बेनी अस्पतालकाे अगाडि अबैध प्रयोगशाला

सन्तोष गौतम \ विकल्प

मंसिर १८ गते ।

Main News Photo (1)बेनीको अस्पतालचोकमा दर्ता बिना सञ्चाल गरिएको कालीगण्डकी प्याथोलोजी । तस्विर नवविकल्प

बेनी म्याग्दीको स्वास्थ्य क्षेत्रमा बेथीती बढेको छ । नियमनकारी निकायको बेवास्ता, मिलेमतो र सर्वसाधारण सचेत नहुँदा स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा गम्भिर खेलबाड भएको छ ।

म्याग्दीका ग्रामिण क्षेत्रमा स्वास्थ्यकर्मीहरुलेनै दर्ता नगरी औषधी पसल सञ्चालन गरिरहेको विषय सामान्य भैसकेको छ । टाढाको कुरा छाडौ, नियमनकारी निकायको पहुँच रहेको सदरमुकाम बेनीमै रहेका स्वास्थ्य संस्थाहरु समेत अबैध रुपमा सञ्चालन भैरहेका छन् ।
स्थानीय प्रशासनको नेतृत्वमा हुने गरेको बजार अनुगमन औपचारीकतामा सिमीत बनेको छ । कानुनी प्रक्रिया र मापदण्ड पुरा नगरी खुलेआम स्वास्थ्य संस्था सञ्चालन हुँदा समेत नियमनकारी निकाय मौन बसेर लाचारीपन प्रर्दशन गरेका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय र बेनी अस्पतालको प्रवेशद्धार नजिकै बर्षौदेखि दर्ता नगरी सञ्चालन भएको एउटा प्रयोगशाला (ल्याब) म्याग्दीको स्वास्थ्य क्षेत्रका रहेको बेथितीएको एउटा उदाहरण बनेको छ । अस्पताल चोकमा रहेको कालीगण्डकी प्याथोलोजी सेवा नामको प्रयोगशाला दर्ता बिना सञ्चालन भइरहेको हो ।

नेशनल ड्रग सेन्टरसंगै रहेको उक्त प्रयोगशालाको सञ्चालक एकै व्यक्ति हुन् । नियमनकारी कार्यालयको प्रवेशद्धार अगाडी दर्ता र प्रक्रिया पुरा नगरी प्रयोगशाला सञ्चालन हुँदा समेत कानुनी दायरामा ल्याउन बेवास्ता हुनुले मिलेमतोको शंका उब्जाएको छ ।
करिब दश वर्षदेखि सञ्चालनमा रहेको सो प्रयोगशालाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सिफारीस र जिल्ला जनस्वास्थ्य कार्यालयबाट अनुमती लिएर स्वास्थ्य संस्था सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्था पालना नगरेको हो । उक्त प्रयोगशालामा रगत, दिशा, पिसाब, बाथरोग, सुगर, जण्डीस, टाईफाईड, एचआईभी र यौनरोगको परिक्षण हुने गरेको छ ।

अस्पतालचोकमै रहेको आचार्य औषधी पसल संगैको सटरमा आचार्य प्रयोगशाला लेखिएपनी पछिल्लो समय उक्त प्रयोगशाला सञ्चालनमा नरहेको स्थानीयबासी बताउँछन् । स्वास्थ्य मन्त्रालयले २०७३ पुष १४ गते सार्वजनीक सूचना जारी गरी कुनै स्वास्थ्य संस्थाले संस्था दर्ता गर्ने निकायमा दर्ता नगरी तथा अनुमति दिने स्वास्थ्य निकायबाट अनुमति नलिई स्वास्थ्य सेवा सञ्चालन गरेको पाईएमा सो कार्य रोक्न तथा त्यस्तो स्वास्थ्य संस्थालाई आवश्वयक कानुनी कारबाहीको लागि गृह मन्त्रालय मार्फत वा सोझै सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा लेखी पठाईने छ ।

साथै त्यस्ता संस्थाका सञ्चालकलाई भविष्यमा स्वास्थ्य संस्था सञ्चालन अनुमतिप्रदान नगर्ने गरी अभिलेख समेत राखिने जनाएको थियो । प्रयोगशाला सञ्चालनका लागि प्राबिधिकको लाईसेन्स अनिवार्य सर्त मानिन्छ । त्यसैगरी पुर्वाधार र उपकरण लगायतका मापदण्ड पुरा गर्नुपर्ने हुन्छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय म्याग्दीले स्वास्थ्य संस्था सञ्चालन तथा स्तरउन्नती मापदण्ड सम्बन्धि निर्देशिका २०७० लाई संसोधन गर्न २०७३ मा जारी भएको निर्देशिका अनुसार २०७३ फागुनसम्म स्वास्थ्य संस्था दर्ताका लागि प्रक्रिया पुरा गरेर निवेदन पेश गर्न आव्हान गरेको थियो ।

२०७३ मंसिर २९ गते आपुर्ती व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण बिभागबाट खटिएको अनुगमन टोलीले प्रक्रिया पुरा नगरी सञ्चालन गरेको भन्दै न्युरोडको ढकाल प्याथोलोजी (प्रयोगशाला), हुलाकचोकमा निलगिरी र युगल डेण्टल केयरमा शिलबन्दी गरेको थियो । ति स्वास्थ्य संस्थाले आवश्यक मापदण्ड अनुसार प्रक्रिया पु¥याएर नयाँ संसोधित व्यवस्था अनुसार नविकरण गरेपछि सञ्चालन गर्न अनुमती दिइएको थियो ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार विश्वास ल्याब, हाल सञ्जिवनी स्वास्थ्य सहकारी संस्थाद्धारा सञ्चालित तत्कालीन बेनी हस्पीटल एण्ड रिसर्च सेन्टर र न्यु ढकाल ल्याबले दर्ता तथा नविकरण गरेका थिए । डेन्टल होमहरुले पनी नविकरणका लागि निवेदन दिएका छन् ।
नेशनल ड्रग सेन्टरका सञ्चालक शम्भु पाण्डेले पाण्डे पोलीकिल्नीक प्रा.ली दर्ताका लागि निवेदन दिएपनी आवश्यक मापदण्ड र प्रक्रिया नपुगेकाले अघि बढ्न नसकेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । सञ्चालक पाण्डेले करिब ५ महिना अघि चिकित्सक सेवा, प्रगोगशाला, एक्सरे, औषधी पसल सहितको पोलीकिल्नीक सञ्चालनका लागि जनस्वास्थ्यमा निवेदन दिएपनि स्वीकृत नभएको गुनासो गर्नुभयो ।

“पोलीकिल्नीकको अवधारणा अनुसार बिधान तयार पारी कम्पनी रजीस्टारको कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति र आन्तरीक राजस्व कार्यालयबाट अनुमती लिइसकेका छौ” पाण्डेले भन्नुभयो “जनस्वास्थ्यमा अनुमतीका लागि निवेदन दिएको हो ।”

यस विषयमा प्रतिक्रिया लिनका लागि बिहीबार दिउँसो जनस्वास्थ्य कार्यालयमा पुग्दा जिल्ला स्वास्थ्य प्रमुख बरिष्ठ चिकित्सक डाक्टर रोशन न्यौपाने भेटिनुभएन भने आईतबार बिहानसम्म उहाँको मोवाईलमा सम्र्पक हुन सकेन् ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी शोभाखर पोख्रेलले जिल्ला जनस्वास्थ्य कार्यालयसंग समन्वय गरी तत्कालै बजार अनुगमन गरिने बताउनुभयो । अनुगमनका क्रममा दर्ता नगरी स्वास्थ्य संस्था सञ्चालन गरेको भेटिएमा कानुनी दायरामा ल्याइने पोख्रेलले बताउनुभयो ।

“चुनावका कारणले बजार अनुगमनलाई प्राथमिकता दिन सकेका छैनौ, चुनाव लगत्तै जनस्वास्थ्य कार्यालयसंग समन्वय गरी अनुगमन गर्छौ” सहायक प्रजिअ पोख्रेलले भन्नुभयो “दर्ता, प्रक्रिया र मापदण्ड पुरा नगरेको भेटिएमा शिलबन्दि गरेर कारबाही प्रक्रिया अघि बढाउनुपर्ने हुन्छ ।”

कालीगण्डकी प्रयोगशाला मात्र होईन् म्याग्दीमा करिब ७० वटा अवैध औषधि पसल सञ्चालनमा छन् । वि.स २०७१ मा जिल्ला जनस्वास्थ्य कार्यालयले औषधि व्यवस्था बिभाग, घरेलु तथा साना उद्योग र प्यानमा फार्मेसी÷क्लिनीक कतै पनि दर्ता नभएका ६८ वटा पसल सञ्चालन भएको भेटिएको जनाएको थियो । त्यतीबेला जिल्लाभर कुल ८० पसल मध्ये १२ वटामात्रै बैध रहेको पाईएको थियो ।

सबै मेडिकललाई प्रक्रिया पुरा गरी कानुनी हैसियत प्राप्न गर्न परिपत्र गरीएपनी कमैले मात्र निर्देशनको पालना गरेका छन् । त्यस्ता अबैध औषधी पसल अझ बढेका छन् । म्याग्दीका प्राय सबै गाउँमा साना ठूला औषधि पसल छन् । स्वास्थ्य सेवामा बढ्दो बेथिती नियन्त्रणका लागि नियमनकारी निकायको सक्रियता र नागरीक सचेत बन्नुपर्ने देखिएको छ ।