कार्यालय समयमा वन कार्यालयका कर्मचारीले मापसे गरेर बितण्डा मच्चाए

सन्तोष गौतम/विकल्प न्यूज
बेनी ९ चैत ।
जिल्ला वन कार्यालय म्याग्दीका एक जना कर्मचारीले बुधबार कार्यालय समयमा मादक पदार्थ सेवन गरेर पदीय मर्यादा विपरीतको आचरण प्रस्तुत गरेका छन् ।

मापद पदार्थ सेवन गरेर कार्यालय पुगेका सहायक वन अधिकृत हिमलाल लामिछानेले अन्य कर्मचारी र सेवाग्राहीहरुलाई अपशब्द प्रयोग गरी गालीबेईज्यती गरेका हुन् । मदिराले लठ्ठीएर अभद्र शैलीमा होहल्ला गर्दै प्रस्तुत भएका लामिछानेको कारण कर्मचारी र सेवाग्राहीलाई काम गर्न अप्ठ्यारो परेको थियो ।

२०७३ माघ १७ गते नवलपरासीबाट सरुवा भएर आएका लामीछानेले यसअघि पनि मदिरा सेवन गरेर कार्यालयमा आएर दुःख दिएका थिए । उनी कार्यालयका सबै सहायक वन अधिकृतहरु मध्य बरिष्ठ हुन् । सरुवा भएर आएको २ महिना बितेपनि उनको कार्यक्षेत्र तोकीएको छैन् ।IMG_4548कार्यालय प्रमुखको निकट, सबैभन्दा बरिष्ठ कर्मचारी भएको, सेवानिवृत भई अमेरीका जान लागेकाले आफूलाई कसैले केही गर्न नसस्ने मदिराले लठ्ठीएका लामीछानेको भनाई थियो ।

यसैबीच जिल्ला वन कार्यालय म्याग्दीका प्रमुख बन अधिकृत सुखलालप्रसाद जयसवाल लामो समयदेखि कार्यालयमा उपस्थित नुहँदा कर्मचारी र सेवाग्राही पीडित भएका छन् । तालीम, गोष्ठि लगायत कार्यक्रमका लागि क्षेत्र, मन्त्रालय, बिभाग जाने बहानमा लामो समय घरमा गएर बस्ने गर्दा वन कार्यालयको योजना तथा कार्यक्रमहरु समेत प्रभावित बनेको कर्मचारीहरुले गुनासो गरेका छन् ।

कार्यालयमा हुँदा समेत जयसवालले प्रक्रिया पुरा भएको काम पनि अल्झाउने, झुलाउने गरेर दुख दिएको सेवाग्राहीहरुको गुनासो छ । प्रमुख नबस्दा वन कार्यालय अस्तव्यत र भद्रगोल बनेको त्यहाँका कर्मचारीहरुले बताएका छन् । रासन ठेक्काको टेण्डर मुल्याङ्कन दुई महिनासम्म हुन सकेको छैन् ।

टेण्डन मूल्याङ्नमा ढिलाई हुँदा कर्मचारीहरुले रासन सुबिधा नपाएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत गरेका छन् । प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले पदीय मर्यादा विपरीत आचरण देखाउने कर्मचारीलाई सम्बन्धित कार्यालय मार्फत स्पष्टिकरण सोध्ने र सचेत बनाउने बताउनुभयो ।

प्रजिअ पौडेलले वन अधिकृत जयसवाललाई कार्यकक्षमा पुगेका पत्रकारहरुकै अगाडी टेलीफोन गर्नुभएको थियो । प्रजिअलाई वन अधिकृत जयसवालले घर मर्मत गर्न बिदामा बसेको र केही दिनमै कार्यालयमा उपस्थित हुने प्रतिक्रिया दिनुभएको थियो । म्याग्दीमा पछिल्लो समय कर्मचारीहरु अराजक बन्दै जानथालेको सर्वसाधारणहरुले गुनासो गरेका छन् । जिल्ला प्रशासनले त्यस्ता कर्मचारीहरुलाई कुनै कारवाही नगरेको र उल्टै संरक्षण गर्ने गरेको सर्वसाधरणहरुको भनाई छ ।