यी हुन परिश्रमी युवाहरु

विकल्प न्यूज/बेनी
चैत ९ गते ।
बेनी नगरपालिका ८ जामुनाखर्कका दलित युवाहरुले जग्गा भाडामा लिएर व्यवसायिक तरकारी खेती सुरु गरेका छन् ।
पाँच जना युवाहरुले पन्ध्र रोपनी जग्गा भाडामा लिएर मौसमी तथा बेमौसमी तरकारी खेती गरेका हुन् । स्थानीय स्तरमै स्वरोजगार भई आयआर्जन गर्ने उद्देश्यले बेनपा ९ जम्रेनीमा खेत भाडामा लिएर तरकारी खेती सुरु गरेको कृषक घनश्याम सुनारले बताउनुभयो ।Dalit Youth Tarkari Khatiकतारमा तिन वर्ष काम गरेर फर्कीएका सुनारको नेतृत्वमा रहेको सो समूहमा सुवास विश्वकर्मा, अरुण रामदाम, भवीलाल बिक र सुसन बराईली आवद्ध छन् । “बिदेशमा दैनिक १८ घण्टा काम गर्नुभन्दा आफ्नै खेतबारीमा तरकारी फलाउदा फाईदा हुने देखेर तरकारी खेती सुरु गरेका हौ” सुनारले भन्नुभयो ।

वार्षिक २५ हजार रुपैयाँ तिर्नेगरी भाडामा लिएको खेतमा हिउँदे आलु, मुला र केराउ खेती गरेका उनिहरुले थप २५ रोपनी जमिन भाडाका लागि सम्झौता गर्ने तयारीमा छन् । सो जमिनमा गोलभेडा, बन्दा, काउली, गाजर, काँक्रो, भन्टा, खुर्सानी लगायतका तरकारी समेत खेती गर्ने योजना रहेको छ ।

उनिहरुको पहलमा गाउँमा व्यवसायिक कृषि पेशा अपनाउनेहरुलाई ऋण र बचत सुबिधाका लागि जामुनाखर्क कृषि सहकारी संस्था समेत स्थापना गरेका छन् । २५ जना कृषकहरु आवद्ध संस्थामा पाँच लाख रुपैया सेयर पुँजी रहेको छ ।

युवा पलायनलाई रोक्ने र दलित समुदायको आयआर्जन वृद्धिका लागि सहकारी मार्फत ब्यवसायीक तरकारी खेतीलाई विस्तार गरीएको संस्थाका सचिव सुवास विश्वकर्माले बताउनुभयो ।
सदरमुकाम बेनी बजार नजिकै रहेकाले जम्रेनीमा तरकारी खेतीको राम्रो सम्भावना भएको कृषकहरुले बताएका छन् । तरकारी खेतीका लागि व्यवस्थित सिचाई सुबिधाको आवश्यकता रहेको छ ।

उनिहरुलाई जिल्ला कृषि विकास कार्यालयले यस वर्ष ५० प्रतिशत अनुदानमा तिन वटा पलास्टीक टनेल उपलब्ध गराएको ज्यामरुककोट सेवा केन्द्रका नायव प्राबिधिक सहायक भुपेन्द्र योगीले बताउनुभयो ।