ताजा समाचार:
Search

थप बीस वटा विद्युतीय पुस्तकालय स्थापना गर्ने तयारी

सन्तोष गौतम/विकल्प न्यूज
बेनी ११ फागुन ।
म्याग्दीका थप बीस वटा शैक्षिक संस्थामा विद्युतीय पुस्तकालय स्थापना गर्ने तयारी भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले थप बीस वटा विद्युतीय पुस्तकालय जडानका लागि आवश्यक पर्ने दश लाख रुपैया नेपाल लाईब्रेरी फाउण्डेशनलाई उपलब्ध गराएको छ ।Elaibreary (2)मोनाका कोषाध्यक्ष तथा विद्युतीय पुस्तकालय कार्यदलका संयोजक चक्रबहादुर थापा, सहकोषाध्यक्ष तथा सहसंयोजक ओमनारायण जुक्जालीले फाउण्डेशनका अध्यक्ष कपीलदेव थापालाई मंगलबार रकम हस्तान्तरण गर्नुभएको हो ।

जिल्ला शिक्षा कार्यालय, फाउण्डेशन र गैरआवासीय नेपाली संघ (एनआरएन)को सहकार्यमा मोनाले यसअघि दश वटा विद्यालय र म्याग्दी बहुमुखी क्याम्पसमा विद्युतीय पुस्तकालय स्थापना गरेको छ । एउटा पुस्तकालयको सफ्टवेयर खरिद र व्यवस्थापनका लागि ७५ हजार रुपैया आवश्यक पर्छ ।

मोनाको संयोजनमा प्रवासमा रहेका पुर्व विद्यार्थी र म्याग्देलीहरुले आफूले अध्ययन गरेको शैक्षिक संस्थालाई विद्युतीय पुस्तकाय जडानका लागि आर्थिक सहयोग गरेका छन् । दोस्रो चरणमा म्याग्दी सामुदायीक पुस्तकालय र १९ वटा विद्यालयमा जडान गरिने भएको छ ।
देविस्थानको भिम, चिमखोलाको अमर, मल्कवाङका जनजागृती, अर्जमको रामचन्द्र, रत्नेचौरका भानु, शिवाङको हेम, बेनपा १०को राष्ट्रिय, भकुण्डेको अर्जुन, गुर्जाको जनकल्याण, तातोपानीको सरस्वती, बाबियाचौरको मंगला, ताकम, बरंजाको महेन्द्ररत्न, मराङको जनविकास, बिमको किसानी, पात्लेखेतको दिपक, अर्थुङ्गेको जामुनाखर्क माविमा विद्युतीय पुस्तकालय जडान हुने भएको छ ।

यसैगरी बरंजाको जनप्रिय र महेन्द्ररत्न आधारभुत विद्यालयमा समेत विद्युतीय पुस्तकालय जडान गर्न छिट्टै प्राबिधीक टोली परिचालन हुने मोनाले जनाएको छ । ग्रामिण क्षेत्रमा आधुनीक सूचना प्रबिधीको पहुँच र सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सहयोग पु¥याउने उद्देश्यले मोनाले म्याग्दीका सबै विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गर्ने लक्ष्य राखेको छ ।

ईन्टरनेटको प्रयोगबिनै कम्प्युटरमा पाठ्यपुस्तक पढ्न, दृष्य हेर्न र श्रब्य सामाग्री सुन्न सकिने प्रबिधि जडित विद्युतीय पुस्तकालयले शिक्षाको गुणस्तर, विद्यार्थीको पढाईप्रती रुची र सिकाई उपलब्धी बढाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।

विद्युतीय पुस्तकालयमा ईन्टरनेट नभएको अवस्थामा पनि पाठकले आफूले चाहेको पुस्तक अध्ययनका साथै शिक्षा, स्वास्थ्य, कृषि, वातावरण लगायत विषयसंग सम्बन्धित सन्देशमुलक श्रब्य, दृष्य सामाग्री हेर्न र सुन्ने सुबिधा छ ।

पुस्तकालयमा कक्षा २ देखि ७ सम्मको पाठ्यक्रम र आठ हजार विभिन्न बिधाका पुस्तक रहेको सफट्वेयर जडान गरिएको छ । पुस्तकालय स्थापनाका लागि सम्बन्धित विद्यालय तथा संस्थाले कम्प्युटर लगायत पुर्वाधार, मोनाले सफ्टवयर खरिदमा आर्थिक सहयोग र फाउण्डेशनले प्राबिधिक सहयोग गर्ने सम्झौता भएको थियो ।