निर्वाचन आचार संहिता विरुद्धको उजुरी दुःख दिने हतियार बन्यो

विकल्प न्यूज /विकल्प न्यूज
बेनी ६ मंसिर ।

eleचुनावलाई निष्पक्ष, भयरहित र स्वच्छ वातावरणमा सम्पन्न गर्न सघाउने उद्देश्यले बनेको निर्वाचन आचार संहिता म्याग्दीमा दुःख दिने हतियार बनेको छ ।

तालमेल गरेर चुनावी मैदानमा उत्रिएका एमाले र माओवादी केन्द्रको बाम तथा नेपाली काँग्रेस राप्रपाको गठबन्धन निकट शिक्षकहरु हचुवाको भरमा गरिएको उजुरीका कारण बदनामको शिकार बनेका छन् ।

दुवै पक्षले एकले अर्को पार्टीमा आस्था राख्ने शिक्षकहरुलाई सरकारी तलबभत्ता खाएर चुनावी आचार संहिता उल्लङघन गर्दै दलको प्रचारमा हिडेको आरोप लगाउदै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गरेका छन् ।

सोमबार नेपाली काँग्रेसले नेकपा एमाले निकट १३ जना शिक्षकहरुलाई आचार संहिता विपरीत दलको प्रचारमा हिडेको भन्दै कार्यालयमा उजुरी गरेको थियो । आफ्नो पार्टीमा आस्था राख्ने शिक्षकहरुका विरुद्ध उजुरी दिएको जानकारी पाएपछि एमालेले मंगलबार काँग्रेस निकट २४ जना शिक्षकहरुलाई सोही प्रकृतीको आरोप लगाउँदै उजुरी दर्ता गराएको छ ।

शिक्षक विरुद्ध उजुरी पर्ने क्रम बुधबार पनि रोकीएन् । नेपाली काँग्रेसका एक नेताले बुधबार ६८ जना शिक्षकहरु विरुद्ध एमाले र माओवादी केन्द्रको प्रचार गरेको आरोपमा अर्को उजुरी दिनुभएको छ । काँग्रेस निकट नेपाल शिक्षक संघका अध्यक्ष दुर्गाराम सुवेदी र एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष जयराम सुवेदीले आफूहरु आचार संहिता पालनामा प्रतिवद्ध रहेको र एकले अर्कोलाई आरोप लगाएर उजुरबाजुरमा नउत्रने भन्दै प्रेस विज्ञप्ती जारी गरेपनि कार्यान्वयन हुन सकेको छैन् ।  यता शिक्षक संघका अध्यक्ष सुवेदी पत्रकारहरु प्रति खनियका छन् । पत्रकार र सञ्चारमाध्यमलाई मानहानीको मुद्धा हाल्छु भन्दै पत्रकारलाई धम्काउन सुरु गरेका छन् ।

काँग्रेसको तर्फबाट अर्को उजुरी दर्ता भएपछि एमाले र माओवादी केन्द्रले काँग्रेस र राप्रपा निकट थप १०५ जना शिक्षकहरुका विरुद्ध पनि उजुरी गर्ने तयारी गरेको जनाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका आचार संहिता अनुगमन अधिकृत छवीन्द्र बेल्वासेले परेका उजुरीका विषयमा शिक्षा कार्यालय मार्फत सम्बन्धित व्यक्तिलाई स्पष्टीकरण सोधिएको बताउनुभयो ।

केही शिक्षकले आचार संहिता विपरीत दलको प्रचारमा हिडेको आरोप पुष्टि भएपनि धेरैजसोलाई लगाइएको आरोप पुष्टि हुन नसकेको बेल्वासेको भनाई छ । धेरैजसोका विरुद्ध प्रतिरोध र पुर्वाग्रही ढङगले आधार र प्रमाण बिना दुख दिने नियतबस उजुरी परेको बेल्वासेले बताउनुभयो । उजुरीमा नाम मुछीनेमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहायकको रुपमा चुनावमा खटिएका शिक्षकहरु समेत छन् ।

शिक्षकहरु विरुद्ध परेको उजुरीमा लागेको आरोप पुष्टि हुन नसकेपनि केही शिक्षकहरु पार्टीको जिल्ला कमिटिमै आवद्ध रहेको कुरा छिपेको छैन् । केही शिक्षकहरु पेशालाई बदनाम गर्दै दलको राजनितिमा सक्रिय छन् । दुवै गठबन्धनले समाजमा राम्रो प्रभाव पार्ने शिक्षकहरुलाई आफ्नो स्वार्थ पुर्तीका लागि प्रयोग गरीरहेका छन् । तर एकले अर्को पार्टी निकट शिक्षकलाई उजुरी गरेर प्रचारमा निष्क्रीय बनाउने र आफ्नो पार्टी तथा उमेद्वारको प्रचारलाई सहज बनाउने रणनिती उजुरीमा भैरहेको दोहोरीले सफल हुन सकेको छैन् ।