सन्तोष गौतम /विकल्प न्यूज
म्याग्दी कार्तिक ५ गते ।
आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि आईतबार म्याग्दीमा राजनीतिक दल र स्वतन्त्र उमेद्वारहरुले उत्साहजनक रुपमा मनोनयन दर्ता गरेका छन् । प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ २ निर्वाचन क्षेत्र रहेको म्याग्दीको बेनी स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रुपमा मनोनयन दर्ता भएको हो । प्रतिनिधि र प्रदेशसभातर्फ १८ जनाले उमेद्वारी दर्ता गराएका छन् ।
तालमेल गरी मनोनयनपत्र दर्ता गराएका उमेद्वारहरु बाजागाजा र कार्याकर्ताको ¥याली सहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । म्याग्दीमा नेकपा एमाले र माओवादी केन्द्र तथा नेपाली काँग्रेस र राप्रपाले तालमेल गरेर उमेद्वारी दर्ता गराएका छन् । प्रतिनिधिसभामा नेपाली काँग्रेसका खम्बिर गर्बुजा, नेकपा एमालेका भुपेन्द्रबहादुर थापा, राप्रपा (प्रजातान्त्रीकका) रुपनारायण श्रेष्ठ, राप्रपा एकिकृतका रामबहादुर शाही, मंगोलियन नेशनल अर्गनाईजेशनका रनबहादुर फगामी, राष्ट्रिय जनमुक्ती पार्टीका तिलकबहादुर थापा र राष्ट्रिय जनमोर्चाका फौजबहादुर कार्कीले उमेद्वारी दिएका छन् । यसैगरी प्रदेशसभाको क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका बिनोद केसी, राप्रपाका भिमप्रसाद गौचन, राप्रपा प्रजातान्त्रीकका बलबहादुर सुनार, स्वतन्त्र उमेद्वार नेत्रबहादुर महत, कर्णबहादुर भण्डारी (केबी) र केपी अधिकारीले उमेद्वारी दर्ता गराउनुभएको छ । चुनावी तालमेलका क्रममा राप्रपालाई सघाउने पार्टीको निर्णयको बिरोध गर्दै नेपाली काँग्रेसका नेता महत र भण्डारीले स्वतन्त्र उमेद्वारी दर्ता गराउनुभएको हो । माओवादीसंग तालमेल गर्ने एमालेको निर्णयमा असहमती जनाउँदै एमाले निकट अधिकारीले उमेद्वारी दर्ता गर्नुभएको हो ।
प्रदेशसभाको क्षेत्र नम्बर २ मा नेकपा एमालेकी नरदेवी पुन, नेपाली काँग्रेसका अमलाल फगामी, राप्रपा प्रजातान्त्रीकका तिलाराम दमै, राष्ट्रिय जनमोर्चाका रमेशकुमार पुनले उमेद्वारी दर्ता गर्नुभएको छ । बिहान दश बजेदेखि मनोनयन दर्ता गर्ने कार्यतालीका सार्वजनिक भएपनि राजनितिक दलहरु दिउँसो २ बजेपछि मात्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । मनोनयन दर्तापछि आयोजित कोणसभामा बाम गठबन्धनको प्रतिनिधिसभाका उमेद्वार थापा, प्रदेशसभा क्षेत्र न. १ का केसी र प्रदेस सभा २ का उमेद्वार नरदेवी पुनले संबिधानको पूर्ण कार्यान्वयन, राजनितिक स्थिरता, विकास र सम्बृद्धीका लागि एमाले, माओवादीलाई मतदान गर्न आग्रह गर्नुभयो ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार आगामी निर्वाचनका लागि म्याग्दीमा ७५ हजार ५३८ जना मतदाता रहेका छन् । जिल्लाभर ७२ मतदान स्थल र १०२ मतदान केन्द्र छन् । बेनी नगरपालीका, रघुगंगा र अन्नपूर्ण गाउँपालीका समावेश भएको प्रदेशसभाको क्षेत्र नम्बर १ मा ४२ हजार ९९३ र मंगला, मालीका र धौलागिरी गाउँपालीका समावेश भएको प्रदेशसभाको क्षेत्र नम्बर २ मा ३२ हजार ५४५ जना मतदाता रहेका छन् । तस्विरहरु ठाकुरप्रसाद आचार्य