म्याग्दीका ९६ प्रतिशत नागरिक साक्षर

सन्तोष गौतम /विकल्प न्यूज
बेनी १० कात्तिक ।
म्याग्दीका ९६ प्रतिशत जनसंख्या साक्षर बनेका छन् । जिल्ला शिक्षा कार्यालय र अनौपचारीक शिक्षा केन्द्रले शुक्रबार बेनीमा आयोजना गरेको साक्षर जिल्ला घोषण लक्षित अन्तरक्रिया कार्यक्रममा जिल्लामा बसोबास गर्ने १५ देखि ६० वर्ष उमेर समूहका ९६.२७ प्रतिशत नागरीक साक्षर बनेको जानकारी गराइएको हो । old vdc new wardsलक्षित समुदायका ९५ प्रतिशत नागरीकले अंक अक्षर लेखपढ गर्न सक्ने भएपछि साक्षर वडा, स्थानीय तह र जिल्ला घोषणा गर्न सकिने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार जिल्ला अनौपचारीक शिक्षा समितिको शुक्रबार बसेको बैठकले आगामी माघ ८ गते म्याग्दीलाई साक्षर जिल्ला घोषणा गर्ने निर्णय गरेको जिशिअ रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

हालै भएको घरधुरी सर्वेक्षणको तथ्याङ्क अनुसार १६ देखि ६० वर्ष उमेर समूहका ८२ हजार ८२६ जनसंख्या मध्य ७९ हजार ७३९ जना अथवा ९६.२७ प्रतिशत नागरीक साक्षर बनेको जिशिअ श्रेष्ठले बताउनुभयो । म्याग्दीमा वि.स २०६६ देखि निरक्षरलाई साक्षर बनाउन साक्षरता कक्षा सञ्चालन हुदै आएको छ ।

साक्षरता कक्षा सञ्चालन गरेर १९ हजार ८४२ जनालाई लेखपढ गर्न सक्ने बनाइएको जिशिअ श्रेष्ठले बताउनुभयो । हालसम्म २२ वटा वडालाई साक्षर घोषणा गरिएको छ । वडा, गाउँ र नगरपालीकालाई पुषसम्म र जिल्लालाई माघ ८ गते साक्षर घोषणा गर्ने लक्ष्य राखिएको छ ।

सबैभन्दा बढी रघुगंगा गाउँपालीकाका ६ र बेनी नगरपालीकाको ६ वटा वडालाई साक्षर घोषणा गर्न बाँकी छ । पाँच वटा वडा यसै महिनाभित्र साक्षर घोषणा हुने तयारीमा छन् । अनौपचारीक शिक्षा केन्द्रका उपनिर्देशक बालकृष्ण गैरेले नागरीकलाई आधारभुत स्तरको साक्षर बनाउने सरकारले अन्तराष्ट्रिय क्षेत्रमा गरेको प्रतिवद्धता पुरा गर्नुका साथै मानव विकास सुचकाङक र सामाजिक प्रतिष्ठामा बद्दोत्तरी गर्न साक्षर घोषणा कार्यक्रमको महत्व रहेको बताउनुभयो ।

उहाँले सामान्य साक्षर भएकाको थप सिकाईका लागि निरन्तर कक्षा सञ्चालन गरिने समेत जानकारी दिनुभयो । बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठ र रघुगंगा गाउँपालीकाका अध्यक्ष भबहादुर भण्डारीले वडा र नगर तथा गाउँपालीकालाई साक्षर घोषणा गर्ने अभियानलाई प्राथमिकता दिने बताउनुभयो ।

प्रदेश नम्बर ४ अन्तरगत म्याग्दी र पर्वतलाई मात्र साक्षर घोषणा गर्न बाँकी छ । जिल्ला समन्वय समितिका अध्यक्ष देवेन्द्रबहादुर केसीले जिल्ला अनौपचारीक शिक्षा समितिको निर्णय कार्यान्वयनका लागि सबै स्थानीय तह र सरोकारवालाहरुले सहयोग गर्नुपर्ने बताउनुभयो । जिसस प्रमुख केसीको अध्यक्षता, जिशिख श्रेष्ठको स्वागत र अनौपचारीक शिक्षा केन्द्रका उपनिर्देशक गैरेले सहजिकरण गर्नुभएको कार्यक्रमको शाखा अधिकृत रुद्र भट्टराईले सञ्चालन गर्नुभएको थियो ।