस्था नगरी गाडीबाट झारेर बागलुङतर्फ गएपछि आफूहरुको बिचल्ली भएको यात्रु खोजेन्द्र मल्लले बताउनुभयो ।

उहाँले यातायात ब्यवसायीको लापरबाही र गैरजिम्मेवार गतिबिधिका कारण म्याग्दी, मुस्ताङका यात्रुले दुख पाएको सम्बन्धमा बिहीबार म्याग्दीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीलाई भेटेरै गुनासो गर्नुभएको छ ।

25397765_1768288259862069_1249413366_o

जिल्ला प्रशासन कार्यालय म्याग्दीमा पीडित मल्ल ले दर्ता गरेको उजुरी ।

काठमाडौमा बेनीका लागि भनेर टिकट दिने, पैसा पनि पुरै लिने तर बेनी आउने यात्रु कम भएको भन्दै मालढुङ्गामा झार्ने गर्दा यात्रुहरुको बिचल्ली हुने गरेको छ । काठमाडौ देखि बेनी सम्मको भाडा ८५० रुपैया प्रतियात्रु माईक्रोबसले लिने गरेको छ ।

गाडीले गन्तब्यमा नपुराई बिचैमा ओरालेपछि यात्रुहरु समयमा गन्तब्यमा नपुग्ने, अर्को गाडी पर्खनुपर्ने लगायतको समस्या भोग्न बाध्य भएका छन् । धौलागिरी अञ्चल बस व्यवसायी समितिका अध्यक्ष उमेश केसीले पहिले यात्रुको गुनासो आएपछि गन्तब्यमै पुराउन निर्देशन दिएको तर पछिल्लो समय यस्तो गुनासो नआएको दावी गर्नुभयो ।

उहाँले यात्रुलाई सम्बन्धित गन्तब्यमा पुराउन सबै व्यवसायी र कर्मचारीहरुलाई निर्देशन दिने बताउनुभयो । बिशेष गरेर रात र साँझको समयमा दैनिकजसो मालढुङ्गामा यात्रुहरु अलपत्र र बिचल्लीमा पर्ने गरेका छन् । तस्विरहरु ठाकुरप्रसाद आचार्य