कामदारकाे अभावले म्याग्दीका विकास अायाेजना प्रभावीत

विकल्प न्युज \ बेनी

मंसिर १८ गते ।

beni jomsom sadakरोजगारीको खोजीमा युवा युवतीहरु बिदेशीने क्रम बढीरहेको अवस्थामा म्याग्दीमा सञ्चालीत विकास आयोजनाहरु कामदार अभावका कारण प्रभावित भएका छन् ।

म्याग्दीमा ठूला विकास आयोजना भित्रीएपनी प्राबिधिक र दक्ष कामदारको अभाव खड्कीएको हो । जलविद्युत, सब स्टेशन, सडक, नदी नियन्त्रण, भवन निर्माण, खानेपानी लगायतका आयोजनामा स्थानीय मजदुरको अभाव देखिएको छ ।

बिस तिस हजार रुपैयाका लागि लाखौ खर्च गरेर खाडी मुलुकमा जोखिमपूर्ण काम गर्न जाने युवा युवतीहरु आफ्नै गाउँ ठाउँमा भित्र्ीएका आयोजनामा काम गर्न बेवास्ता गर्दा समस्या भएको हो ।

निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण जिसीले सामान्य मजदुर देखि सिकर्मी, डकर्मी, सवारी चालक, सब ईञ्जिनियर, ईञ्जिनियर लगायत प्राबिधिक जनशक्तिको अभाव रहेको बताउनुभयो ।

जिल्लामा दक्ष जनशक्ति नपाउँदा ठेक्का लिएका काम समयमा सम्पन्न गर्न समस्या हुने गरेको उहाँको अनुभव छ । म्याग्दीका आयोजनाहरुमा काम गर्नका लागि दाङ, बर्दीया, कैलाली, रामेछाप, धादीङ, चितवन लगायतका ठाउँबाट मजदुर ल्याउने गरीएको जिसीले बताउनुभयो ।
दक्ष कामदारले दैनिक एक हजार र अदक्षले सात सय रुपैयाका दरले ज्याला पाउँछन् । बिदेशमा गएर जस्तो सुकै निकृष्ट काम गर्न पनी तयार हुनेले नेपालमा काम गर्न नमान्ने प्रवृतीका कारण मजदुर अभावको समस्या देखिएको निर्माण व्यवसायीहरुले बताएका छन् ।
निर्माण व्यवसायी संघका अनुसार म्याग्दीमा यस वर्ष सञ्चालित आयोजनाका लागि करिब बिस हजार जना मजदुर आवश्यक छ । विभिन्न जलविद्युत आयोजना, बेनी जोमसोम सडक, सब स्टेशन, बेनी दरवाङ, बेनी बजार संरक्षण आयोजना, विभिन्न स्वास्थ्य संस्थाको भवन निर्माण लगायतका ठूला आयोजना भित्रीएपनी भारतीय र तराईका मजदुर ल्याएर काम गराउनुपर्ने बाध्यता रहेको छ ।

बाहिरबाट मजदुर ल्याउँदा भनेको समयमा नपाउने समस्या छ । सडक डिभिजन कार्यालय बागलुङका प्रमुख ईञ्जिनियर थानेश्वर खत्रीले म्याग्दीका विकास आयोजनामा ढिलासुस्ती हुनुको मुख्य कारण दक्ष कामदार, प्राबिधिक जनशक्ति र उपकरणको अभाव भएको बताउनुभयो ।
निर्माण व्यवायीसंग पर्याप्त उपकरण, प्राबिधिक जनशक्ति र स्थानीय स्तरमा दक्ष कामदार नहुँदा विकासको काम प्रभावीत बनेको ईञ्जिनियर खत्रीले बताउनुभयो । म्याग्दीमा मजदुर अभावको समस्या समाधानका लागि युवा युवतीहरुलाई आवश्यक तालीम र परामर्शको व्यवस्था गर्नुपर्ने देखिएको छ ।