बिममा विद्युतीकरण गरिएपछि स्थानीयवासी उत्साहित

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २८ भदौ ।
म्याग्दीको मालीका गाउँपालिका ७ बिम गाउँमा विद्युतीकरण गरिएको छ । नेपाल विद्युत प्राधीकरण बेनी वितरण केन्द्र र स्थानीय बासिन्दाको पहलमा बिम गाउँमा विद्युतीकरण गरिएको हो ।

परिक्षण सफल भएपछि बुधबार दिउँसोदेखि बिममा केन्द्रिय प्रशारण लाईनको नियमित विद्युत आपूर्ती हुन थालेको वडा अध्यक्ष रेशम जुग्जाली (सुबिन)ले जानकारी दिनुभयो । पहिलो चरणमा १८५ घरमा विद्युत सुबिधा पुगेको उहाँले जानकारी दिनुभयो ।

Bima Bijuliसाबिक बिम गाविसको ६ र ७ नम्बर वडाको पुरै, १, २, ३, ४ र ५ नम्बर वडाको केही भागमा विद्युतीकरण गरिएको हो । दसै पछि औपचारीक कार्यक्रम गरेर विद्युतीकरण योजनाको उद्घाटन गरिने वडा अध्यक्ष जुक्जालीले बताउनुभयो ।

वडाका अन्य बस्तीहरुमा पनी केन्द्रिय लाईनको विद्युत सुबिधा विस्तारका लागि प्राथमिकता दिएको उहाँले बताउनुभयो । विद्युतीकरणका लागि उपभोक्ताले प्रतिघर सात हजार रुपैयाका दरले १२ लाख ९५ हजार रुपैया संकलन गरेका थिए । जिल्ला समन्वय समितिले गत आर्थिक वर्षमा २८ वटा पोल उपलब्ध गराएको थियो ।

नेपाल विद्युत प्राधिकरणले मुख्य प्रशारण लाईनको पोल, तार र ट्रान्सफर्मर उपलब्ध गराएको थियो । उपभोक्ताबाट संकलित रकमबाट शाखा लाईनको तार र पोल खरिद गर्ने, तार तान्ने तथा वाईरीङको काम गरिएको थियो ।

सरकारी निकायको अनुदान पर्खीदा ढिलाई हुने भएकाले आफै रकम उठाएर विद्युतीकरण योजना सम्पन्न गरेको उपभोक्ताले बताएका छन् । बिमका बासिन्दाले यसअघि उल्यालोका लागि लघुजलविद्युत परियोजनाको विद्युत र सोलार प्रयोग गर्दै आएका थिए ।

विद्युतीकरपछि नियमित विद्युत आपूर्ती हुने र स्थानीय बासिन्दाको दैनिकी सहज हुने वडा सदस्य वुद्धीबहादुर जुक्जालीले बताउनुभयो । उज्यालोका साथै टेलीभिजन हेर्न, कम्प्युटर, ल्यापटप चलाउन, मोवाईल चार्ज गर्न, खाना पकाउन, रेडियो सुन्न बिद्युत सुबिधा भएपछि सजिलो भएको छ । फर्नीचर, राईसमिल, कुखुरापालन आदी उद्योग व्यवसाय सञ्चालन गर्न सकिने भएपछि स्थानीय बासी उत्साहीत भएका छन् ।