म्याग्दी जिसस ः एमालेकै पक्षमा राप्रपा

विकल्प न्यूज/बेनी
साउन १५ गते ।
साउन २० गते हुने जिल्ला समन्वय समिति म्याग्दीको निर्वाचनमा निर्णायक शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टीले एमालेसँगको सहकार्यलाई निरन्तरता दिने भएका छन् ।

उम्मेदवारी दर्ताअघि उसले दुई ठुला शक्ति काँग्रेस र एमालेसँग मतदान गर्नुपर्ने अवस्था आउन नदिनका लागि समन्वयकारी भूमिका खेल्ने समेत उल्लेख गरेका छन् । ६ स्थानीय तह रहेको म्याग्दीमा समन्वय समितिको निर्वाचनमा स्थानीय तहमा निर्वाचित प्रमुख÷उपप्रमुख गरि १२ जनाले मतदान गर्नेछन् ।
वडाअध्यक्ष सहित वडा सदस्यहरु उम्मेदवार बन्न पाउने प्रावधान छ । ‘पहिलो कुरा त हामीले काँग्रेस र एमाले बीच सहमति होस् भन्ने चाहान्छौँ । gssसंयोजक/सहसंयोजक सहित ३/३ सदस्य काँग्रेस–एमालेलाई, हामीलाई २ सदस्य र माओबादीलाई १ सदस्य दिएर मिलौँ भन्ने हाम्रो बटमलाइन हो’, राप्रपाका जिल्ला अध्यक्ष बीरबहादुर थापा क्षत्रीले शनिबार रिखारको जिज्ञासामा भने, ‘यो विकल्प उत्तम विकल्प हो ।

मतदान नै गर्नुपर्ने अवस्था आए हामी स्वभाविक हिसाबमा एमालेको पक्षमा उभिन्छौँ ।’ एमालेसँगको सहकार्यले नतिजा कहाँ प्राप्त हुन्छ र ? थापाको सहज उत्तर छ, ‘राजनीतिक जोड घटाउमा गएपछि सबै बेला नतिजा हेरेर मात्रै हुदैन, निर्वाचन देखि हामी एमालेसँग सहकार्य गरेका छौँ, सहकार्य तोडिदैन् ।’ जिससमा मताधिकार भएका ६ स्थानीय तहका १२ जना मतदाता मध्ये ६ जना काँग्रेस, ५ जना एमाले र १ जना राप्रपाका छन् ।

एमाले–राप्रपा गठबन्धनबाट बेनी नगरपालिकाको उपप्रमुखमा निर्वाचित राप्रपाकी सञ्जु बरुवाल निर्णायक हुन् । राप्रपाले एमालेलाई नै समर्थन गर्दा पनि काँग्रेस र राप्रपा–एमाले गठबन्धनको बराबर ६/६ जना मतदाता हुनेछन् ।

काँग्रेसले अन्नपूर्ण र रघुगंगा गाउँपालिकामा प्रमुख÷उपप्रमुख दुबै र मालिका तथा बेनी नगरपालिकामा प्रमुख जितेको छ भने एमालेले धवलागिरि र मालिकामा प्रमुख÷उपप्रमुख दुबै र मालिकामा उपप्रमुख जितेको छ ।

बेनी नगरपालिकाको निर्वाचन मात्र नभइ एमालेले नगरपालिकाको नगर कार्य समितिमा आफ्नो उम्मेदवारलाई सघाएका कारण एमालेसँगको सहकार्यलाई भुल्न नसकिने राप्रपा अध्यक्ष थापाको जिकिर छ । ‘सहकार्यमै हामीले जिसस गठन गर्नुपर्छ ।

यहि उद्देश्यका साथ हामीले छलफललाई अघि बढाएका छौँ । तर, संयोजकै विषयमा काँग्रेस–एमालेको कुरा मिल्न सकेको छैन’, अध्यक्ष थापाले भने ।

निर्वाचनका मिति नजिकिँदै जाँदा निर्वाचनको माहोल पनि तातेको छ । काँग्रेस र एमाले भित्र उम्मेदवारको आकाँक्षी पनि देखिन थालेका छन् । काँग्रेसमा लोकबहादुर मल्ल र एमालेमा देवेन्द केसी आकाँक्षी देखिएका छन् । आजको रिखार दैनिकमा समाचार छ ।