टिकट माग्न भारतीय नम्बरको गाडी लिएर बालुवाटारमा

कार्तिक १६ गते ।
काठमाण्डौं ।

ele कांग्रेसमा टिकटका दाबेदारहरु भारतीय गाडी नम्बर प्लेटका गाडी चढेर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । नयाँ पत्रिका लेख्छ–कोही आफन्तको र त कोही भाडामा भारतीय नम्बर प्लेटको गाडी लिएर पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटार पुगेका हुन् । सप्तरीका कांग्रेस सभापति दिनेश यादव, मलंगवाका मेयर निश्चल साह आफूनिकटका नेतालाई उम्मेदवार बनाउन भारतीय गाडीमा कांग्रेसको झन्डासहित बालुवाटार छिरेका थिए ।

नागरिक दैनिकले दलहरुले उम्मेदवार टुंग्याएको समाचार प्राथमिकताका साथ छापेको छ । नागरिकका अनुसार, कांग्रेसले ७४, एमालेले अधिकांश, माओवादी केन्द्रले ४२ र एमालेले अधिकांश स्थानमा उम्मेदवार टुंगो लगाएको समाचार छ । सँगै भारतीय सुटर काठमाडौंबाट पक्राउ परेको समाचारले पनि नागरिकमा ठाउँ पाएको छ । कमलादीबाट भारत पञ्जावका जस्वीर सिंह र सरदेवेन्द्र सिंह पक्राउ परेका हु्न र उनीहरुको साथबाट भारतीय रक्षा मन्त्रालयअन्तर्गतको कारखानामा उत्पादित अत्याधुनिक पेस्तोल, ४ वटा म्यागाजिन र ५१ राउन्ड गोली बरामद भएको समाचारमा उल्लेख छ । दुवैजना व्यवसायिक सुटर भएको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

किन आए भारतीय सुटर नेपालमा ?
राजधानी दैनिकले भारतीय सार्प सुटर पक्राउबारे लेखेको छ । महानगरीय आयुक्त कार्यालयका प्रमुख एआईजी जयबहादुर चन्दले पक्राउ परेका दुवै भारतीय नागरिक मंगलबार स्थलमार्गबाट भारतीय नाका हुँदै भैरहवाको सुनौली नाका हुँदै काठमाडौं आएको बताए । उच्च स्रोतले उनीहरु ठूलै घटना घटाउन काठमाडौं छिरेको आशंका गरेको छ । ३ साताअघि काठमाडौंमै भएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यामा पनि भारतीय सुटरको प्रयोग गरिँदै आएको आशंका हुँदै आएको छ । यसले राजधानीको सुरक्षा व्यवस्थामाथि नै गम्भीर प्रश्न खडा भएको छ ।
नागरिकमै नेपाल आयल निगमको इन्धन भण्डारण जग्गा खरिद अनियमितता विषयमा अख्तियारले स्थलगत अनुसन्धान सुरु गरेको समाचार छ ।

‘दोस्रो चरण निर्वाचनः मनोनयन आज’ शीर्षक दिएर मुख्य समाचार लेखेको अन्नपूर्णले काठमाडौंको फोहोर व्यवस्थापन हुँदै आएको सिसडोल क्षेत्र नर्कजस्तै बनेको समाचार लेखेको छ । समाचारमा भनिएको छ–फोहोरको दुर्गन्धमा एक दशकभन्दा बढी समय गुजारिसकेका स्थानीयहरु बिरामी पर्न थालेका छन् । फोहोर ढुवानी गर्ने टिपरको धुलोले मर्कामा परेको र झिँगाले समेत सताएपछि स्थानीय आजित बनेका छन् । onlinekhabar