विकल्प न्यूज/बेनी
असोज १२ गते । नेपालीहरुले मनाउने महान पर्व दसैं सुरु भइसकेको छ । दसै नेपाली समाजमा एक संस्कृतिका रुपमा स्थापीत भएको छ । दसैंले गर्दा गाउँघर,सहरबजारमा चहलपहल वढेको छ । रोजगारीको लागि विदेशिएका नेपालीहरु पनि दसैं मनाउन स्वदेश फर्किएका छन् । दसैंमा आफ्ना आफन्तजनहरुसँग भेटघाट गर्ने, दुःख भुलेर रमझम गर्ने तथा मीठोमसिनो खाने र नयाँ कपडा लगाउने चलन छ ।
दसैंलाई जुनसुकै वर्गका व्यक्तिहरु पनि हर्षोल्लासपूर्वक मनाउन चाहन्छन् । विशेष गरी आफन्तजनहरुसँग भेटघाट गरेर रमाइलोपूर्वक मनाउने यो चाडमा घरबाहिर काम गर्न पुगेकाहरु घर फर्कने गर्दछन् । नेपालीहरु पनि छिमेकी देश भारतदेखि अन्य मुलुकहरुमा रोजगारीमा पुगेका हुन्छन् । उनीहरु पनि दसैंलाई लक्षित गरेर घर फर्किरहेका छन् । विभिन्न कारणले दसैंमा घर फिर्ती हुननसक्नेहरुका लागि भने दसैं खल्लो हुने गर्दछ । साथै आर्थिक अवस्था कमजोर भएकाहरुलाई पनि दसैं दशा बनेर आउने गर्दछ । दसैं हिन्दु धर्मालम्बीहरुको साझा चाड हो । अधिकांश नेपालीहरुले मनाउने भएकाले पनि सरकारले दसैंमा लामो विदा दिने गरेको छ । दसैंमा वर्ष दिनको कामबाट केहीदिन भएपनि फुर्सद, पारिवारिक जमघट, इष्टमित्र साथीभाईसँगको भेटघाट, मिठो खाने, राम्रो लगाउने चाडको रुपमा नेपालीले मनाउँदै आएको चाड हो । झण्डै ८० प्रतिशत हिन्दु धर्मावलम्वीहरु रहेको हाम्रो देशमा परम्परागत रुपमा दसैं विशेष महत्व रहेको छ ।
हिन्दु धर्ममा दसैंलाई रावणमाथि रामको अर्थात् असत्यमाथि सत्यको विजयको रुपमा मनाउने पर्वको रुपमा लिइन्छ । तथापी कृषि प्रधान देश नेपालमा कृषि कार्यबाट कृषकहरुले फुर्सद पाउने यो समयमा दसैं मनाउनुको छुट्टै महत्व छ । वर्षभरि आ–आफ्नो काममा व्यस्त रहनुपर्ने भएकोले दसैंको बिदाले मानिसहरुलाई केही भएपनि राहत दिएको छ । दसैंको चहलपहलसँगै पर्यटकीय क्षेत्रहरुमा पर्यटकहरुको चहलपहल बढेको छ । दसैंले आर्थिक क्षेत्रलाई गतिशिल बनाएको छ ।
दसैं एकताको प्रतिक भएकाले पनि नेपालीहरु विच नयाँ एकता कायम होस् । दसैं मनाउन नसक्नेहरुका लागि दसैं मनाउने वातावरण बनोस् । यतिखेर स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । अव मंसिर १० र २१ मा संघ र प्रदेशको निर्वाचन हुँदै छ । यसले संविधान कार्यान्वयनको बाटो खुलेको छ ।
दसैं पर्वले समृद्ध नेपाल बनाउने लक्ष्य पुरा गर्न सवै राजनीतिदलहरुमा एकता पैदा होस् । मुलुकलाई आर्थिक समृद्धि बनाउन सकेमात्र सवै नेपालीहरुले दसैंलाई दसैंका रुपमा मनाउन पाउने वातावरण बन्न सक्थ्यो । नत्र कमजोर परिवारका लागि दसैं कष्टकर र दशा हुन सक्छ । नयाँ संविधान घोषणा भएको एक वर्ष पुगेको छ ।
संविधान कार्यान्वयनमा केही जटिलता थपीएको छ । यो वर्षको विजयादशमीले नयाँ संविधान कार्यान्वयनमा सवै नेपालीहरुको एकताको वातावरण तयार पार्न सहयोग पुगोस । नयाँ संविधान पूर्ण रुपमा कार्यान्वयन हुँदै देशले आर्थिक, सामाजिक सम्वृद्धिको बाटो समात्न सकोस् बिजयादशमी–२०७४ को उपलक्ष्यमा सवै नेपाली दाजुभाई दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ।