निर्वाचनमा यसरी गर्नुस् मतदान

काठमाडौँ, मङ्सिर ९ गते । myagdi-1 namuna  पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदानका लागि अब २४ घण्टाको समय बाँकी छ ।  निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका सबै मतदान केन्द्रमा कर्मचारीसहित आवश्यक सामग्री पु¥याइसकेको छ ।
शुक्रबारदेखि मतदाता परिचयपत्र वितरण सुरु भएको छ ।  मतदाता परिचयपत्र वितरणसँगै आयोगका कर्मचारीले मतसङ्केतको विधिसमेत मतदातालाई बुझाइरहेका छन् ।  सर्वोच्चको आदेश अनुसार अन्तिम समयमा मतपत्र परिमार्जन गरेसँगै आयोगले यो पटक पनि मतदाता शिक्षा कार्यकर्ता परिचालनमा केही ढिलाइ गरेको थियो ।
मतदाता शिक्षाका लागि कर्मचारी मतदाताका घरघरमा पुग्न ढिलाइ भएसँगै यो पटक पनि मतदाता शिक्षा कार्यक्रम सोचेजस्तो प्रभावकारी भएको पाइन्न ।  कतिपय मतदाता मतसङ्केतको विधिमा अन्योल छन् भने निर्वाचन आयोग पनि अघिल्लो पटकभन्दा बदर मत कम हुनेमा आशावादी छ ।  तर विश्वस्त छैन ।

myagdi-01 namuna
निर्वाचन आयोगले भने मतदाता शिक्षाको प्रचारप्रसारलाई प्राथमिकता दिएको जनाएको छ ।  आयोग प्रवक्ता नवराज ढकालले मतदाता शिक्षा आयोगको प्राथमिकता भएको बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘हामीले मतसङ्केत गर्ने विधि सिकाउनेदेखि अन्य प्राविधिक कुराको जानकारी दिन मतदाता शिक्षा कार्यकर्ता सबैतिर खटाएका छौँ ।  आमसञ्चार माध्यबाट समेत प्रभावकारी रूपमा प्रचारप्रसार गरेका छौँ । ’
यसरी दिनुस् मत
यो पटक निर्वाचनमा तीन प्रकारका मतपत्र छन् ।  प्रतिनिधिसभामा प्रत्यक्षतर्फ र प्रदेशसभाको प्रत्यक्षतर्फ छुट्टाछुट्टै रङका मतपत्र छन् ।  प्रतिनिधिसभा प्रत्यक्षका लागि हरियो रङको मतपत्र छ ।  हरियो रङको मतपत्रमा हरियो रङका नै चुनाव चिह्न छन् ।  मतदाताले आफूले चाहेको दल वा स्वतन्त्र उम्मेदवारको चुनाव चिह्नमा मत दिनुपर्नेछ ।  एकभन्दा बढी चिह्नमा मत दिए स्वतः बदर हुनेछ ।  यस्तै, प्रदेशसभाको प्रत्यक्षका लागि कालो रङको मतपत्र छ ।  कालो रङको मतपत्रमा सोही रङकै चुनाव चिह्न छन् ।  मतदाताले मतपत्रमा उल्लेख चिह्नमध्ये एउटामा मात्र मतसङ्केत गर्नुपर्नेछ ।

समानुपातिकमा भने एउटै पानामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ भाग लिने दलका चुनाव चिह्न छन् ।  रातो रङको पानामा रहेको माथिल्लो भागमा प्रतिनिधिसभाको समानुपातिकमा भाग लिने दलका चुनाव चिह्न छन् ।  मतदाताले कुनै एउटा दलको चिह्नमा मात्र मत दिन पाउछन् ।  यस्तै तल्लो भागमा प्रदेशसभाको समानुपातिकमा भाग लिने दलको चिह्न रहनेछ ।  जसमध्ये पनि मतदाताले आफूले रोजेको कुनै एउटा दलको चिह्नमा मात्र मत दिन पाउनेछन् ।  एकभन्दा बढी चिह्नमा मत दिए मत बदर हुनेछ ।
यसरी हुन्छ बदर
मतदाताले एकभन्दा बढी निर्वाचन चिह्नमा मतसङ्केत गरे मत बदर हुन्छ ।  यस्तै, चुनाव चिह्न रहेको कोठा बाहिर मतसङ्केत भएमा पनि मत बदर हुन्छ ।  मतसङ्केत गर्दा स्वस्तिक चिह्न बाहेक अन्य कुनै वस्तु प्रयोग भएमा पनि मत बदर हुन्छ ।  यस्तै मतदान अधिकृतको सही नभएको मतपत्रबाट मतदान गरेमा पनि मत बदर हुन्छ ।  मतदाताले यो पटक तीनवटा मतपत्रको चार ठाउँमा आफूले रोजेको उम्मेदवार वा दलको चुनाव चिह्नमा मत दिन पाउनु हुनेछ ।