बेनी ‘कासन’को १२ वर्ष

नरेश ज्ञवाली/विकल्प न्यूज
चैत ७ गते ।

बेनी, उत्तरबाट पूर्व बग्दै गरेको कालिगण्डकी र पश्चिमबाट पूर्व बग्दै गरेको म्याग्दी खोलाको तिरमा बसेको बेनी बजार निकै सुन्दर छ । स्थानिय तथा व्यवसायीहरु आ–आफ्ना घर अघिल्तिर सरसफाई गर्दैछन् । बजार सुन्दर र सडकहरु चिल्ला छन् ।

त्यही सुन्दर बेनी बजारको दक्षिणतर्फ म्याग्दी खोला बग्दैछ, जसको तिरमा राज्यको औपचारिक बसाई छ । अर्थात सरकारी कार्यालयहरु त्यहीँ बसेका छन् । तिनै सरकारी कार्यालयको अघिल्तिर एउटा हार्डवेयर पसल छ । जसका सञ्चालक हुन लालु किसान ‘आकाश’ ।

नेपाली जनयुद्धका प्रतिनिधि पात्र किसानले थालेको हार्डवेयर पसललाई दाहिने पारेर आजभन्दा एक दशक अघि शाही नेपाली सेनाको कालीप्रसाद गण बस्थ्यो जसका कर्नेल थिए राजु नेपाली । आज नेपाली सेनाको गणका स्थानमा गुल्म आएको छ । श्रीबक्स गुल्म उनलाई अघिल्तिर पारेर बसेको छ जसका गुल्मपति रमेश गुरुङ छन् ।beni aatackतत्कालिन शाही नेपाली सेनाको नाम फेरीयो, यहाँ बस्ने गण फेरीयो, त्यसका गणपति फेरिएर, किसानले पनि आफ्नो भूमिका फेरे । तर के किसानले त्यो फेर्न सफल भए ?, जसका लागि उनले आज भन्दा १२ बर्ष अघि २०६० चैत्र ७ को राति आफ्ना सहयोद्धा कमाण्डरहरुलाई लडाईको मोर्चामा कासन दिएका थिए– ‘हाम्रो जित सुनिश्चित छ साथिहरु, फायर खोल्नुस !’

उनले आफैलाई प्रश्न गर्छन, हामीले राज्यसत्ताको चरित्र फेर्यौ अथवा आफै फेरियौँ ? उनकै प्रश्नको जवाफ खोज्दा खोज्दै तत्कालिन माओवादी पार्टी ६ पटक टुक्रिसक्यो । तर जबाफ भने उनले अझै पाएका छैनन् ।

माओवादी विद्रोहका ती दशकहरु जतिबेला माओवादी पार्टी– ‘बन्दुकको नालबाट सत्ता जन्मन्छ’ भन्थ्यो, उसले लडेका भिषणतम युद्ध मोर्चा मध्येको एक थियो बेनी सदरमुकाम हमलाको मोर्चा । एक निर्वाचन क्षेत्र रहेको म्याग्दीबाट पहिलो संविधानसभाको चुनावमा निर्वाचित तथा माओवादी केन्द्रका म्याग्दी जिल्ला इन्चार्ज गोविन्द पौडेल ‘प्रविण’ त्यस आक्रमणको सम्झना गर्दै भन्छन–

‘हाम्रा लागि त्यो भिडन्त अनिवार्य थियो किनभने त्यसले तत्कालिन समयमा नेपाली राज्यसत्ताको केन्द्र काठमाडौं मात्र नभई दिल्लीलाई पनि धक्का दिने थियो ।’

त्यस आक्रमणको राजनीतिक कमाण्ड नेत्रविक्रम चन्द ‘विप्लव’ले तथा सैन्य कमाण्ड नन्दकिशोर पुन ‘पासाङ’ले गरेका थिए । समयले आज विप्लवलाई पछिल्लो नवगठित नेपाल कम्युनिष्ट पार्टीको बनायो भने पासाडलाई मुलुकको दोस्रो उप–राष्टपति बनायो । तर समयले नै माओवादी आन्दोलन पनि यसरी नै कयौँ धारमा विभाजित होला भन्ने माओवादी प्रभावित क्षेत्रका शायदै कसले अनुमान गरेको थिए ।

सदरमुकाम बेनी हमला राज्य पक्षका लागि मात्र नभई स्वयंम आक्रमणको योजना बनाउने तत्कालिन माओवादी पार्टीका लागि पनि ठुलो नोकसानी बेहोर्न परेको युद्ध मोर्चा थियो । युद्ध मैदानमा ५८ जना, युद्ध स्थलबाट फर्कने क्रममा विभिन्न स्थानमा भएका पटक पटकका दोहोरो भिडन्तमा १० जना तथा भारत उपचारका क्रममा ३७ गरी कुल एक सय ५ जना सहित आफ्नो तर्फ अन्तिमसम्म कुल झण्डै दुई सय लडाकु तथा स्वयंमसेवकलाई गुमाउनु परेको युद्ध मोर्चामा रहेका माओवादी उच्च स्रोतको भनाई छ ।

भने राज्य पक्षले शाही नेपाली सेनाको स्पेशल कमाण्डो फोर्स अन्तर्गत जिल्ला विकास समितिमा ५० जना, तत्कालिन युनिफाईड कमाण्ड अन्तर्गत रहेको नेपाल प्रहरीको बेनी जिप्रकामा ३८ जना, धौलागिरी सेलर मिलमा १० जना, मालढुँगा खोलाको किनारमा १० जना, खनियाघाट र मिलन चोकमा गरी क्रमशः ४ र २ जना गरी कुल ११४ जना भन्दा बढीलाई युद्धस्थलमै गुमाएको स्थानियहरु तथा माओवादीका तर्फबाट बेनी युद्धका व्यवस्थापक रहेका गोविन्द पौडेलको भनाई छ ।

तर सो भिषणतम युद्धमा ज्यान गुमाउनेको यकिन तथ्यांक न राज्य पक्षले सार्वजनिक ग¥यो न विद्रोही माओवादीले । सोही भिडन्तमा १० सर्वसाधारणको पनि ज्यान गएको थियो । युद्धको भौतिक क्षतिको तथ्यांक राज्यले राखे पनि मानविय क्षतिको तथ्यांक अझै पनि भेट्न फलामको चिउरा चपाउनु सरह रहेको छ ।

चैत्र ७ को भिडन्तमा सेनाको तर्फबाट भाग लिएका एक भूतपूर्व सैनिक अधिकारीले नाम नबताउने सर्तमा बेनीमा सुरक्षाकर्मीको कुल नर्फी– सेना तर्फ ८५०, जनपथ तर्फ ३००, सेनाको स्पेसल फोर्स १५० र राष्ट्रिय अनुसन्धान तर्फ १५, गरी कुल १,३१५ रहेको र भिडन्त पछि ११ गतेको रोलकालमा घाईते सहित सेनाको ब्यारेकमा जम्मा ६५० उपस्थित रहेको आफूले माथि रिपोर्ट गरेको बताए । त्यस बाहेकका अन्य ६६५ जना कहाँ गए भन्ने बारे आफूले केही भन्न नसक्ने उनको भनाई छ ।

बेनीमा लामो समयदेखि पत्रकारिता गर्दै गरेका कान्तिपुर दैनिकका संवाददाता घनश्याम खड्काले पनि सो भिडन्तमा ज्यान गुमाउनेको यकिन तथ्यांक आफूले अहिलेसम्म थाहा नपाएको बताउँछन् । युद्धका ती दिनहरुमा उनले म्याग्दीको सदरमुकाम बेनीबाट समाचार संकलन गरेर बाग्लङ सदरमुकाम गई समाचार सम्प्रेषित गरेको सम्झन्छन ।

‘म बेनीबाट १७ किलोमिटर टाडा रहेको बाग्लुङ सदरमुकाम पुगेर राती फ्याक्सबाट समाचार पठाउने गर्थेँ, त्यो बेला अहिलेको जस्तो मोवाईल र इन्टरनेटको सुविधा थिएन ।’– खड्का भन्छन् । बेनी सदरमुकाममा चैत्र ७ गते राती १० बजेर ५५ मिनेटमा दोहोरो भिडन्त हुँदा पत्रकार खड्का युद्ध मैदानको अघिल्तिर रहेको एउटा होटेलमा निदाउँन लागेका थिए ।

‘ती दिनहरुमा सेनाले हरेक राती त्यसै गोली चलाउँने ग¥थ्यो । त्यसैले मैले गोलीको आवाज सुन्दा नियमित फाईरिड होला भन्ठानेँ तर पछि केही अस्वभाविक गोलीहरुको आवाज आउन थाले । बिस्तराबाट उठेर झ्यालमा गई हेरेको मात्र के थिए एउटा गोली म उभिएको झ्यालको पल्लोपट्टी लाग्यो । सिसाहरु फुटेर तल खसे मैले बाँचेको अनुभूति गरे । म पूर्ण विस्वस्त भएँ सदरमुकाममा माओवादी हमला भयो ।’– खड्काले बेनी हमलाका दिनहरु सम्झँदै भने ।

तर जिल्ला अदालतमा अर्दलीको काम गर्ने कृष्णलाल श्रेष्ठ भने युद्ध मैदानको केन्द्रमै थिए । उनी त्यस रात कार्यालयमै बस्ने गरी गएका थिए । बेनी हमलाको दृष्य उनलाई अझै पनि झलझली सम्झना छ किन भने उनले त्यसै रात सेनाको तीन गोली र एउटा एम्बुसको सामना गरेका थिए । जसमा उनले आफ्नो दाहिने खुट्टा गुमाए ।

माओवादी पार्टीको योजना अनुरुप बाग्लुङ हमला गर्ने योजना चैत्र ९ गतेको थियो तर १५० को संख्यामा रहेको सेनाको कमाण्डो फोर्स आएको थाहा पाए लगत्तै हमलाको मितिलाई दुई दिन अघि नै अन्जाम दिनु परेको किसानको भनाई छ । उनी त्यस बेला जनमुक्ति सेनाको पाँचौँ डिभिजन अन्तर्गत कम्पनी कमिसार थिए ।

रातभर चलेको भिडन्तमा विद्रोहीले सदरमुकाममा पुरै कब्जा गर्न सफल भए पनि तत्कालिन शाही नेपाली सेनाको कालिप्रसाद गण भने कब्जा गर्न सकेन । हाल सिँचाई मन्त्रालय अन्तर्गतको सिँचाई सब–डिभिजन कार्यालय रहेको भवन कब्जा गरी बसेको सेनालाई विद्रोहीले कब्जा गर्न सफल भएनन् तर तत्कालिन प्रमुख जिल्ला अधिकारी सागरमणी पराजुली र डिएसपी रणबहादुर गौतम सहित १२७ जनालाई युद्धबन्दी बनाई लगेका थिए ।

जसमध्ये विभिन्न स्थानमा गरी विद्रोहीले ३७ जनालाई दुई दिनको अन्तरालमा रिहा गरे भने अन्य ९० जनालाई १७ दिन लगाई रोल्पाको थवाङ पु¥याएका थिए । रोल्पाको थवाङबाट विद्रोहीले राज्यसँग विभिन्न माग राख्दै माग पुरा गरिदिने शर्तमा ती राज्यपक्षका कुल ९० जनालाई हेलिकप्टर चढाई काठमाडौं पठाएका थिए ।

प्रमुख जिल्ला अधिकारी तथा डिएसपी अपहरणमा परेको भन्दै विभिन्न राष्ट्रिय, अन्तराष्ट्रिय मिडियामा निकै चर्चा पाएको माओवादीले उनीहरुलाई रिहा गर्ने सर्तमा आफ्ना पोलिटव्युरोका नेताहरुलाई राज्यले रिहा गर्नु पर्ने माग राखेको थियो । जसलाई सरकारले पुरा गर्नासाथ उनीहरुलाई मुक्त गरिएको माओवादीको भनाई थियो ।

राज्यपक्ष र विद्रोहीका गरी ठुलो संख्यामा मानविय क्षति बेहोरेको बेनी आक्रमणले माओवादीलाई के फाईदा भयो त भन्ने प्रश्नमा बेनीका पुर्व सभासद तथा माओवादी केन्द्रका नेता पौडेलले सो युद्धबाट आफूहरुलाई मनोवैज्ञानिक रुपमा सत्तासँग डिल गर्न तथा आफ्नो शक्तिबारे अन्तराष्टिय क्षेत्रमा सकारात्मक सन्देश जाने बाहेक युद्ध कौशलका हिसावले आफूहरुलाई घाटा भएको बताए ।

उनले भने नढाँटी भन्ने हो भने हामीलाई त्यस युद्धले राज्यसँग बार्गेनिगं गर्ने पावर र मनोवैज्ञानिक शक्ति बाहेक युद्ध कौशलका हिसावले हामीले केही पनि पाएनौँ किन भने त्यत्रो आक्रमण गरेर हामीले सेनाको ब्यारेक पनि कब्जा गर्न सकेनौ भने उता हाम्रा कयौँ उत्कृष्ट कमाण्डरहरुको शहादत भयो । त्यस्तै आर्थिक हिसावले भन्ने हो भने त्यत्रो जोखिम मोलेर हामीले पाएकोे भनेको जम्मा एक एकका सिक्का भएको दुईवटा बोरा मात्र हो । किनभने सबै राज्यको ढुकुटी सेनाको ब्यारेकमा थियो हामीले त्यसलाई कब्जा गर्न सकेनौँ भने पछि तपाई आफैले बुझ्नुस । लेखक ज्ञावलीले एकवर्ष पहिला लेख्नुभएको लेखलाई परिमार्जित सहित प्रकाशित गरिएको हो ।