कहिले बन्छ नयाँ सरकार, कस्तो छ प्रक्रिया ?

काठमाडौं २८ मंसिर–

mantri-1प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको नजिता आइसकेको र समानुपातिक तर्फको मतगणना आन्तिम चरणमा पुगेपछि सबैको ध्यान नयाँ सरकार गठनतर्फ पुगेको छ । वामपन्थी गठबन्धनको समर्थनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने लगभग निश्चित छ ।

नयाँ सरकार गठनका लागि कतिपयले राष्ट्रिय सभाको गठन हुनुपर्ने दावी गरिहदा संविधानविद् खिमलाल देवकोटाले समानुपतकि तर्फको मतगणना आएलगत्तै राष्ट्रपतिले सबभन्दा ठूलो दलको नेतालाई प्रधामनन्त्री नियुक्त गर्न सक्ने संवैधानिक व्यबस्था रहेको बताए ।

अब बन्ने नयाँ सरकार गठनको प्रक्रिया २०६३ सालदेखि गठन भएको सरकार गठनको प्रक्रिया भन्दा भिन्न रहेको देवकोटाले बताए । २०६३ पछि सरकार गठन गर्दा राष्ट्रपतिले सहमतिय सरकार गठनका लागि आह्वान गर्ने र सहमतिय सरकार गठन हुन नसकेको अबस्थामा बहुमतीय सरकार गठनको प्रक्रिया शुरु गर्ने व्यबस्था थियो ।

‘नयाँ संविधानको व्यबस्था अनुसार संसदको बैठक नबस्दै प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई राष्ट्रतिले प्रधानमन्त्री नियुक्त गर्न सक्ने प्रावधान छ’ बरिष्ठ अधिवक्ता देवकोटाले लोकान्तरसंग भने ‘नयाँ प्रधानमन्त्री नियुक्त गर्न बहालवाला प्रधानमन्त्रीले राजीनामा दिइरहनु पर्दैन ।’

अल्पमतमा परेको थापा पाउने बित्तिकै प्रधानमन्त्रीले राजीनामा गर्नु नैतिकताको बिषय भएपनि नयाँ सरकार गठन गर्नका लागि बहालवाला प्रधामनन्त्रीले राजीनामा गरिरहनु नपर्ने देवकोटाको तर्क छ ।

संविधानको धारा ७६ को उपधारा १ मा राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुने व्यबस्था छ ।

प्रतिनिधिसभामा कुनै दलले बहुमत ल्याउन नसकेमा दुइ वा दुइ भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यबस्था छ ।

तालमेल गरेर चुनावमा गएका एमाले र माओवादी दुइतिहाइ बहुमत नजिक छन् । संविधानको धारा ७४ को उपधारा ४ अनुसार यसरी राष्ट्रपतिले नियुक्त गर्ने प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्सावको मत प्राप्त गर्नु पर्नेछ ।

निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिक प्रणाली तर्फको अन्तिम नतिजा राष्ट्रपतिलाई बुझाएपछि राष्ट्रपतिले प्रधामनन्त्री नियुक्त गर्न सक्ने संविधानको व्यबस्था रहेको देवकोटाले बताए । यसका लागि ठूलो दलको संसदीय दलको बैठक बसेर संसदीय दलको नेता तोक्नु पर्ने उनले बताए ।

मध्य पुषसम्म नयाँ सरकार ! 
नयाँ सरकारको प्रधानमन्त्रीका लागि एकमात्र दावेदार रहेका नेकपा एमालेका अध्यक्ष ओलीले केही दिन पहिले लोकान्तरसँगको कुराकानीका क्रममा मध्य पुषसम्म नयाँ सरकार गठन भइसक्ने बताएका थिए ।

निर्वाचन आयोगले शुक्रवार सम्ममा समानुपातिक तर्फको मतगणना सक्ने तयारी गरेको छ । समानुपतकि तर्फको मतगणना सकिए लगत्तै आयोगले अन्तिम नतिजा राष्ट्रतिलाई बुझाउने छ । त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया शुरु हुनेछ ।

प्रत्यक्ष तर्फ १६५ सीट मध्ये एमालेले ८० सिट जितेको छ । समानुपातिक तर्फपनि उसको अग्रता कायम छ । प्रत्यक्षमा माओवादी केन्द्रले ३६, कांग्रेसले २३, राजपाले ११ तथा संघीय समाजवादी फोरमले १० सीट जितेका छन् । lokantra.com