प्रदेश २ का मतदाता भन्छन ः संघर्षशिल महिलालाई जिताउँछौं

विकल्प न्यूज/बेनी
मंसिर ७ गते ।nardeviम्याग्दी जिल्लामा वाम गठबन्धनको तर्फबाट प्रदेशसभा क्षेत्र नम्बर २ (ख)मा साझा उम्मेदवार बनेकी नरदेवी पुनले बिहीबार पश्चिम म्याग्दीको विभिन्न ठाउँमा घरदैलो र मतदाता भेटघाट गरेकी छिन् । उम्मेदवार पुनसहितको चुनाव प्रचारप्रसारको टोलीले मंगला गाउँपालिका–२ रनबाङ, सहस्रधारा र ५ को छिस्बाङमा घरदैलो र मतदाता भेटघाटमार्फत वाम गठबन्धनको पक्षमा भोट मागेको छ । भेटघाटको क्रममा मतदाताहरुले संघर्षशिल महिला उम्मेदवारलाई जिताउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मतदाता भेटघाटका क्रममा उम्मेदवार पुनले म्याग्दीमा वाम गठबन्धनको जित सुनिश्चित भएको बताउँदै ढुक्क भएर वाम गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरेकी छिन् । उनले कम्युनिष्ट सरकारले देशको आर्थिक विकासमा नेतृत्वदायी भूमिका खेलेको बताउँदै म्याग्दीमा पनि वामपन्थीहरुले नै विकास र नेतृत्व गरेको बताइन् । उनले आसन्न निर्वाचनबाट वामपन्थीको सरकार बन्ने निश्चित भैसकेको भन्दै अब देश र जनताले सुख, समृद्धि र परिवर्तनको महशुस गर्ने बताएकी थिइन् ।

यसैगरी मंगला गाउँपालिका १ नम्बर वडाको तुसारपानी र पूर्णगाउँमा पनि मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम गरिएको छ । गाउँपालिका उपाध्यक्ष सिर्जना केसी, माओवादी केन्द्रका नेता पुस्कर विक, पृथिलाल विक, अनेरास्ववियु जिल्ला सचिव तथा म्याग्दी बहुमुखी क्याम्पसका स्ववियु सभापति सावित्रा खत्री, युवा संघको गाउँपालिका संयोजक एकजित रोका लगायतले घरदैलो गरेका थिए ।

उनीहरुले मतदातालाई घरघर र खेतबारीमै पुगेर वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन भोट मागेका छन् । पश्चिम म्याग्दीमा वाम गठबन्धनका उम्मेदवारको पक्षमा जनलहर उर्लिएको हुँदा उम्मेदवारलाई भोट दिएर जिताउनका लागि मतदातासमक्ष आग्रह गरिएको छ ।