म्याग्दीको प्रदेशसभा क्षेत्र ख मा नरदेवी विजयी

सन्तोष गौतम l विकल्प न्युज

म्याग्दी २२ मंसिर ।

nardevi
म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)को मतगणना सकिएको छ । धौलागिरी, मालीका र मंगला गाउँपालीका समावेश भएको क्षेत्र ख मा एमालेकी नरदेवी पुन बिजयी हुनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आधिकारीक रुपमा मतपरिणाम सार्वजनीक गर्न बाँकी छ । जानकारी अनुसार बाम गठबन्धनबाट उमेद्वार बन्नुभएकी पुनले दुई हजार ८७१ मत अन्तरले काँग्रेसका अमलाल फगामीलाई पराजित गर्नुभएको छ ।

एमालेकी पुनले १० हजार ८७१ र काँग्रेसका फगामीले सात हजार ९९० मत प्राप्त गर्नुभएको छ । दोस्रो संबिधानसभामा समानुपातीक सांसद बन्नुभएकी ४७ वर्षिय पुन एमाले अध्यक्ष प्रधानमन्त्री हुँदा पशुपंक्षी विकास राज्यमन्त्री बन्नुभएको थियो ।

समाजशास्त्री र राजनितीमा स्नाकोत्तर गर्नुभएकी पुन वि.स २०६४ को पहिलो संबिधानसभा चुनावमा माओवादीका गोविन्द पौडेल र २०५६ को संसदीय चुनावमा काँग्रेसका नारायणसिङ पुनसंग पराजित हुनुभएको थियो ।

शिक्षकको स्थाई जागीर छाडेर राजनितिमा होमीनुभएकी पुन म्याग्दीको संघर्षशिल महिला नेता मानिनुहुन्छ । पुन मंगला गाउँपालीका १ भरजुला निवासी हुनुहुन्छ । म्याग्दीको प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्र क मा पनि बाम गठबन्धनका उमेद्वार भारी मतका साथ अगाडी छन् ।