म्याग्दीमा प्रदेशसभाको क्षेत्र नं १ वाम गठबन्धनबाट बिनाेद केसी उमेद्वार बन्ने

सन्तोष गौतम । विकल्प न्युज
बेनी ३ कात्तिक ।Binod KCआगामी मंसिर १० गते पहिलो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन हुने ३२ जिल्लामा चुनावी तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रले सिट बाँडफाँड टुङ्ग्याएका छन् ।

३२ जिल्लाको प्रतिनिधिसभातर्फको ३७ मध्य एमालेले २१ र माओवादी केन्द्रले १६ स्थानमा तालमेल गरेर उमेद्वारी दिने भएका छन् । यस्तै प्रदेशसभाको ७४ सिट मध्य एमालेले ४१ र माओवादीले ३३ क्षेत्रमा उमेद्वारी दिने भएका छन् ।

म्याग्दीको प्रतिनिधिसभा र प्रदेशसभाको क्षेत्र नम्बर २ एमालेको भागमा परेको छ भने प्रदेशसभाको क्षेत्र नम्बर १ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रले उमेद्वारी दिने भएको छ । मुस्ताङको एक प्रतिनिधिसभा र २ वटा प्रदेशसभामा एमालेले उमेद्वारी दिने भएको छ ।
प्रतिनिधिसभाको बागलुङ क्षेत्र नम्बर १ मा एमाले र २ मा माओवादी केन्द्रले पाएका छन् । एमालेले प्रदेशसभाको बागलुङ १ (क) र २ (ख) तथा माओवादी केन्द्रले १ (ख) र २ (क)मा तालमेल गरेर उमेद्वारी दिने सहमती गरेका छन् ।

प्रतिनिधिसभातर्फ १ र प्रदेशसभा तर्फ २ वटा निर्वाचन क्षेत्र रहेको छिमेकी जिल्ला पर्वतमा भने दोस्रो चरणमा मंसिर २१ गते चुनाव हुदैछ । बेनी नगरपालीका, रघुगंगा र अन्नपूर्ण गाउँपालीका समावेश भएको प्रदेशसभाको क्षेत्र नम्बर १ मा ४२ हजार ९९३ र मंगला, मालीका र धौलागिरी गाउँपालीका समावेश भएको प्रदेशसभाको क्षेत्र नम्बर २ मा ३२ हजार ५४५ जना मतदाता रहेका छन् ।

प्रतिनिधिसभातर्फ एमालेबाट बैकल्पीक केन्द्रिय सदस्य भुपेन्द्रबहादुर थापा र जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ मध्य एक जनाले टिकट पाउने सम्भावना छ भने प्रदेशको क्षेत्र नम्बर २ मा पुर्व सांसदद्धय नरदेवी पुन र नवराज शर्मा उमेद्वार बन्ने सम्भावना छ ।

प्रदेशसभाको क्षेत्र नम्बर १ मा माओवादी केन्द्रले युवा नेता बिनोद केसीलाई उमेद्वार बनाउने भएको छ । माओवादी केन्द्रको बेनी नगरकमिटि सचिव समेत रहेका बेनी बजार निवासी नेता केसी सहीद परिवारका सदस्य हुन् । दन्द्धकालमा उहाँका दाजु मदन केसीको तत्कालीन राज्यपक्षद्धारा हत्या भएको थियो ।

यातायात, मेसीनरी र निर्माण व्यवसायमा संलग्न केसी माओवादीमा युवा नेताको रुपमा लोकप्रिय रहेका छन् । माओवादी केन्द्रको केन्द्रिय समितिको बैठकले केसीलाई सर्वसम्मत उमेद्वार बनाउने निर्णय गरेको नेता शेरबहादुर केसीले जानकारी दिनुभयो ।