म्याग्दीमा दुई बर्ष यता भेटिएनन नयाँ कुष्ठरोगी

विकल्प न्यूज/बेनी
माघ १५ गते ।

म्याग्दीमा कुष्ठरोगीको संख्या घटेको छ। गएको दुई वर्षयता कुष्ठरोगका कुनै पनि नयाँ बिरामी फेला नपरेको स्वास्थ्य कार्यालय म्याग्दीको तथ्याङ्क सार्वजनिक भएको छ।

७० औँ कुष्ठरोग तथा उपेक्षित रोग दिवसको अवसरमा बेनीमा आयोजित कार्यक्रममा नियमित औषधि सेवन गर्ने ५ जना बिरामी भएपनि नयाँ बिरामीको फेला नपरेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो । गण्डकी प्रदेशमा १० हजार जनसङ्ख्यामध्ये उपचारमा रहेका बिरामी १ दशमलव ९ बाट घटेर हाल ०.२९ रहेको लम्सालले बताउनुभयो। पुराना बिरामीलाई नियमित औषधि सेवन सहित बिरामीको परिवारका सदस्य तथा आसपासका क्षेत्रमा रहेकालाई भने चेकजाँच गरिएको उहाँको भनाई छ ।

स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर गणेश सुबेदीका अनुसार औषधि सेवन गर्नेमा छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाका २ जना र बेनी नगरपालिकाका ३ जना रहेका छन्।

म्याग्दीका केही बिरामीले पोखरमा उपचार तथा औषधि लिने गरेकाले समेत जिल्लाभित्र दर्ता भएका बाहेकको तथ्याङ्क प्राप्त गर्न समस्या हुने गरेको बताउनुभयो । रोग लुकाउनेहरू अन्तिम समयमा उपचारका लागि आउने गरेकाले समस्या हुने गरेको बेनी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. शंकरराज लामिछानेले बताउनुभयो ।
उहाँले प्रत्यक्ष उपचार नगराएसम्म रोग निको नहुने भएकाले कुष्ठरोगी स्वास्थ्य संस्थाको सम्पर्कमा आउन अनुरोध गर्नुभयो । समाजमा बहिस्कृत हुने त्रासले अझै ग्रामीण क्षेत्रमा रोग लुकाउने गरिएको बताउँदै जिल्लाका सबै स्थानीय तहमार्फत कुष्ठरोगबारे जनचेतनामूलक कार्यक्रम सहितका अभियान सञ्चालनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो।

कतिपय रोगीले सामाजिक बहिस्कार र वंशाणुगत रोगका रूपमा बुझ्दा रोकथाममा समस्या परेको स्वास्थ्यकर्मीको भनाई छ। माईकोव्याक्टचोरिया लेप्रे नामक कीटाणुबाट सर्ने यो रोगको औषधि उपचार निःशुल्क रहेको छ। कुष्ठरोगको लक्षण देखिएमा छालामा असर गर्दा रातो वा हल्का फुस्रो रङको दाग देखिने, अनुहारमा छाला बाक्लो हुने, गिर्खाहरू देखापर्छ भने स्नायुमा असर गर्दा हातखुट्टामा छुँदा थाहा नपाउने तथा मांसपेशी कमजोर हुने गर्दछन्।