सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २१ मंसिर । पहिलो चरणमा गत १० गते प्रतिनिधि र प्रदेशसभा चुनावको मतदान भएको म्याग्दीमा एघार दिनपछि बिहीबार साँझदेखि मतगणना सुरु भएको छ ।
सदरमुकाम बेनी स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा साँझ ५ बजेदेखि मतगणना सुरु भएको हो । म्याग्दीमा स्थानीय तहका वडा अनुसार मतगणना गर्ने सर्वदलीय बैठकले निर्णय गरेको थियो ।
प्रतिनिधिसभातर्फ बेनपा ३ भकिम्ली र बेनपा ४ सिंगाको मतदान केन्द्रको मतपेटीकाबाट मतगणना सुरु गरिएको छ । प्रदेशसभा क्षेत्र कमा बेनपा ४ सिंगा र प्रदेशसभा क्षेत्र ख को धौलागिरी गाउँपालीका ७ ताकमको मतपेटीकाको मतगणना सुरु भएको छ । भकिम्लीमा एक हजार ४००, एक हजार ४९७ र ताकममा एक हजार ५३० मत खसेको थियो ।
प्रतिनिधिसभाको दुई र २ वटा प्रदेशसभाको एकएक ठाउँमा गरि चार ठाउँमा मतगणना गरिने मुख्य निर्वाचन अधिकृत राजकुमार कोईरालाले जानकारी दिनुभयो । मतगणना स्थलमा उपस्थित हुने उमेद्वार वा दलका प्रतिनिधिले मतपत्र छुन नसक्ने गरी तारजाली लगाइएको छ ।
मतगणनाको निगरानी गर्न सिसी टिभी क्यामेरा जडान भएको छ । मतगणनाका लागि एउटा समूहमा दश जनाका दरले कर्मचारी खटाइने भएको छ । ९० जना कर्मचारी छनौट भएका छन् । मंसिर २६ गतेभित्र मतगणना सकीने सहायक निर्वाचन अधिकृत राजु ढुङ्गानाले बताउनुभयो । मतगणना स्थलमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको परिचयपत्र भएका बाहेकका व्यक्तिलाई प्रवेश निषेध गरिएको प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले बताउनुभयो । मोवाईल लैजान पनि प्रतिबन्ध लगाइएको छ ।
मतगणना सुरु भएदेखि नसकिँदासम्म जिल्ला प्रशासन कार्यालयदेखि श्रीबक्स गुल्मको पोष्ट रहेको क्षेत्रमा सवारी आवागमन बन्द गरि समूहमा हिडडुल गर्न र भेला हुन प्रतिबन्ध लगाइएको छ । एक नगरपालीका, ५ गाउँपालीका, ४५ वटा वडा भएको म्याग्दीमा ७५ हजार ५३७ मतदाता रहेकोमा ४७ हजार ४४९ मत खसेको थियो । प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको म्याग्दीमा १३ जना उमेद्वार चुनावी प्रतिस्र्धामा छन् ।
प्रतिनिधिसभामा बामगठबन्धनबाट एमालेका भुपेन्द्र थापा र लोकतान्त्रीक गठबन्धनबाट काँग्रेसका खम्बिर गर्बुजा मुख्य प्रतिस्पिर्धी रहनुभएको छ । ४२ हजार ९९३ जना मतदाता रहेकोमा २७ हजार ६७५ मत खसेको प्रदेशसभा क्षेत्र (क)मा बाम गठबन्धनबाट माओवादी केन्द्रका बिनोद केसी र लोकतान्त्रीक गठबन्धनबाट राप्रपाका भिमप्रसाद गौचन प्रमुख प्रतिस्पिर्धी हुनुहुन्छ ।
म्याग्दी प्रदेशसभा क्षेत्र (ख)मा कुल मतदाता ३२ हजार ५४५ जना रहेकोमा १९ हजार ७७४ मत खसेको थियो । सो क्षेत्रमा बाम गठबन्धनबाट एमालेकी नरदेवी पुन र लोकतान्त्रीक गठबन्धनबाट काँग्रेसका अमलाल फगामी प्रमुख प्रतिस्पिर्धी रहनुभएको छ ।