ठाडाखानीको आयस्रोत बन्यो भेडापालन

विकल्प न्यूज/बेनी
चैत ९ गते ।
रघुगंगा गाउँपालिका ५ को ठाडाखानीका बासिन्दाले भेडापालनलाई गाउँको मुख्य आयस्रोत बनाएका छन् । साविकको पाखापानी गाविसको ५ र ६ नम्बर वडामा पर्ने ठाडाखानीका बासीन्दाको लागि भेडापालन जिविकोपार्जनको स्रोत बनेको हो । ९० घरधुरीको बसोबास रहेको ठाडाखानीमा ३० घरपरिवारले व्यवसायिक भेडापालन गरेको मालीका भेडापालन समूहका सचिव नरेश छन्त्यालले बताउनुभयो ।Thadakhani Bhedapalanगाउँमा हाल एक हजार ४०० भेडा रहेका छन् । एक जनाले १० वटादेखि ९० वटा सम्म भेडा पालेका सचिव छन्त्यालले बताउनुभयो । उहाँका अनुसार गाउँबाट वर्षमा तिन सय भन्दा बढी भेडा बिक्री हुने गरेको छ । एउटा भेडालाई दश देखि १५ हजार रुपैयाँ सम्ममा बिक्री हुने छन्त्यालले बताउनुभयो ।

सचिव छन्त्यालका अनुसार भेडा बिक्री गरेर ठाडाखानीमा वार्षिक तिस लाख रुपैयाँ भन्दा बढी भित्र्ने गरेको छ । उच्च पहाडी क्षेत्रमा अवस्थित ठाडाखानीको नजिकै प्रशस्त जंगल रहेकाले भेडाका लागि चरनको समस्या छैन् । चिसो हावापानीमा हुर्कीएका भेडाको मासु स्वादीलो र स्वथ्यकर हुने भएकाले ग्राहक गाउँमै पुग्ने गरेका छन् ।

म्याग्दी र पर्वतका विभिन्न ठाउँबाट बली चढाउनका लागि भेडा किन्न सर्वसाधारण ठाडाखानी पुग्छन् । बिम, दरवाङ र पाखापानीको सिमानामा पर्ने धार्मीक स्थल मालीकामा बली चढाउनेहरुले समेत ठाडाखानीबाटै भेडाको साँड किन्ने गरेका छन् ।

उनिहरुले घरकै खोरमा भेडा पाल्ने गरेका छन् । धेरै जसो ठाँउमा जंगलमै भेडाको गोठ राख्ने चलन छ । छोराछोरी पढाउन, घरखर्च चलाउनका लागि भेडापालन सहयोगी बनेको स्थानीय कृषक सोमबहादुर छन्त्यालले बताउनुभयो ।

हाल ३६ वटा भेडा पालेका उहाँले बर्षमा दश वटा सम्म बिक्री गर्नुहुन्छ । यसैगरी भेडाको उन काम्लो, डसना, हरदुब्लो लगायतका कपडा तयार पार्न प्रयोग हुन्छ । कतिपयले गाउँमै उनबाट सामान तयार गरेर बिक्री गर्छन । उन खरिद गर्न ब्यापारी गाउँमै समेत आउँछन् । प्रतिकिलो उन पचास रुपैयाका दरले बिक्री हुने गरेको छ ।

कृषकहरुमा व्यवसायिक ज्ञान, सिप तथा प्रबिधिमा पहुँच नहुँदा भेडापालन ब्यवस्थित बन्न भने नसकेको स्थानीय बासिन्दा मनबहादुर बुढाथोकीले बताउनुभयो । आन्तरीक तथा बाह्य परजिवि विरुद्धको औषधि, घाँस, उन काट्ने कैची, खोर व्यवस्थापन, डिपीङ टंकी र तालीमको आवश्यकता रहेको उहाँले बताउनुभयो ।
जिल्ला पशु सेवा कार्यालयले दुई वर्ष अघि ठाडाखानी लगायत रघुगंगा क्षेत्रका भेडापालक कृषकहरुलाई समूहमा आवद्ध गराएको थियो । समूह मार्फत औषधि, उपकरण र प्रबिधि सहयोग गरीने कार्यालयका प्रमुख बरिष्ठ पशु चिकित्सक मनबहादुर पुनले बताउनुभयो ।