चुनावलाई लक्षित गरेर म्याग्दीमा उच्च सुरक्षा सर्तकता

विकल्प न्यूज/बेनी
आगामी मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर म्याग्दीमा उच्च सुरक्षा सर्तकता अपनाइएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय, सुरक्षा निकाय र राजनीतिक दलहरुसंगको परामर्शमा प्रशासनले सुरक्षा व्यवस्थालाई चुस्त र प्रभावकारी बनाउने प्रयास गरेको जनाएको छ । म्याग्दीका मतदान स्थलहरुलाई संवेदनशिल, संवेदनशिल र सामान्य भागमा बिभाजन गरेर आवश्यक सुरक्षा रणनीति अपनाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार आयोजित छलफलमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले बताउनुभयो ।

eleसुरक्षाका दृष्टिकोणले म्याग्दीका २२ वटा मतदान स्थललाई अति संवेदनशिल, ३८ वटालाई संवेदनशिल र १२ वटालाई सामान्यको सूचीमा राखिएको छ । राजनितिक दलहरुबीच हुने अस्वस्थ्य प्रतिस्पर्धा, शक्ति प्रर्दशन, नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको गतिबिधि, विगतका चुनावमा भएका घटना, भौगोलिक बिकटतालाई विश्लेषण गरेर सुरक्षा रणनिति अपनाइएको हो ।
नेपाल प्रहरी र शसस्त्र प्रहरीको थप जनशक्ति झिकाइने भएको छ । निर्वाचन बिरोधी गतिबिधि गरिरहेको नेकपाका कार्यकर्ता, सर्वसाधारणलाई आतंकीत पार्ने गतिबिधि गर्ने चुल्ठे मुन्द्रेहरुलाई निगरानी बढाइएको प्रजिअ अधिकारीले बताउनुभयो । सुरक्षा संवेदनशिलताका आधारमा मतदान स्थलमा सुरक्षाकर्मी र कर्मचारी खटाइने बताउनुभयो ।

संवेदनशिल क्षेत्रहरुमा गोलाप्रथाबाट मतदान अधिकृत छनौट गरेर पठाउने तयारी भएको छ । जिल्ला भित्र्ने नाकाहरुमा शसस्त्र प्रहरीले चेकचाँजमा कडाई गर्नुका साथै नगरपालीका क्षेत्रमा रात्रीकालीन गस्ती सुरु गरेको छ । सरकारले म्याग्दीलाई सुरक्षाका हिसावले संवेदनशिल जिल्लाको सूचीमा राखेको छ ।

अनुगमनका क्रममा म्याग्दी आउनुभएका निर्वाचन आयोगका सचिव बलराम गौतम र सहसचिव डाक्टर हरि पौडेलले आचार संहिता पालनाप्रती संवेदनशिल बन्न दल तथा उमेद्वारहरुलाई आग्रह गर्दै चुनाव रुपी महाउत्सव सफल बनाउनु सबैको दायीत्व भएको बताउनुभयो ।
मुख्य निर्वाचन अधिकृत राजकुमार कोईरालाले स्वतन्त्र, निष्पक्ष रुपमा निर्वाचन गराउने विषयमा ढुक्क हुन दलहरुलाई आग्रह गर्दै आवश्यक वातावरण बनाउन पनी अनुरोध गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेसका माधवप्रसाद रेग्मी, एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ र माओवादी केन्द्रका गोविन्द पौडेलले मतदाता शिक्षा प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।
जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले आवश्यक सामाग्री लिएर स्वमस्वेक गाउँगाउँमा खटिइसकेको र उनिहरुको कामको बारेमा अनुगमन गरिने जानकारी दिनुभयो । नेताहरुले विगतका चुनावमा सत प्रतिशत मत खसेका स्थानहरुलाई बिशेष ध्यान दिन पनी आग्रह गरेका छन् ।