दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा फार्मेसी सेवा सुरू

सन्तोष गौतम \ विकल्प न्युज
म्याग्दी २६ असोज । Darbang PHC (1)म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रले फार्मेसी सेवा सुरु गरेको छ ।
मालीका गाउँपालीकाको केन्द्र दरवाङ बजारमा रहेको केन्द्रले सेवाग्राहीलाई सुपथ मूल्यमा औषधी बिक्री गर्न फार्मेसी सञ्चालनमा ल्याएको हो । स्वास्थ्य केन्द्रले फार्मेसी सञ्चालन गरेपछि औषधी खरिदका लागि निजी किल्नीकमा जानुपर्ने बाध्यता हटेको छ ।

सरकारले निशूल्क वितरण गर्ने बाहेकका औषधीहरु फार्मेसीमा उपलब्ध रहेको छ । फार्मेसी सञ्चालन भएपछि स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयनमा पनी सहज हुने प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर राजेन्द्र पौडेलले बताउनुभयो ।

बेनी अस्पतालमा गत वर्षदेखि फार्मेसी सञ्चालनमा आएको थियो । सदरमुकाम बाहिरका स्वास्थ्य संस्थामा फार्मेसी सञ्चालन गर्नेमा दरवाङ प्राथमिक स्वास्थ्य केन्द्र पहिलो भएको छ । स्वास्थ्य बिमा कार्यक्रमका लागि म्याग्दीमा बेनी अस्पताल र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्र सेवा प्रदायक स्वास्थ्य संस्था रहेका छन् ।

केन्द्रले केही समय अघि एक्सरे र ईसिजी सेवा समेत सञ्चालनमा ल्याएको थियो । सरकारी स्वास्थ्य संस्थामा उपकरण, जनशक्ति र सेवा विस्तार भएपछि म्याग्दीको पश्चिमी क्षेत्रका बासिन्दालाई राहत मिलेको छ । हाल सो स्वास्थ्य केन्द्रमा तिन जना चिकित्सक कार्यरत छन् । दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट मालीका, धौलागिरी र मंगला गाउँपालीकाका बासिन्दाले सेवा लिने गरेका छन् ।