पर्यटकीय गन्तव्य बन्दै झिँ

घनश्याम खड्का /बेनी
कार्तिक १ गते ।

jhi photoधौलागिरि सेन्चुरी पदमार्गको प्रवेशद्वार रघुगंगा गाउँपालिकाको झिँ पर्यटकीय गन्तव्य बनेको छ । नयाँ पदमार्गमा होटल, बाटोको विस्तार, खानेपानीको व्यवस्था, होमस्टेजस्ता पूर्वाधारले पर्यटकलाई आकर्षण गर्न लागिएको हो ।

गाउँलाई पर्यटन प्रवद्र्धन समूह र उद्योग वाणिज्य संघको अगुवाइमा नेपाल सरकारले होमस्टे बस्तीसमेत घोषणा गरिसकेको छ । फराकिलो बाटो र खानेपानीको प्रबन्ध मिलाइएको छ । ‘पदमार्गमा खाने बस्ने ठाउँ नभएकाले पर्यटक आएनन् भन्ने सुनेपछि घरमा छुट्टै कोठा, ओढ्नेओछयाउने, खानेकुरा र पकाउने तरिकामा सुधार गरी होमस्टे थालेका हौं,’ झिँकी सामाजिक अगुवा चुमाया थजालीले भनिन्, ‘हिजाआज फाट्टफुट्ट पर्यटक र उनीहरूका सहयोगीहरू बास बस्न थालेका छन् । बिस्तारै पर्यटक बढ्लान् भन्ने आशा गरेका छौं ।’ आँखैमा टाँसिन आउने धौलागिरि हिमालको काखमा रहेको मगर बहुल बस्ती झिँ पुगेका पर्यटक रमाएर फर्कने गरेका उनले बताए । बाक्लो बस्तीमा लोभलाग्दो सफा र चिटिक्का परेका बाटो, धारा र घरहरूले पर्यटकलाई लोभ्याउने गरेको छ ।

उद्योग वाणिज्य संघसँगको सहकार्यमा स्थानीयवासीले होमस्टे सञ्चालन गरेका हुन् । स्थानीयवासीले पर्यटकका लागि आधारभूत खानाका परिकारसहित रैथाने अर्गानिक खाद्यान्नको परिकारले स्वागत गर्ने गरेका छन् । परम्परागत घरमा छुट्टै कोठा, बेड थप गरी पर्यटकका लागि सुविधा थपेका छन् । ढुंगामाटोले बनेका परम्परागत घर, आँगनको छेवैमा उभ्याइएका मकैका थाँक्राले गाउँको आकर्षण थपेको छ । १ सय ८० घरपरिवार बस्ने झिँका सबै घरमा पक्की शौचालय, भाँडा धुने सफा जुठेल्नो र शुद्ध खानेपानीको सुविधा छ ।

प्रत्येक घरमा घरायसी फोहोर व्यवस्थापनका लागि खाडल र चोकचोकमा डस्टबिन राखिएका छन् । बालबालिकाहरूले समेत नकुहिने फोहोरलाई यहीँ राख्छन् । झिँ पुग्न सदरमुकाम बेनीबाट माइक्रो बस, जिपबाट दुई घण्टामा पुग्न सकिन्छ । पैदल यात्रा गर्न बेनीबाट उत्तरपश्चिम गलेश्वर सल्लेरी हुँदै चार घण्टामा पुग्न सकिन्छ । धौलागिरि सेन्चुरी पदमार्गमा पर्ने झिँ साँस्कृतिक पर्यटनको पनि गन्तव्य हो ।

परम्परागत मगर वेशभूषा, नृत्य हेर्ने चाहने पर्यटकका लागि आमा/बाबा समूह तयारी अवस्थामा हुन्छन् । रोधीमा रस भएका आन्तरिक पर्यटकका लागि स्थानीय आमा समूहलाई निश्चित शुल्क बुझाएर रातमा रोधी/दोहोरी गाउन पाइन्छ । अर्गानिक तरकारी, च्याउ, सिस्नु, सिमी र रैथाने बोकाको मासु उपलब्ध छन् । ‘दुई वर्षअघि मात्र धौलागिरि सेन्चुरी पदमार्गको पहिचान गरी नक्सा बनाउने, पदमार्गमा पर्यटन पूर्वाधार निर्माण गर्ने काम भइरहेको छ । धौलागिरि सेन्चुरी कुमारी पदमार्ग हो,’ उद्योग वाणिज्य संघका महासचिव राजेश शाक्यले भने, ‘पर्यटन पूर्वाधारका लागि सामुदायिक तथा व्यक्तिगत लगानीमा प्रोत्साहन गर्ने र आवश्यक तालिममा सहकार्य गरिरहेका छौं ।’ साभार कान्तिपुर अनलाइन