बाबियाचौर र दरवाङमा नमुना मतदान

विकल्प न्यूज/बेनी
मंसिर ९ गते ।

namuna 1म्याग्दीको मालीका गाउँपालिकाको दरवाङ र मंगला गाउँपालिकाको बाबियाचौर बजारमा नमुना मतदान कार्यक्रम सम्पन्न भएको छ ।

सहि तरिकाले मतदान गर्ने तरीका सिकाउन र मतदाता शिक्षाको प्रचारप्रसार गर्ने उद्देश्यले जिल्ला निर्वाचन कार्यालयले नमुना मतदानको आयोजना गरेको हो । दरवाङको ईलाका हुलाक कार्यालय अगाडी आयोजित नमुना मतदानमा ७३ र बाबियाचौरमा ६५ जनाले सहभागीता जनाएका थिए ।

वास्तवीक मतदानकै प्रक्रिया अपनाएर सहभागीहरुलाई नमुना मतदान गर्न लगाइएको थियो । पहिलो हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फको सबै मतपत्र सदर भएपनि समानुपातीक मतपत्रमा मतदाता अलमलीएको जिल्ला निर्वाचन कार्यालयका नायव सुब्बा बलबहादुर खत्रीले बताउनुभयो ।

प्रतिनिधि र प्रदेशसभाको एउटै रहेको समानुपातीक मतपत्रको एक ठाउँमा मात्र छाप लगाएका थिए । प्रतिनिधि र प्रदेशसभाका लागि माथिल्लो र तल्लो दुवै खण्डमा एकएक वटा चुनाव चिन्हमा छाप लगाउनुपर्छ भन्ने जानकारीको अभावमा अलमलमा परेको मतदाताले बताएका छन् ।

आसन्न प्रतिनिधि र प्रदेशसभा चुनावमा मतदाताले तीन थरी मतपत्रमा चारवटा निर्वाचन चिन्हमा मत संकेत गर्नुपर्नेछ । मतदानको दिन निर्वाचन केन्द्रमा पुगेपछि मतदाताले सुरुमा प्रतिनिधिसभा सदस्यका लागि हरियो रङमा निर्वाचन चिन्हहरु रहेको मतपत्र र त्यसपछि कालो रङका निर्वाचन चिन्ह रहेका मतपत्रमा प्रदेशसभा सदस्यका लागि आफूलाई मन परेका उमेद्वारको चिन्हमा मत संकेत गर्नुपर्नेछ ।

यसपछि समानुपातिक निर्वाचन प्रणालीतर्फ एटा पानामा माथिल्लो भागमा रहेको मतपत्र १ मा रातो रङमा रहेका दलका निर्वाचन चिन्हमा प्रतिनिधिसभा सदस्य र सोही पानाको तल्लो भागमा रहेको मतपत्र २ मा रातो रङमा रहेका दलका निर्वाचन चिन्हमा प्रदेशसभा सदस्यका लागि मतदाताले मत सङकेत गर्नुपर्छ ।

त्यसरी मत सङकेत गर्दा मतदाताले समानुपातिकतर्फको मतपत्रको माथिल्लो भागमा रहेका दलका निर्वाचन चिन्हहरुमध्य आफूलाई मन परेको एक दलको निर्वाचन चिन्हमा प्रतिनिधिसभा सदस्यका लागि र तल्लो भागमा रहेका दलका निर्वाचन चिन्हमध्य आफूलाई मत परेको एक दलको निर्वाचन चिन्हमा प्रदेशसभा सदस्यका लागि गरी दुईवटा निर्वाचन चिन्हमा स्वस्तिक छाप लगाई मत सङकेत गर्नुपर्नेछ ।