छैटौ म्याग्दी महोत्सवको तयारी सुरु

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १३ मंसिर ।

beniआगामी माघमा बेनीमा आयोजना गरिएको छैटौ म्याग्दी महोत्सवको तयारी सुरु भएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा माघे संक्रान्ति पर्वको अवसरमा पुष २८ देखि माघ ८ गतेसम्म महोत्सवका साथै ४ नम्बर प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार मेला २०७४ आयोजना हुन लागेको हो ।

संघले बुधबार बेनीमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारी सुरु गरिएको जानकारी गराएको छ । संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यको नेतृत्वमा पदाधीकारी र कार्यसमिति सदस्यहरुको संयोजकत्वमा ३९ सदस्यीय उपसमिति गठन गरेर तयारी सुरु गरिएको हो ।

स्थानीय उत्पादनको बजार प्रर्वद्धन, कला र संस्कृतीको संरक्षण, पर्यटन, कृषि, जलविद्युत, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरि लगानी भित्र्याउने र ब्यापार प्रर्वद्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको अध्यक्ष कर्माचार्यले बताउनुभयो ।

दश दिनसम्म सञ्चालन हुने महोत्सवमा डेढ लाख आन्तरीक तथा बाह्य पर्यटक भित्र्याउने र करीब छ करोड रुपैया बराबरको कारोबार हुने अनुमान गरिएको छ । महोत्सवमा १८० वटा व्यवसायीक स्टल राखिने भएको छ ।

महोत्सवको अवसरमा स्थानीय उत्पादन र राष्ट्रिय आन्तराष्ट्रिय औद्योगिक प्रर्दशनीका साथै स्थानीय तह स्तरीय महिला पुरुष भलिबल, बास्केटबल, एकल र खुल्ला नृत्य प्रतियोगिता, कलाकारहरुबाट गित तथा नृत्य प्रस्तुती, झाँकी प्रर्दशनी लगायतका कार्यक्रम आयोजना गरिने भएको छ ।

महोत्सवमा ५० रुपैयाको प्रवेश शुल्क बिक्रीबाट हुने आम्दानी मध्य पाँच रुपैया विभिन्न सामाजिक संघ संस्थालाई सहयोग गरिने भएको छ । प्रत्येक टिकटबाट २ रुपैयाका दरले बेनी बजारमा जडित सिसीटिभी क्यामेरा मर्मत कोषमा जम्मा गर्ने द्धितिय उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो ।

महोत्सवको अवसर पारेर म्याग्दी जिल्लाको सम्भावनाको विषयलाई समेटेर वृतचित्र निर्माण गर्ने संघले जनाएको छ । महोत्सवमा ८३ लाख १३ हजार रुपैया आम्दानी र ७३ लाख ११ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । पत्रकार सम्मेलनको सञ्चालन महासचिव लिलाराम गौतमले गर्नुभएको थियो ।