म्याग्दीका सिफारिस उम्मेदवार विच रस्साकस्सी – कसले मार्ला बाजी ?

विकल्प न्यूज/बेनी
असोज २४ गते । myagdi ma Nc cpnuml

म्याग्दीमा क्रियाशिल राजनीतिक दलहरु आसन्न संघ र प्रदेशको निर्वाचनको तयारीमा जुटेका छन् । २०७४ बैशाख ३१ गते पहिलो चरणमा स्थानीय तह निर्वाचन भएको म्याग्दीमा आगामी मंसिर १० गते पहिलो चरणमा संघ र प्रदेशको चुनाव हँुदैछ् । एक नगरपालिका, पाँच गाउँपालिका र ४५ वटा वडा रहेको म्याग्दीमा प्रदेशसभाका लागि दुई तथा संघका लागि एक वटा निर्वाचन क्षेत्र कायम भएको छ ।Congress_Uml_mao_three_party_1चुनावलाई लक्षित गरी नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा (माओवादी) केन्द्रले उमेद्वार सिफारिससंगै कार्यकर्ता भेटघाट, भेला, बैठक र संगठन परिचालनलाई तिब्रता दिएका छन् । सम्भावित उमेद्वारको नाम सिफारिस गरिसकेका दलहरुले चुनावी रणनीति तय गर्न र सिफारिसमा परेका नेताहरुले टिकटका लागि पार्टी केन्द्रमा लविङ गर्न गरेका छन् ।

नेपाली काँग्रेस,नेकपा एमाले र माओवादी केन्द्रले प्रत्यक्ष र समानुपातीक तर्फका उमेद्वार छनौट गरी पार्टी केन्द्रलाई सिफारिस गरेका छन् । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पार्टी सभापति खम्बीर गर्बुजा र यूवा नेता अमृतमान शेरचनको नाम सिफारिस भए पनि खम्बीर गर्बुजा नै चुनावी मैदानमा उत्रिने लगभग पक्का भएको छ ।

यसैगरी, प्रदेशसभामा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षमा सांसद रेशमबहादुर बानियाँ, नेत्रबहादुर महत र केबी भण्डारीलाई सिफारिस गरिको भएपनि पछिल्लो समय काँग्रेसका राजनीतिमा उदाएका केवी भण्डारीले नै टिकट पाउने बताइएको छ । पार्टी केन्द्रमा राम्रो पहुँच भएकाले भण्डारीको नै निश्चित जस्तै भएको एक नेताले बताए । टिकटको मूख्य दावेदार सभासद बानियाँलाई राष्ट्रियसभामा लैजाने भित्री सहमति भएको उनले खुलासा गरे । काँग्रेसको बलियो पकड भएको प्रदेश १ मा केवीलाई टिकट दिएमा जित्न सकिने काँग्रेसको अनुमान छ ।

प्रदेशको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फको उम्मेदवारमा क्याप्टेन अमलाल फगामीको एक्लो नाम सिफारिस गरिएकोले फगामी गाउँमा चुनावी अभियानमा जुटिसेका छन् ।

काँग्रेस म्याग्दीले प्रतिनिधि सभाको समानुपातीकतर्फ सचिव मिनबहादुर कार्की, बिमला गौचन, त्रिलोकचन्द्र विश्वासको नाम सिफारिस गरेको छ भने प्रदेशतर्फ क्षेत्र नम्बर १ बाट समानुपातीक उम्मेदवारमा मुकुन छन्त्याल, मन कुमारी विश्वकर्मा र रविन्द्र गर्बुजाको नाम सिफारिस गरिएको छ । प्रदेशको २ नम्बर निर्वाचन क्षेत्रबाट समानुपातीक तर्फ तमबहादुर थापा, डिलबहादुर केसी, दिर्घबहादुर सुनार, कमरा कामी पटेल, उदिम बहादुर पुनको नाम केन्द्रीय समितिमा पठाइएको छ । पार्टी केन्द्रलाई समानुपातिकको लामै सूची बुझाएपनि बन्द सूचीमा म्याग्दीबाट पर्ने संभावना भने न्यून देखिएको काँग्रेसका नेताहरु बताउँछन् ।

यस्तै बाम तालमेल गरेको नेकपा एमाले जिल्ला कमिटि बैठकले प्रत्यक्ष र समानुपातीक तर्फका उमेद्वार सिफारिस गरेका मध्य प्रतिनिधिसभाका लागि वैकल्पीक केन्द्रिय सदस्य भुपेन्द्र थापा बलिया देखिएका छन् । अध्यक्ष हरिकृष्ण श्रेष्ठ र थापा विच सहमति नजुटेपछि आकांक्षीहरु सवैको नाम केन्द्रमा सिफारिस गरेको एमाले प्रतिनिधिसभाको उम्मेदवार भनेर किटान नगरि प्रदेशसभाका उम्मेदवार बाट नै सिफारिस गर्ने गरि केन्द्रमा सूची पठाएको हो ।

प्रदेशसभाको क्षेत्र नम्बर १ को प्रत्यक्षतर्फ बैकल्पीक केन्द्रिय सदस्य थापा, जिल्ला अध्यक्ष श्रेष्ठ, सचिव बालकृष्ण सुवेदी, सन्तोष रावल, तर्क केसी, प्रेमबहादुर कार्की, नारायण जिसी र लोकबहादुर भण्डारीको नाम सिफारिस गरेको थियो । पार्टी भित्र गुटउपगुट मौलाएको एमालेले यसअघि स्थानीय निर्वाचनमा पनि सर्वसम्मत उम्मेदवार छनौट गर्न नसक्दा पार्टी पराजित भएको थियो ।

प्रदेशसभाको क्षेत्र न. २ को प्रत्यक्षतर्फ सांसद नवराज शर्मा, सांसद नरदेवी पुन, बलभद्र ढकाल, याम गर्बुजा र रेशम भण्डारीलाई सिफारिस गरिएको भएपनि सांसद पुन नै उम्मेदवार हुने भद्र सहमति भएको एक नेताले बताए । वाम गठबन्धनमा २ नम्बर क्षेत्र माओवादी केन्द्रको भागमा पर्न सक्ने अनुमान पनि चलेको छ ।

यसै गरि प्रतिनिधिसभाको समानुपातीकतर्फ मुना बानियाँ, केपी अधिकारी, देउप्रसाद छन्त्याल, कृष्णकुमार बिक, होमबहादुर थापा र यसोदा रोका तथा प्रदेशतर्फ धनबहादुर गुरुङ, यामबहादुर खड्का, शंकर शेरचन, प्रेमप्रसाद रेग्मी, तेजबहादुर गुरुङ, पशुपती शाही, मिठु थापा र बिष्णु गुरुङको नाम सिफारिस भएको छ । सिफारिस भएका मध्ये प्रतिनिधि र प्रदेशसभाको वन्द सूचीमा भने मुना वानियाँ,कृष्ण कुमार विक र तेज वहादुर गुरुङ पर्ने सक्ने संभावना रहेको एमाले नेताहरु बताउँछन् ।

केन्द्रिय स्तरमा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले पार्टी एकिकरण र चुनावी तालमेल गर्ने सहमती गरेका छन् । तालमेल अनुसार म्याग्दीमा पनि एमाले माओवादीले एक अर्कालाई सहयोग गर्नेगरी उमेद्वारी दर्ता गर्नुपर्ने अवस्था आउन सक्छ । कुन निर्वाचन क्षेत्रमा कुन दलले उमेद्वारी दिने भन्ने विषयमा तिन दलको केन्द्रिय स्तरबाट गृहकार्य भैरहेको छ ।
नेकपा माओवादी केन्द्र म्याग्दीको असोज १० गते बेनीमा केन्द्रिय कार्यालय सदस्य अमिक शेरचनको आतिथ्यतामा बसेको बैठकले प्रत्यक्ष र समानुपातीक तर्फका उमेद्वारको नाम प्रदेश र केन्द्रिय कमिटिमा सिफारिस गरीसकेको छ ।

संघको प्रत्यक्षतर्फ जिल्ला संयोजक तथा पुर्व सभाषद् गोविन्द पौडेल, खुमनाथ सुवेदी र चन्द्रबहादुर घिमीरेलाई सिफारिस गरिएको सचिवालय सदस्य शेरबहादुर केसीले जानकारी दिनुभयो । यसैगरी समानुपातीकतर्फ विश्व सेन मल्ल र यामन रोकाको नाम सिफारिस भएको छ । प्रदेश सभाको क्षेत्र नम्बर १को प्रत्यक्षतर्फ सुवास बिक, हरि भण्डारी, ठगराज पुन (प्रदिप), २ मा पुनम खड्का, याम रोका र राजेन्द्र शेरचनलाई सिफारिस गरिएको छ ।

प्रदेशको समानुपातीकतर्फ क्षेत्र नम्बर १ बाट ईन्द्रबहादुर पुन, हेमा छन्त्याल र लालकुमारी पुन तथा क्षेत्र नम्बर २ बाट टेकबहादुर बिक र होमलाल पुनको नाम सिफारिस भएको छ । जिल्ला ईञ्चार्ज मानबहादुर बुढाको नेतृत्वमा जिल्ला तथा क्षेत्र नम्बर १ मा बिनोद केसी र २ मा देवराज सुवेदीको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन भएको छ । वामतालमेलमा म्याग्दीको प्रतिनिधिसभामा माओवादी केन्द्रले पाउने भए नेता अमिक शेरचन आउन सक्ने संभावना वलियो देखिएको छ । भने पोलिव्युरो सदस्य एवम भूपू सांसद गोविन्द पौडेल अघि सर्ने भन्ने पनि चर्चा हुनथालेको छ ।

आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि म्याग्दीमा साढे पचहत्तर हजार जना मतदाता कायम भएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार कुल ७५ हजार ५३८ जना मध्य ३९ हजार ४३५ जना महिला र ३६ हजार १०२ जना पुरुष मतदाता रहेका छन् । वि.स २०७४ साउन मसान्तसम्म तस्विर सहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मध्य अठार वर्ष उमेर पुरा भएकाहरुको नाम समावेश रहेको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले बताउनुभयो ।

सबैभन्दा बढी बेनी नगरपालिकामा १९ हजार ६०५, रघुगंगा गाउँपालिकामा १२ हजार ३७३, मंगला गाउँपालिकामा ११ हजार ५८८ जना मतदाता रहेका छन् । यसैगरी मालीका गाउँपालिकामा ११ हजार ३१४, अन्नपूर्ण गाउँपालिकामा ११ हजार १५ र धौलागिरी गाउँपालिकामा नौ हजार ६४३ जना मतदाता छन् ।

गत बैशाख ३१ गते पहिलो चरणमा स्थानीय तह निर्वाचन भएको म्याग्दीमा ७१ ह्जार ४६३ जना मतदाता रहेकोमा ४८ हजार ३१८ जनाले मतदान गरेका थिए । स्थानीय तह निर्वाचनपछि मृत्यु भएका र बसाईसराई गरेकाको नामावली हटाउँदा तथा छुटेका र नया थपिएकालाई समावेश गर्दा चार हजार ७५ मतदाता थपिएका छन् ।

म्याग्दीमा प्रदेशसभाका लागि २ र प्रतिनिधिसभाका लागि १ वटा निर्वाचन क्षेत्र कायम भएको छ । बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिका प्रदेश सभाको क्षेत्र नम्बर १ तथा मंगला, मालीका र धौलागिरी गाउँपालिका क्षेत्र नम्बर २ मा समावेश भएका छन् । जिल्लामा ४५ वटा वडा रहेका छन् ।